• २१ वैशाख २०८१, शुक्रबार

पोखरा विमान दुर्घटना: बढी टर्निङ् लिन खोज्दा दुर्घटना

blog

विष्णु पाण्डेय

पोखरा, माघ १ गते । चालक दलका चार सदस्य र ६८ जना यात्रु बोकेर कामाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज पोखरा विमानस्थल नजिकै बढी टर्निङ् लिन खोज्दा दुर्घटनाग्रस्त भएको अनुमान लगाइएकाे छ । 

विहाल १० बजेर ३३ मिनेट जाँदा काठमाडौंबाट पोखराका लागि उडेको विमान अवतरण हुनै लाग्दा सेती खोचमा खसेर दुर्घटनाग्रस्त भएको हो । 

पोखराको मौसम पनि सामान्य र त्यहाँको भौगोलिक अवस्था पनि सामान्य नै रहेका कारण विमान के कारणले दुर्घटनामा पर्यो भन्ने चासोको विषय बनेको छ । दुर्घटनाको विषयमा छानविन हुन बाँकी छ ।

तर, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमान चालकले बढी टर्निङ् लिन खोज्दा जहाज दुर्घटनामा परेको अनुमान छ ।

उहाँले भन्नुभयो , “सामान्य मौसम र पोखराको भूगोलमा विमान दुर्घटना हुन साह्रै दुःखद हो । दुर्घटनाको विस्तृत अध्ययन त पछि हुँदै गर्ला तर पश्चिमबाट ल्याण्ड गर्दा टर्निङ लिन समस्या छ भन्ने सुनेका थियौँ ।  विमान चालकले टर्निङ् बढी लिन खोज्दा दुर्घटनामा पर्यो कि भन्ने अनुमान छ । ”

उहाँले बताएअनसार यो जहान नयाँ टेक्नाेलाेजी युक्त जहाज हो । जसमा एउटा इन्जिनले काम गर्न छाडे पनि अर्को इन्जिनको सहायताले जहाजलाई अवतरण गर्न सकिने अवस्था हुन्छ । अहिले भएको दुर्घटना चालकले पश्चिम दिशाबाट ल्याण्ड गर्न खोज्दा भएको हो ।

सामान्यतयाः यो विमानस्थलमा पूर्वबाट नै विमान ल्याण्ड गरिँदै आइएको थियो । काठमाडौंबाट जाँदा पूर्व दिशा नै सजिलो पर्ने भएका कारण पूर्व दिशाबाट ल्याण्ड गर्ने गरिएको उहाँको भनाइ छ ।

तर यो विमानस्थलमा पश्चिम दिशाबाट पनि ल्याण्ड गर्न मिल्छ । पाइलटले पश्चिम दिशाबाट ल्याण्ड गर्न खोज्दा बढी टर्निङ् लिँदा जहाज दुर्घटना भएको आशंका गरिएको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।