• १२ साउन २०८१, शनिबार

तरुलको व्यापार वृद्धि

blog

काठमाडौँ, पुस ३० गते  । माघेसङ्क्रान्ति आउन दुई दिन बाँकी रहँदा उपत्यकाका बजारमा कन्दमूल जात (तरुल, पिँडालु, सखरखण्ड) धमाधम भित्रिन थालेको छ । बजारमा यी कन्दमूल किन्ने उपभोक्ताको पनि भीडभाड बढेको छ । 

पुस महिना सुरु भएदेखि देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूल जात भित्रिन थालेका हुन् । माघेसङ्क्रान्तिलाई लक्षित गरेर व्यापारीले उपत्यकाका बजारमा देशका विभिन्न ठाउँबाट बजारमा तरुललगायतका कन्दमूल जात भित्र्याउन थालेका हुन् । 

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार पुस १ देखि २८ गतेसम्म १४ लाख २६ हजार १२० केजी तरुल, आठ लाख ३७ हजार ९५ केजी पिँडालु, पाँच लाख ९५ हजार छ सय केजी सखरखण्ड गरी कुल २८ लाख ६० हजार ८१५ केजी कन्दमूल भित्राइएका हुन् । 

पछिल्लो साता २२ देखि २८ गतेको अवधिमा मात्रै कालीमाटी बजारमा आठ लाख १९ हजार ८२० केजी तरुल भित्रिएको कालीमाटी समितिले जनाएको छ । पुसको तेस्रो साता १५ गतेदेखि २१ गतेसम्म एक लाख ७९ हजार २५ केजी भित्रिएको थियो भने दोस्रो साता ९५ हजार ६२० केजी भित्रिएको छ । पुसको पहिलो  साता ६१ हजार १३५ केजी भित्रिएको छ । यो तथ्याङ्क हेर्दा क्रमशः तरुल भित्रिने क्रम बढेको छ । 

गत वर्षको पुस महिनासम्म कालीमाटी बजारमा १३ लाख २६ हजार ३३३ केजी तरुल भित्रिएको थियो भने वर्षभरि १७ लाख तीन हजार ६८८ केजी तरुल भित्रिएको समितिले जनाएको छ । कालीमाटी समितिका प्रवक्ता विनय श्रेष्ठले तरुल गत वर्षकै हाराहारीमा आए पनि मूल्य भने गत वर्षभन्दा महँगो रहेको जानकारी दिनुभयो । 

कालीमाटी समितिका प्रवक्ता श्रेष्ठले तरुल भित्रिने यही साता भएको र अहिलेसम्मको अवस्था हेर्दा बजारमा गत वर्षभन्दा बढी तरुल भित्रिने अवस्था देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा अहिलेसम्म तराईका जिल्लाबाट आउने घरतरुल, हात्तीपाइलेतरुल र फाटफुट रूपमा सिमलतरुल आएको छ । वनतरुल, पतालेतरुल, पहाडको घरतरुल अब भित्रिन सुुरु गर्ने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । 

समितिका अनुसार माघेसङ्क्रान्तिमा सिमलतरुल, वनतरुल, पतालेतरुल, घरतरुल र हात्तीपाइलेतरुल बढी माग हुने गर्छ र यी जातका तरुल अन्यभन्दा महँगा पनि हुन्छन् । 

कालीमाटीका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बजारको ठूलो हिस्सा तराईका घरतरुलले ओगटे पनि मूल्य हिसाबले पहाडबाट आउने पतालेतरुल, वनतरुल, इस्कुसका जरा (तरुल), पानीतरुल महँगो हुने गरेको बताउनुभयो । यी जातका तरुल स्वादिलो हुने तर थोरै मात्रै आउने र माघेसङ्क्रान्तिमा बढी माग हुने भएकाले मूल्य महँगो हुने उहाँको भनाइ छ । 

समितिका अनुसार कालीमाटी बजारमा भित्रिएका तरुलका आधारमा समितिले सोमबारका लागि तोकेको तरुलको मूल्य वनतरुल प्रतिकेजी दुई सयदेखि २२० रुपियाँ, हात्तीपाइले-घरतरुल ८० रुपियाँ, इस्कुसका जरा प्रतिकेजी १५० रुपियाँ, रातो पताले १५० रुपियाँ, सिमल तरुल १४० रुपियाँ थोक मूल्यमा कारोबार भइरहेको छ । 

यही मूल्य कायम रहने वा बढ्ने वा घट्ने बजारमा सोमबारदेखि भित्रिने तरुलले मूल्य निर्धारण गर्ने समितिका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । पर्याप्त तरुल भित्रिएमा अहिलेको मूल्य घट्न पनि सक्छ र कम आएमा अहिलेको मूल्य अझै धेरै बढ्ने उहाँको भनाइ छ । 

समितिका अनुसार माघेसङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा सर्लाही, सुनसरी, धरान, चितवन र धादिङबाट तरुल भित्रिएको छ । समितिका अनुसार कालीमटी बजारमा भित्रिएको तरुलमध्ये ४४ प्रतिशत सर्लाही र १३ प्रतिशत सुनसरी, १० प्रतिशत धादिङ, भारतबाट ९ प्रतिशत र बाँकी झापा, चितवन, गोरखा, मकवानपुर, नवलपरासी, मोरङलगायतका जिल्लाबाट आएको छ । गत वर्षभन्दा यो वर्ष भारतबाट आउने तरुलको परिणाम बढेको छ गत वर्ष आयातको ४ प्रतिशत मात्रै भित्रिएकामा यो वर्ष बढेर ९ प्रतिशत पुगेको समितिको तथ्याङ्क छ ।