नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, पुस २९ गते । माघी आउन दुई दिनमात्र बाँकी रहँदा बाँकेमा माघीको रमझम बढेको छ । थारू बाहुल्य गाउँबस्तीमा माघी मिलन र महोत्सव चलिरहेको छ । सोहीक्रममा नेपालगञ्जमा पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय माघ महोत्सव सञ्चालन गरिएको छ । थारू भाषा, संस्कृति, लोककला र मौलिक हक–अधिकार जगेर्ना गर्ने उद्देश्यले स्थानीय रामलीला मैदानमा लुम्बिनी प्रदेशस्तरीय माघ महोत्सव सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
थारू कल्याणकारिणी सभा बाँकेको आयोजनामा सञ्चालन गरिएको सो महोत्सवको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुभयो । उहाँले सो अवसरमा बोल्दै थारू समुदायको कला, संस्कृति र परम्परा जगेर्नाका साथसाथै नयाँ पुस्तालाई आफ्नो इतिहास सम्झाइराख्न यस्ता महोत्सवले सराहनीय भूमिका खेल्ने बताउनुभयो ।
दुईदिने माघ महोत्सवमा विशेषगरी थारू समुदायको परम्परागत वेशभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी, मौलिक खानाका परिकारका प्रदर्शनी, हस्तकला सामग्री तथा थारू पहिरन प्रदर्शनीलगायत स्थानीय झाँकी प्रदर्शन भइरहेको आयोजक समितिका सदस्य भगतराम थारूले जानकारी दिनुभयो ।
थारू परिकार ढिक्री, घोङ्घी, सिद्रा, माछाका चट्नी, आलुको अचारलगायत परिकार प्रदर्शनीका साथै बिक्री वितरणका लागि महोत्सवमा राखिएको छ ।
यसैगरी राप्तीसोनारी गाउँपालिकामा पनि माघी मिलन कार्यक्रम आयोजना गरिएको छ । राप्तीसोनारी–४ मा रहेको दिदीबहिनी सहकारी संस्थाले माघी मिलन कार्यक्रम गरेको छ । सो कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह रहनुभएको थियो । सो कार्यक्रममा विभिन्न सांस्कृतिक परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।