• १६ भदौ २०८१, आइतबार

अपराध नियन्त्रणमा राजनीतिक प्रभावकाे अन्त्य भयाे : गृहमन्त्री लामिछाने

blog

पत्रकार सम्मेलनमा गृहमन्त्री रवि लामिछाने । तस्बिर: वसन्त पराजुली

वसन्त पराजुली 

भरतपुर, पुस २८ गते । गृहमन्त्री रवि लामिछानेले अपराध नियन्त्रणमा राजनीतिक पार्टीको प्रभाव पर्न नदिने बताउनुभएको छ । भरतपुर विमानस्थलमा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले अपराध नियन्त्रण गर्न कडा निर्देशन दिनुभयो । 

“अपराध अनुसन्धानमा कुनै पनि राजनैतिक दलको दबाबमा नपर्न प्रहरीलाई भनिसकेको छु । कुनै पनि राजनैतिक दलले अपराध अनुसन्धानमा अवरोध पु¥याउने मेरो मान्छे छोडिदेउ भन्ने कुरा अब सुन्नुपर्दैन”, उहाँको स्पष्ट भनाइ थियो, “ कसैले त्यस्तो भनेको प्रमाण ल्याउनुभयो भने सिफारिस गर्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याइनेछ ।” 

आफू सभापति भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई त अझै निर्मम भएर कारवाही गर्न प्रहरीलाई भनेको पनि उहाँले जनाउनुभयो । 

“अपराधसँग सम्बन्धित छानबिनमा हाम्रो दलको मान्छे छ, हाम्रो दलको गृहमन्त्री छ भनेर कसैले प्रभावमा नलिनु होला । लिन खोज्नुभयो भने निर्मम तरिकाले कारवाही गर्नुस् भनेर  प्रमुख जिल्ला अधिकारीलाई भनिसकेको छु ।” 


उहाँले प्रहरीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो । “आदेश हैन कानुन पालना गर्नुहोस् भनेर भनिसकेको छु”, उहाँले भन्नुभयो । 

“एक एक समस्या समाधान गरेका छौ । म गृहमन्त्री भए यता समस्या लिएर गृह मन्त्रालय आउनुभएका दुई सय भन्दा बढीको समस्या दुई मिनेटभन्दा बढी समय नलाएर समाधान गरेको छु”, उहाँले भन्नुभयो । 

अहिले गृह मन्त्रालयले सिङ्गो देशले मनन गर्ने गरी काम गरिरहेको दाबी पनि उहाँले गर्नुभयो । “सिङ्गो देशमा कुनै पनि नागरिकलाई आपत् पर्दा समस्या समाधान गर्ने काम गरेको छु”, उहाँले भन्नुभयो । 

गृहमन्त्री लामिछाने चितवनमा हुने विभिन्न कार्यक्रममा सम्बाेधन गर्न चितवन आउनुभएको हो ।