• १२ साउन २०८१, शनिबार

‘नेपाल कसैको खेल मैदान नबनोस्’

सन्तुलित परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल

blog

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस २६ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता एवम् स्वाभिमानको रक्षाका लागि वर्तमान सरकारले सन्तुलित परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्ने बताउनुभएको छ। मंगलबार प्रतिनिधि सभाको संसदमा सम्बोधन गर्नुहुँदै उहाँले कानुनी शासनको प्रत्याभूति दिने कुरामा सरकारको ध्यानाकर्षण गराउनुभयो। 

अध्यक्ष नेपालले भन्नुभयो, “राष्ट्रियता, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कुरा चुनौतीपूर्ण हुन्छ। सन्तुलित परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्छ, नेपाल कसैको खेलमैदान नबनोस्।”

उहाँले सरकारले अहिलेसम्म हासिल गरेका शिक्षा सकारात्मक होस् या नकारात्मक अबका दिनमा काम गर्ने सङ्कल्प आवश्यक रहेको बताउनुभयो। विगतमा संसद् विघटनको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीले आफूखुसी संसद् विघटन गर्ने अधिकार वर्तमान संविधानले नदिएको उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “विश्वासको मत प्राप्त गर्नुपर्ने हतारो पनि होला। यसै पनि कांग्रेसले शंंकाको लाभ लिँदै विश्वासको मत दिनुभएको छ। जे भए पनि आशा, अपेक्षा गरेको मान्छे सरकारमा आइसकेपछि संविधानप्रतिको प्रतिबद्धता छ कि छैन ? मैले सुनेँ, संसद् विघटन गर्न पाइन्छ, यसले खतरनाक सङ्केत दिन्छ। पहिले प्रतिनिधि सभा बीचैमा विघटन गरियो।”

अध्यक्ष नेपालले २००५ साल, २०१९ साल र २०४७ सालको संविधान निर्माणदेखि आफैँ संलग्न रहेको र त्यसयता २०६३ साल र २०७२ को संविधानमा आफू संलग्न हुँदै आएको उल्लेख गर्नुभयो। “२०६३ को अन्तरिम संविधान होस् या विगतका त्रुटि नदोहोर्‍याउने प्रतिबद्धता प्रतिगमनको कदम फेरि नचालियोस्”, उहाँले भन्नुभयो।

प्रधानमन्त्रीले विश्वासको मत पाइसकेपछि राजनीतिक स्थायित्वमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ। 

उहाँले अहिलेको अवस्थामा नेपाली नमुनाको समाजवादको खाका तयार गर्नुपर्ने बताउनुभयो। वर्तमान अवस्थाको सङ्कटग्रस्त अर्थतन्त्रबाट मुक्ति, आयातमुखी अर्थतन्त्रबाट निर्यातमुखी अर्थतन्त्र बनाउनुपर्ने, निजगढ विमानस्थल छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने, चुरे संरक्षण लगायत रेशम चौधरी रिहाइका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

एकीकृत समाजवादीले सर्तसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने जनाएको छ।