साहित्यका विधाहरूमा अन्यका तुलनामा कविता बढी फस्टाएको देखिन्छ । तर कविता लहडको विषय होइन । सनातनदेखि मन्त्र र ऋचाबाट साहित्यको प्रारम्भ भएको हुँदा कविताले लोकप्रियता प्राप्त गरेको हो । कहलिएका आख्यानकारहरूको प्रारम्भिक यात्रा पनि कविताबाटै सुरु भएको देखिन्छ ।
यस क्रममा निबन्धकार गान्धीराज काफ्ले पनि ‘कविर्मनिषी’कै उपाधिबाट देखा पर्नुभएको छ, ‘मेरो सालु मेरो रामेछापबाट । मातृभूमिप्रति गहिरो अनुराग राखेर लेखिएको ‘मेरो सालु मेरो रामेछाप’भित्र पन्ध्रवटा कविता छन् ।
‘जन्मसँगै जन्मभूमि’, ‘नमन जन्मभूमि’, ‘तीर्थाधार’, ‘मेरो परिचयको फेद’, ‘स्वप्नशील सालु’, ‘फर्की हेर्दा’, ‘मुग्ध मनोहर’, ‘रामेछाप र बागमती प्रदेश’, ‘मेरो आफ्नै परिभाषा, ‘अपनत्वको मिठास,’ ‘गङ्गालाल’, ‘रामेछाप र मन्थली’, ‘अटल अस्तित्व’, ‘भावस्रोत’ र ‘गौरव र सम्भावना’ जस्ता शीर्षकहरूमा वर्णित काफ्लेजीका यी कविताहरूले जराप्रेमकै वृत्तमा उभ्याएका छन् आफूलाई ।
जराप्रेम गर्न नसक्ने कवि पहिलो पाइलामै लर्बराउँछ । माटोलाई अथ्र्याउन नसक्ने कवि पहिलो परिभाषामै थर्थराउँछ । डा. तारानाथ शर्माले भनेजस्तै ‘गान्धीराज काफ्लेका यी प्राञ्जल कवितामा जन्मभूमि नेपालप्रति गहिरो प्रेम तथा श्रद्धा प्रकट गराइलाई प्रयोगवादी कविहरूका लागि ठूलै ऊर्जा सञ्चार नहोला भन्न सकिन्न । अङ्ग्रेजी भाषाका प्रखर ज्ञाता गान्धीराज काफ्लेभित्र नेपाली भाषाको अनुराग उत्तिकै गहिरो भएर बसेको देखिन्छ । त्यसैले आफ्नै मातृभाषा नेपालीमा सहजीकरण गराउनुभएको छ उहाँले आफूलाई ।
हिमाली शृङ्खलाका उद्गमबाट सुदूर समुद्रमा पुगेर मिसिएको पानीको थोपाभित्र मातृभूमिको पहिचान खोज्ने गान्धीराज काफ्ले ‘सबथोक मेरो, मेरो सालु’मा पुगेर पूर्ण आल्हाद र गौरव अनुभूत गर्न पुग्नुभएको छ । काफ्लेजीको गौरवगान रामेछापकै वृत्तमा छ, सालुकै ऊष्णतत्वमा छ, सिद्धिचरणको ओखलढुङ्गा प्रेमले ओतप्रोत भङ्गिमाले जस्तै । वर्तमान नेपालले ओझेलमा राखेर हेरिएका गङ्गालालहरूलाई पुनः ब्युँताउने प्रयासमा ‘ओ हो ! चुप भए सबै, अन्यायविरुद्ध’ भनेर काव्य गर्जन गर्न पनि चुक्नु हुन्न उहाँ ।
रामेछापले चार लाल जन्माएको छ, मातृभूमिको रक्षा गर्न यस्ता अनेक दार्शनिक, चिन्तक, बहुविध योजनाकार, बौद्धिक धरोहरहरूले राष्ट्र निर्माणमा अहम् भूमिका निर्वाह गरेका छन् । उहाँको यो मातृभूमिप्रति रहेको प्रेम आशक्ति आफ्नो परिचय व्यक्त गर्ने उद्यम बनेको छ । जन्मभूमिभन्दा श्रेष्ठ तीर्थ अर्को हुन सक्तैन । आफ्नो माटोको ‘मौन प्रकृति’भन्दा आत्मतृप्तिको शान्ति दोस्रो हुन सक्तैन । कोमल कल्पनाले मात्र जडित छैनन्, यहाँभित्र रहेका साङ्गीतिक भावहरू, भावनाका अन्तर्वेगहरूले मात्र सज्जित छैनन्, यहाँ अन्तर्निहित सांस्कृतिक प्रतिभावहरू । ती उत्सर्जित रूपान्तरणमा रहेको बोध छ, पाठकलाई, अध्येतालाई, रसग्राहीलाई । कवि गान्धीराज काफ्ले त्यसैले रसभोक्तासित प्रत्यक्ष साक्षात्कारित हुन सकेको प्रत्याभूत हुन्छ ।
डा. ज्ञानु पाण्डेले काफ्लेजीमाथि गर्नुभएको परीक्षण जस्तै ‘मूलतः एउटै अन्तरवस्तुमा केन्द्रित भएको भए पनि अन्तरविषयात्मक अध्ययनको माग गर्ने समाजशास्त्रीय चिन्तन चरितार्थ छ, यो काव्यकृति । ‘फर्की हेर्दा’ ‘मेरो आफ्नै परिभाषा’, ‘गङ्गालाल’ र ‘अटल अस्तित्व’हरूले ‘अन्तरविषयात्मक आत्मदंश’लाई पुष्टि गरेका छन् ।
सरल संवेदनशील, गुणग्राही शिल्पभाषामा प्रयुक्त गान्धीराजका यी कविताहरू भाव गाम्भीर्यले ‘व्यष्टिमा समष्टि प्रकट गर्न जति ओतप्रोत छन्, ध्वनि व्यञ्जनमा पनि ऊर्जा र माधुर्य प्रवाह गर्न सफल छन् । मितव्ययी शब्दमा वजनदार काव्यगाथा गाउने यी कवि शब्दपीडा र शब्दक्रीडाको पृथकता छुट्याउन पनि सिपालु देखिनुभएको हुँदा कविताका पारखीहरूले उहाँलाई शतशत नमन गर्नुपर्ने हुन्छ ।
कृति: मेरो सालु मेरो रामेछाप
विधा: कविता सङ्ग्रह
प्रकाशक: ओरिएन्टल पब्लिकेशन हाउस प्रालि
प्रकाशन: २०७८
पृष्ठ: ५२
मूल्य : रु. २५०।–