• १६ चैत २०८०, शुक्रबार

मलेसियामा वैदेशिक रोजगारी

अवसरसँगै बढ्दै छन् समस्या

blog

काठमाडौँ, माघ ३ गते  । नेपाली युवाका लागि पहिलो आकर्षक श्रम गन्तव्य बनेको मलेसियामा विभिन्न समस्या पनि बढ्न थालेका छन् । चार वर्ष पहिलेदेखि शून्य लागतमा मात्रै नेपाली श्रमिक मलेसिया पठाउने गरी नेपाल र मलेसिया सरकारबीच श्रम समझदारी सम्पन्न भएको छ तर कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले खुलेआम मनलाग्दी पैसा असुल गर्दै आएका छन् । मलेसिया पुगेर पनि त्यहाँका दलाल र कतिपय अवस्थामा नेपाली श्रमिककै कारण पनि समस्या पर्ने गरेको पाइएको छ ।

सेवा शुल्कस्वरूप १० हजार रुपियाँभन्दा बढी लिन नपाइने भए पनि द रिभर ओभरसिज नामक कम्पनीले दुुई महिनाअगाडि मलेसिया जाने १९ जना युवासँग प्रतिव्यक्ति दुई लाख ३० हजार रुपियाँका दरले असुल गरेको थियो । पीडितको मौखिक उजुरीका आधारमा वैदेशिक रोजगार विभागले उक्त कम्पनीलाई कारबाही ग-यो । प्रतिव्यक्ति दुई लाख ३० हजार रुपियाँ तिरेर पनि १० हजार रुपियाँको मात्रै रसिद प्राप्त गरेका युवाले पैसा तिरेको प्रमाणसहित विभागमा मौखिक उजुरी गरेका थिए । उक्त उजुरीको सबै प्रमाण पुगेकाले विभागले तुरुन्त ‘एक्सन’ लियो । 

विभागका महानिर्देशक उमाकान्त आचार्यले उड्ने तयारीमा रहेका युवाले प्रमाणसहित उजुरी गरेको हुँदा म्यानपावरबाट उनीहरूको उडानमा असर नगर्ने गरी सबैको रकम फिर्ता गराउन सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “प्रमाणसहित आउने यस्ता उजुरीमा त हामीलाई समस्या नै हुँदैन । सबै कानुनअनुसार प्रक्रिया अगाडि बढ्छ, प्रमाणबिना आएका उजुरीमा हामी सक्दैनौँ ।” प्रमाण नभइकन पैसा बुझाएको भन्ने धेरै उजुरी आउँछन् तर त्यस्तोमा हामी केही गर्न सक्दैनौँ । त्यसकारण शून्य लागतमा जाने व्यवस्था भएका देशमा जाँदा पैसा नतिर्न महानिर्देशक आचार्यले आग्रह गर्नुभयो । 

म्यानपावरको दाबी : पैसा तिरेर माग ल्याउँछौँ

वैदेशिक रोजगार व्यवसायीले भने माग ल्याउँदा नै पैसा तिर्नु परेको तर सरकारको कानुनले आफूलाई समस्यामा पारेको आरोप लगाउँदै आएका छन् । व्यवसायीहरू मलेसियाबाट शतप्रतिशत माग शून्य लागतमा नआउने र राम्रो कम्पनीको मागका लागि आफूहरूले पैसा तिरेर ल्याउनुपर्ने बताउँछन् । 

तर मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले गोरखापत्रको कुराकानीमा दूतावासबाट मलेसियाका रोजगारदाता कम्पनीबाट नेपाली श्रमिकका लागि आउने माग सबै शून्य लागतमा भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालका म्यानपावर कम्पनीले मलेसियाका कुनै पनि रोजगारदातासँग माग किन्नु पर्दैन । पैसा तिर्ने मागको दूतावासले प्रमाणीकरण नै गर्दैन । कसरी पैसा तिर्छन् ? यो कुरा गलत हो ।”

नेपाल र मलेसियाबीच सन् २०१८ मा शून्य लागतमा मलेसियामा नेपाली श्रमिक पठाउने विषयमा भएको द्विपक्षीय श्रम सम्झौतापछि मलेसियाका कुनै पनि रोजगारदाताले नेपाललाई पैसा तिर्नुपर्ने माग पठाउँदैन । 

सुरक्षा र सफाइ क्षेत्रमा समस्या

पछिल्लो समयमा मलेसियामा नेपाली श्रमिकको माग मात्रै बढेको छैन, समस्या पनि बढेका छन् । मलेसियाबाट गएको साता मात्रै दुईवटा उत्पादन कम्पनीमा काम गर्ने ४१ जना नेपाली समस्यामा परेकाले व्यवस्थापन गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार समस्यामा परेका ४१ जनामध्ये २० जना स्वदेश फर्किसकेका छन् । नौ जना पुनः उही कम्पनीमा काम गर्ने गरी फर्किएका छन् भने १२ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ । 

राजदूत पौडेलले मलेसियामा छिटफुट रूपमा उत्पादनलगायतका अन्य कम्पनीमा समस्या देखिए पनि धेरै समस्या सेक्युरिटी र क्लिनिङ कम्पनीमा धेरै रहेको पाइएको जानकारी दिनुभयो । पछिल्लो पटक दूतावासले सेक्युरिटी र क्लिनिङ कम्पनीबाट आउने मागको प्रमाणीकरण ती कम्पनीका प्रमुखको उपस्थिति गराएर विभिन्न सर्त गराएर मात्रै गर्ने गरेको जानकारी दिनुभयो । नेपाली श्रमिकको न्यूनतम पारिश्रमिकदेखि सेवासुविधा, बिदा, रोजगारदाता परिवर्तन गर्ने सुविधालगायतका विषयमा लिखित समझदारीपछि मात्रै माग प्रमाणीकरण गर्ने गरिएको र यो लागू भएपछि ती कम्पनीबाट समस्या कम आउने विश्वास राजदूत पौडेलले गर्नुभयो ।

उहाँका अनुसार दूतावासको कदमप्रति सुरुका दिनमा ती कम्पनीले बेवास्ता गरेका थिए । दूतावासले माग प्रमाणीकरण रोकेपछि रोजगारदाता कम्पनीका प्रमुख उपस्थित हुन थालेका छन् । “अब जुन रोजगारदाता कम्पनीमा समस्या छ, ती कम्पनीबाट आउने मागको प्रमाणीकरण गर्दा यसैगरी रोजगारदाता प्रमुखसँग समझदारी गर्ने अभियान नै गर्छौं,” राजदूत पौडेलले भन्नुभयो । 

वैदेशिक रोजगारीको ४० प्रतिशत मलेसियामा पछिल्लो एक वर्षको बीचमा मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश बनेको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा रोजगारीका लागि विदेश गएकामध्ये ४० प्रतिशत मलेसिया गएका छन । राजदूत पौडेलले खाडीका साउदी र कतारमा भन्दा तलब सेवासुविधा राम्रो र हावापानी पनि नेपालकै जस्तो मिल्दोजुल्दो भएकाले मलेसियाप्रति पछिल्लो पटक नेपालीको आकर्षण बढ्दै गएको बताउनुभयो ।