• १ चैत २०८२, आइतबार
blog

प्रधानमन्त्री सुशीला कार्की । फाइल तस्बिर

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गर्नुभएको छ । निर्वाचन हुने/नहुने भन्ने संशयका बीच यही फागुन २१ गते शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भएर नयाँ सरकार गठनको तयारी सुरु भएका बेला प्रधानमन्त्री कार्कीमा एक प्रकारको सन्तोष मिलेको देखिन्छ । निर्वाचन गराउने दायित्व पूरा गर्दा भोग्नुपरेका समस्या, चुनौती र एक पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्दाका अनुभूतिबारे प्रधानमन्त्री कार्कीले राससका समाचारदाता कालिका खड्कासँग  संवाद गर्नुभएको छ । प्रधानमन्त्री कार्कीसँगको संवादको सम्पादित अंश:

शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भयो । प्रधानमन्त्रीका हैसियतले यहाँले सफल नेतृत्व गर्नुभयो । कस्तो महसुस भइरहेको छ ?

मलाई त्यस्तो बेग्लै महसुस त भएको छैन । तर, देशको चिन्ता सबैलाई थियो । एउटा अनिश्चयका बीच शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भयो । देशको बारेमा चिन्ता गर्ने, मुलुकको भलाइ चाहने सबै खुसी छन् । म पनि खुसी छु । सरकारलाई जुन जिम्मेवारी तोकेर दिइएको थियो, त्यो हामीले समयमै पूरा गर्न सक्यौँ । आनन्दजस्तो महसुस भएको छ ।

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो । जेनजी आन्दोलनपछिको अवस्था भएकाले सुरु-सुरुका दिनमा पक्कै पनि चुनौती थिए । ती चुनौतीलाई कसरी सम्झनुहुन्छ ?

मैले नेतृत्व लिएको अवस्थामा धेरै चुनौतीहरू थिए । आफैँलाई पनि काम गर्न सकिन्छ कि सकिँदैन भन्ने लागेको थियो । समय जम्मा छ महिनाको थियो । त्यसमाथि प्रहार धेरैले गरे । अविश्वास पनि गरे । हाम्रो विरुद्ध सिङ्गै पुराना दल उभिए । जेनजी हुँ भन्नेहरूले तुरुन्तै छोड पनि भने । जेनजीको आन्दोलनलाई अपहरण गरेर आयौँ भने । त्यसबेला हामीलाई सहयोग गर्ने मान्छे एकदम कम थिए । मन्त्रिपरिषद्का सदस्यले एकअर्कालाई सान्त्वना दिँदै काम गर्‍यौँ । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दा पनि ‘सम्भव छ र ?’ भन्ने जस्ता प्रश्न आउँथे । शान्ति र सहानुभूतिको कुरा धेरैतिरबाट आएन । हाम्रा पछाडि समर्थकको ठूलो पङ्क्ति र सङ्गठन थिएन । हामी सीमित मान्छे सरकारमा थियौँ । त्यो बीचमा धेरै हमला भयो । हामीप्रति मानिसको विश्वास पनि थिएन । त्यसमाथि एउटा महिला भन्ने खालका टिप्पणी सुनिँदै थिए । तर मैले एक कानले सुनेँ, अर्को कानले उडाइदिएँ । आफ्नो काम छोडिनँ ।

कठिन अवस्थामा ‘म सक्छु नेतृत्व गर्न’ भन्ने आँट, साहस र भरोसा चाहिँ कहाँबाट आयो ?

म सक्छु भन्ने मनभित्रैदेखि नै आयो । प्रधानमन्त्री हुनुभन्दा पहिला मैले अन्दाज गरेको रहेनछु । मेरो शरीर, तागत, बल १६ देखि १८ वर्षको जस्तो रहेछ । सक्दिनँ भन्ने भयो भने त उच्च रक्तचापका कारण मानिसलाई ‘सक’ हुन्छ । पत्रपत्रिकामा जताततै आलोचना मात्रै आउँथ्यो । मेरो त रक्तचाप बढ्नुको सट्टा घट्दै आयो । डाक्टर नै छक्क पर्नुभयो । तर मेरो आत्तिने बानी छैन । त्यो भोगेर पनि आएको हो । राजनीतिको एउटा मूल्यमान्यता हुन्छ । न्यायालयका मानिसले पनि भोगेर त आएका हुन्छन् । एउटा सकसको अवस्था मैले सामना गरेरै आएको हो । अदालतमा यस्तै महसुस गरिन्थ्यो तर त्यहाँ अभिव्यक्त गर्न पाइँदैन, यहाँ अभिव्यक्त गर्न पनि पाइन्छ ।


अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई सानैदेखि आँट गरेर केही काम गर्‍यो भने जे पनि गर्न सकिन्छ भन्ने लाग्थ्यो । आत्मविश्वास पनि थियो । मैले धेरै पटक भगवान्लाई गुहारेँ । मलाई लाग्यो कि कहिले माओवादीको सशस्त्र द्वन्द्व भनेको छ, मान्छे मारेको छ, कहिले के भनेको छ । कहिलेसम्म नेपालीले ज्यान फाल्ने ? ‘भगवान्, यति चाहिँ गर्नुस्’ भनेर मैले हात जोडेँ ।

मलाई नपुग्दो केही छैन । प्रधानन्यायाधीश भएँ, प्रधानमन्त्री भएँ । मेरा छोराबुहारी छन्, नाति छ, बस्ने बास छ । मलाई सबै कुरा तृप्त छ । ‘मलाई अब निजी कुरा केही चाहिएन, म जन्मेको, हुर्केको देशलाई त्राण देऊ भगवान्’ भनेँ । मैले जे-जे मागेँ, त्यही पुग्यो । त्यो मलाई आशीर्वाद दिएको होला पिताजी, माताजीले माथिबाट । निर्वाचनको दिन पानी पर्दैन भनेँ, पानी परेन । हिउँ झर्दैन भनेर मैले भनेँ, झरेन । मैले मेरो आत्मविश्वासले यस्तो भनेकी थिएँ । संयोगवश मौसम राम्रो भयो । अनि प्रकृतिलाई पनि धन्यवाद भनेकी छु ।

देशको नेतृत्व गरिरहँदा सबैभन्दा कठिन मोड, अब मैले सक्दिनँ कि भन्ने कुनै बेला लाग्यो कि ?

त्यस्तो त पटकपटक लाग्यो । जेनजी आन्दोलनका सहिदका बुबाआमा बालुवाटार आएर रोएको दिन हृदयाघात नै होलाजस्तो भयो । पत्रपत्रिकामा ‘सक्दैन सरकारले’ भनिरहेकै देखिन्थ्यो । एउटा जेनजीले भन्यो, ‘हामीले सरकार चलाउनुपर्ने तिमीले किन चलायौ ?’ तिनीहरूले पहिला राष्ट्रपतिसँग ‘म सक्छु’ भन्न सकेनन् । सरकारको अवधि सकिने बेलामा ‘मलाई मन्त्री बनाइदेऊ’ भन्न आइरहेका थिए । तर म रिसाइनँ, ती बच्चा केटाकेटी न हुन् ।

एक-दुई जनाले त ‘यसलाई असफल बनाएर आफैँ प्रधानमन्त्री बन्छु’ पनि भने । राजनीतिक दलको भनाइ चाहिँ तपाईं प्रधानमन्त्री भए पनि राजनीतिक दलको मन्त्री राखेर सरकार चलाउनु भन्ने पनि आएको थियो । यो देशमा प्रधानमन्त्री सबैभन्दा ठूलो कुरा हुने रहेछ । मेरा लागि त त्यस्तो अमूल्य छैन । म अहिले पनि प्रधानन्यायाधीश भन्न नै मन पराउँछु । न्याय क्षेत्रकै सङ्गत मन पर्छ । तर मानिसलाई प्रधानमन्त्रीमा आकर्षण हुने रहेछ । ‘त्यो सुशीलाले सक्ने, हामीले नसक्ने ?’ पनि भने । अपशब्द पनि बोले । यस्तो कपडा लगाएको, चुरा यस्तो लगाएको, बाङ्गो भएर हिँडेको भन्ने जति त सबै भने । जति आलोचना गरून्, मलाई केही फरक पर्दैन । आफ्नो नजर हो ।

निर्वाचन अब हुन्छ भनेर ढुक्क चाहिँ तपाईंलाई कुन बिन्दुबाट लाग्यो ?

