• ४ जेठ २०८१, शुक्रबार

आजबाट निःशुल्क बाथ रोग शिविर सञ्चालन हुने

blog

काठमाडौँ, माघ ३ गते । नेपालमा बढ्दै गइरहेको बाथ रोगको पहिचान तथा उपचारको पहुँचमा ल्याउनका लागि साताव्यापी निःशुल्क बाथ रोग शिविर सञ्चालन हुने भएको छ । बद्री–तीर्थ आरथ्राइटिस समाज तथा नेशनल बाथ रोग केन्द्रको संयुक्त आयोजनामा माघ तीन गतेदेखि नौ गतेसम्म साताव्यापी बाथ रोग शिविर सञ्चालन हुन लागेको हो । 

 बाथ रोग केन्द्रका प्रबन्ध निर्देशक रोशन कक्ष पतिले बाथ रोग पहिचानका लागि हुने बाथ रोग शिविरमा सिरापी, इएसआर, युरिक एसिड र सुगर परीक्षण निःशुल्क गरिएको जानकारी दिनुभयो । उहाँले हरेक वर्ष माघ महिनामा बाथ रोगसम्बन्धी जनचेतना फैलाउने अभियान अन्तर्गत सो शिविर सञ्चालन आयोजना गरिएको बताउनुभयो । 

सोमबार आयोजित बाथ रोग सचेतना कार्यक्रममा वरिष्ठ वाथरोग विशेषज्ञ डा.विनीत वैद्यले वाथरोगले मानिसका शरीरका सबै अङ्गलाई हानि गर्ने भएकोले बाथरोग बारे सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सन् २०१२ देखि बाथ रोग जागरण अभियान सुरु गरेको जानकारी गराउँदै एक वर्षमा २२५ जना विपन्न बाथ रोगीलाई निःशुल्क उपचार गरेको बताउनुभयो । 

काठमाडौँ महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीले बाथ रोगबारे अध्ययन तथा अनुसन्धान हुनुपर्ने बताउनुभयो । बाथ रोग उपचारमा वडाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

यसैबिच बाथ रोगको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै  प्रा.रत्न समसेर राणालाई तिर्थानन्द वैद्य मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । २५ हजार नगद राशिसहित प्रदान गरिएको सो सम्मान पत्रसहितको अवार्ड बद्री-तीर्थ आर्थराइटिस समाजकी अध्यक्ष बद्री लक्ष्मी वैद्यले प्रा. राणालाई प्रदान गर्नुभयो ।

राणाले प्राप्त गर्नुभएको २५ हजार नगद ज्येष्ठ प्राध्यापकहरूको सहयोगका लागि अध्यक्ष विमलकुमार शर्मामार्फत नेपाल ज्येष्ठ प्राध्यापक समाजलाई हस्तान्तरण गरिएको छ । 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।