• २६ वैशाख २०८३, शनिबार

नेपाल मानव संसाधन सम्मेलन सुरु

blog

शशिधर पराजुली 
विराटनगर, वैशाख २६ गते ।
उद्योगीहरूले वर्तमान श्रम बजारको आवश्यकतालाई सम्बोधन गर्न सरकार र शैक्षिक क्षेत्रले उद्योगको माग अनुसारको पाठ्यक्रम तयार पार्नुपर्ने सुझाव दिएका छन् । मोरङको सुन्दरहरैंचामा आयोजित ‘सि.आई.एम. नेपाल मानव संसाधन सम्मेलन २०२६’ को दोस्रो संस्करणको उद्घाटन सत्रमा सहभागी उद्योगी तथा विज्ञहरूले यस्तो धारणा राखेका हुन् ।

उद्योग संगठन मोरङद्वारा आयोजित दुई दिने सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले आर्थिक र औद्योगिक विकासका लागि सक्षम र उत्तरदायी मानव संसाधनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सरकार शिक्षा, सीप र उद्योगबिचको समन्वय सुदृढ गर्दै युवालाई रोजगारीसँग जोड्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग र श्रम बजारबीचको दूरी घटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योगहरूले दक्ष जनशक्ति नपाउने र पाए पनि नटिक्ने गम्भीर चुनौती भोगिरहेको बताउँदै भन्नुभयो, “यो केवल श्रमिक अभावको समस्या मात्र होइन, यो दक्षता, कार्यसंस्कृति, सुरक्षा र विश्वाससँग जोडिएको विषय हो । अब उद्योगहरू ‘हामीलाई तयार जनशक्ति चाहिन्छ’ भन्ने सोचबाट बाहिर निस्केर आफैं सक्षम जनशक्ति निर्माण गर्ने संस्कार विकास गर्न अग्रसर हुनुपर्छ ।”

सम्मेलनमा सहभागी उद्योगीहरूले सरकारलाई नीतिगत तहबाटै शैक्षिक संस्थाहरूको पाठ्यक्रम परिमार्जन गरी प्रयोगात्मक र बजारमुखी बनाउन आग्रह गरे । उनीहरूले शैक्षिक क्षेत्र र उद्योगबिच समन्वय गरी इन्टर्नशिप, प्रयोगात्मक तालिम र अनुसन्धानमा सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले प्रविधिगत परिवर्तनको यो युगमा मानव संसाधन व्यवस्थापनलाई रणनीतिक रूपमा अगाडि बढाउनुपर्ने र निजी क्षेत्रले सीप विकासमा थप लगानी गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. बिजु थपलियाले व्यवहारिक तथा बजारमुखी शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

स्विस सरकारको प्राविधिक सहयोगमा सञ्चालित सम्मेलनमा सुनसरी–मोरङ औद्योगिक करिडोरका १५० भन्दा बढी सञ्चालक, व्यवस्थापक र मानव संसाधन प्रमुखहरूको सहभागिता छ । आज शनिबारसम्म चल्ने सम्मेलनमा विभिन्न १० वटा सत्रमा विज्ञहरूले डिजिटल एचआर प्रणाली, कर्मचारी स्थायित्व र औद्योगिक विकासमा मानव संसाधनको भूमिकाबारे अनुभव आदानप्रदान गर्नेछन् । सन २०२४ मा पहिलो पटक सुरु गरिएको यो सम्मेलनले मानव संसाधनलाई औद्योगिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।