नौरते नेपाली
सिँजा (जुम्ला), वैशाख २६ गते । जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदीमा आयोजित १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ ।
ओदीमा शुक्रबार सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा गाउँ पालिका २५ वटा स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम भएको हो । जिल्लाका आठ स्थानीय तहमध्य गुठिचौर गाउँपालिका बाहेक सातवटा स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगिताअन्तर्गत विभिन्न विधामा हिमा २५ वटा स्वर्ण जितेर प्रथम हुँदा चन्दननाथ नगरपालिका १४ वटा स्वर्ण जित्दै दोस्रो भएको छ भने, पातारासी गाउँपालिका पाँच स्वर्ण जित्दै तेस्रो, कनकासुन्दरी चौथो, सिंजा पाचौं, तिला छैटौँ र तातोपानी गाउँपालिका साताँै स्थानमा आएको छ ।
दुर्गम ओदी गाउँमा जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गर्न हिमा गाउँपालिकाले गरेको आँट, समन्वय सहकार्यका लागि सरोकारवालाले धन्यबाद दिएको छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाही आफ्नै पालिकामा गरिएको जिल्ला स्तरीय विभिन्न विधाका खेल प्रतियोगितामा हिमालाई प्रथम बनाउने खेलाडीलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।