राममणि दाहाल
हेटौँडा, पुस २८ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नियुक्ति भएको एक साताभित्रै विश्वासको मत लिने तयारी थाल्नुुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले आगामी माघ ३ गते बागमती प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको हो ।
प्रदेश सभामा कुनै एक दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्य मुख्यमन्त्री नियुक्त भएको अवस्थामा नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिनेबारेमा प्रदेश सरकारबाट जानकारी गराइएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उहाँले कति बजे विश्वासको मत लिने भन्नेबारेमा आगामी सोमबार तय हुने बताउनुभयो ।
प्रदेश सभामा कुनै पनि एक दलको स्पष्ट बहुमत नरहेकोले पाँच दलको समर्थनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जम्कट्टेल सोमबार मुख्यमन्त्रीमा नियुक्त र मङ्गलबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
शपथग्रहणसँगै तीन सदस्यीय मन्त्रीमण्डल गठन गर्नुभएका जम्कट्टेलले विश्वासको मत लिएपछि मन्त्रीमण्डल विस्तार गर्ने जनाइएको छ ।
बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थनसहित जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको हो । उहाँलाई नेपाल कम्युनिस्ट पार्टी एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ ।
११० जना प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, एकीकृत समाजवादीका सात जना र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने वा नदिनेबारेमा औपचारिक निर्णय गरिसकेको छैन तर प्रदेशमा ३७ जना प्रदेश सभा सदस्य रहेको कांग्रेसले सङ्घमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएकोले प्रदेशमा समेत दिने आकलन गरिएको छ । तीन जना प्रदेश सभा सदस्य रहेको नेपाल मजदुर किसान पार्टीले यसअघि नै प्रतिपक्षी दलको प्रभावकारी भूमिका निर्वाह गर्ने जनाइसकेको छ ।