• १९ फागुन २०८०, शनिबार
blog

काठमाडौँ, पुस २२ गते । अमालकोट कचहरी र सेवा समितिबीच २०६० जेठ १२ गते विशुद्ध सेवाका लागि धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भए पनि सम्झौताको १९ वर्षपछि पशुपति गौशाला धर्मशाला अघोषित व्यापारिक केन्द्र भएको छ । 

यो पनि पढ्नुहोस

सम्झौताविपरीत होटल, रेस्टुरेन्ट, लज र अस्पताल

पशुपतिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सञ्चालित धर्मशालामा लज चलाइएको छ । सहुलियतमै लज चलाए पनि सेवा समितिले १९ वटा सटरबाट कार्यविधिबिनै चर्को भाडा असुली गरिरहेको छ । पशुपति गौशाला धर्मशालामा पसल सञ्चालन गर्ने स्याङ्जाका श्रीधर न्यौपानेले ३० हजार रुपियाँभन्दा बढी मासिक भाडा तिर्नुहुन्छ । उहाँले भन्नुभयो, “दुई वर्षमा सम्झौता नवीकरण गर्नुपर्छ । मैले १४ वर्षदेखि पसल चलाइरहेको छु । भाडा चर्को छ ।”

यो पनि पढ्नुहोस

नक्कली मोही खडा गरेर जग्गा हत्याउने प्रयास

धर्मशालामै ट्राभल्सका सञ्चालक अच्युत चापागाईंले पनि कार्यालय चलाएको १० वर्ष भयो । उहाँले मासिक ३५ हजार रुपियाँ भाडा तिर्नुहुन्छ ।

यो पनि पढ्नुहोस

सम्पदा क्षेत्रमा मापदण्डविपरीत संरचना निर्माण

सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले १९ मध्ये १८ वटा सटर भाडामा लगाइएको बताउनुभयो । उहाँले धर्मशालाबाट उठ्ने भाडा पारदर्शी रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले यत्रो सेवा गरिरहेका छौँ । तपाईं भाडाको कुरा गर्नुहुन्छ ! प्रक्रिया मिलाएको छ, अफिस आउनुस्, देखाउँला ।”

यो पनि पढ्नुहोस

सर्वोच्चको फैसलाअनुरूप सम्झौता परिवर्तन गरिएन

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले विश्व सम्पदा पशुपतिनाथको सम्पत्तिमाथि सेवा समितिले दोहन गरिरहेको बताउनुभयो । उहाँले कोषलाई वार्षिक ५१ हजार रुपियाँ बुझाउने सेवा समितिले एउटै सटरबाट मासिक ३५ हजार असुलेको विषयमा छानबिन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अचाक्ली भाडा लिइरहेको गुनासो आएको छ । जिल्ला प्रशासन कार्यालयमा भाडाको अडिट बुझाउने र कार्यविधि बनाएर मात्रै भाडादर निर्धारण हुन्छ । तर अहिलेसम्म भएको छैन । अब हामी छानबिन गर्छौं ।”

काठमाडौँको गौशालास्थित कित्ता नं. ८३ को ४–१५–२–० र ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गामा धर्मशाला र गाईनन्दी संरक्षण गर्न प्रयोग गर्ने सर्त सम्झौता गरिएको हो तर मारवाडी सेवा समितिले जर्सी गाईपालन गरेर डामेर छाडिएका साँढेहरू धादिङ लगेर राखेको छ । अहिले २१७ वटा दुहुना गाई र बाच्छाबाच्छी धर्मशालामा छन् । अध्यक्ष गोयलले भन्नुभयो, “धादिङमा जग्गा किनेर साँढेहरूको संरक्षण गरिएको छ ।”

कोषका प्रवक्ता अधिकारीले स्थानीय जातका गाई पाल्ने परम्परा भए पनि सेवा समितिले जर्सी गाई पालेको बताउनुभयो । उहाँले गाई र नन्दीलाई अव्यवस्थित तरिकाले थुनिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो परम्पराविपरीत छ । सेवा समितिले यो विषयमा प्रस्टीकरण दिनुपर्छ ।”

सेवा समितिले सम्झौताको मापदण्डविपरीत ३० बेडको डायलासिस सेन्टर सञ्चालन गरेको छ । गाई पालिएको भवन र डायलासिस सेन्टरको भवन जोडिएका छन् । अध्यक्ष गोयलले सेवा गर्ने उद्देश्यले सेन्टर चलाइएको बताउनुभयो । उहाँले “मापदण्डको कुरा होइन सेवा गरेको कामलाई हेर्नुस्,” भन्नुभयो । 

प्रवक्ता अधिकारीले डायलासिस सेन्टरका लागि उपयुक्त जग्गा खोज्न सुझाव दिँदै धर्मशाला जुन प्रयोजनका लागि बनाइएको हो त्यो मात्रै गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु र गाई–नन्दीका लागि बनाइएको गौशालामा अनेक व्यवसाय सञ्चालन गर्न मिल्दैन । त्यस्तो अवस्थामा सम्झौता रद्द हुन्छ ।”