• १२ साउन २०८१, शनिबार

जाल नफाल्न कांग्रेसलाई चेतावनी

कांग्रेसको निर्णयप्रति एमाले अध्यक्ष ओलीको आशङ्का

blog

मङ्गलबार बसेको प्रतिनिधिसभाकोे बैठकलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली। तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं, पुस २६ गते। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशङ्का व्यक्त गर्नुभएको छ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले कांग्रेसको सो निर्णयमा कुनै खालको जालझेल हुनसक्ने बताउनुभएको हो। उहाँले त्यो निर्णय कुनै जाल हो भने त्यसलाई सफल हुन नदिने चेतावनी दिनुभयो।  त्यो जाल हो भने माछा नभएको खोलामा फ्याँके जस्तै हुने अध्यक्ष ओलीको भनाइ छ। 

नेपाली कांग्रेसले सदासयताबाहेक अन्य प्रयोजनका लागि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो भने त्यो जालमा माछा नपर्ने उहाँले बताउनुभयो। ओलीले भन्नुभयो, ‘‘म सबै सांसदजीलाई प्रधानमन्त्रीलाई विश्वासको मतमा समर्थन गर्न आग्रह गर्दछु। त्यसमध्ये प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समर्थन जनाइसकेको छ। यो समर्थनभित्र सदाशयताबाहेक अरू कुरा छैन भने, यो समर्थन कुनै जाल होइन भने या समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ।’’ 

अध्यक्ष ओलीले संसद् विघटन गरेर माघ १९ ल्याउने काम गरेकाले कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको हरेक निर्णयमा प्रतिगमन देख्ने गरेको कटाक्षसमेत गर्नुभयो। 

उहाँले निर्वाचन हुन्छ भने त्यस्तो खालको संसद् विघटन जायज हुने आफ्नो अडानसमेत दोहोर्‍याउनुभयो। त्यस अवसरमा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गर्ने सन्दर्भमा प्रस्तुत गर्नुभएको सम्बोधन देश र जनताको आशा अनुसार भएको भन्दै सबै राजनीतिक दलले त्यसलाई समर्थन गरेर जानुपर्ने बताउनुभयो।