गत भदौ २७ गते प्रधानमन्त्रीमा मेरो नियुक्ति भयो । त्यसको भोलिपल्ट २८ गते शनिबार थियो, २९ गतेदेखि निर्वाचन आयोगले काम सुरु गर्‍यो । हामीले सबैभन्दा पहिला जेनजी आन्दोलनमा सहादत पाएका सहिदका परिवारको समस्यामा ध्यान दियौँ । उहाँहरूका परिवारले जे-जे भन्नुभयो, त्यो सुन्यौँ र त्यसैअनुसार काम गर्‍यौँ । त्यसपछि निर्वाचनमा ध्यान दियौँ ।

निर्वाचनमा सहयोगका लागि छिमेकी मुलुकलाई पनि अनुरोध गर्‍यौँ । प्रहरीसँग गाडी अपुग थिए, मित्रराष्ट्र भारत र चीनबाट सहयोग पनि प्राप्त भयो । मुख्य ध्यान निर्वाचनमै केन्द्रित गरेर काम गर्‍यौँ । निर्वाचन आयोगले मागेको कुरामा सहजीकरण गर्‍यौँ । मानसिक वातावरण बनाउनका लागि राष्ट्रपतिसँग छलफल गर्‍यौँ । जेनजीका २१-२२ वटा समूह निस्किए । एउटाले एउटा भन्छ, अर्काले अर्को भन्छ । पार्टीको भ्रातृ सङ्गठनजस्तो भयो जेनजी त । कसैले कार्यकारी प्रधानमन्त्री, कसैले निर्वाचित प्रधानमन्त्री र केहीले संविधान संशोधन गर्न भने । संविधानले गर्न नमिल्ने कुरा पनि भनिरहेका हुन्थे । जेनजीहरूले भनेको कुरालाई नसुनेझैँ गर्न पनि भएन । राजनीतिक दल भन्छन्– यो सरकारले निर्वाचन मात्रै गराउने हो । जेनजी भन्छन्– सबै काम गर, यो त विद्रोहबाट आएको सरकार हो । हामी त ताप्केमा फुलौरा उफ्रिएजस्तो भयौँ । त्यो अवस्था पनि भोग्नुपर्‍यो ।

विभिन्न आरोह-अवरोहमा ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो । मनभित्र जिन्दगीको सबैभन्दा ठूलो उपलब्धि हासिल गरेजस्तो लागेको छैन ?

त्यस्तो मलाई लागेको छैन । जीवनमा एक कक्षाको परीक्षा दिइयो, पास भइयो । दुई कक्षाको परीक्षा दिइयो, पास भइयो । पढ्दापढ्दै स्नातकोत्तर पास भइयो । जीवनमा समयअनुसार परीक्षा भइरहन्छ । साँच्चै भन्नुहुन्छ भने यो जीवनको एउटा सङ्ग्राम थियो । मुलुकले राहत पायो । सुरुमा मेरो मुखबाट शब्द निस्किएको थियो, ‘निर्वाचनमा मान्छे मर्नुहुँदैन, एक थोपा रगत पनि झर्नुहुँदैन ।’ अन्ततः त्यस्तै शान्तिपूर्ण भयो । म आम जनतालाई धन्यवाद दिन चाहन्छु । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन प्रहरीलगायत सबै सुरक्षाकर्मीको निर्वाचन यसरी सफल पार्न ठूलो योगदान छ । म प्रधानमन्त्रीको हैसियतले धेरै धन्यवाद दिन चाहन्छु ।

निर्वाचन र सरकारलाई सफल पार्न कसको कस्तो सहयोग मिल्यो ?

सरकारको मूल कार्यभार निर्वाचन गराउने थियो । यसको ५० प्रतिशत श्रेय म निर्वाचन आयोगलाई दिन चाहन्छु । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीन आयुक्तको नेतृत्वमा भएको योगदान इतिहासले बिर्सन सक्ने छैन । आयोगमा पाँच जना पदाधिकारी हुनुपर्नेमा तीन जनाले पनि यति ठूलो काम गर्नुभयो । म प्रधानमन्त्रीका हैसियतले तीनै जना पदाधिकारीलाई र सिङ्गो आयोगलाई धन्यवाद दिन चाहन्छु । मन्त्रिमण्डलमा सबैभन्दा धेरै धन्यवाद म गृहमन्त्री ओमप्रकाश अर्याललाई दिन चाहन्छु । दिनरात मिहिनेत गर्नुभएको छ । अरू मन्त्रीहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।

सरकारले यो सफलता पाउनुमा प्रत्येक नागरिकको उत्तिकै योगदान छ । चारवटै सुरक्षा निकायका प्रमुखहरूले पनि एकीकृत सुरक्षा योजना बनाउन र प्रभावकारी रूपमा लागू गरी मुलुकलाई यो ठाउँमा सुरक्षित अवतरण गर्न ठूलो भूमिका खेल्नुभएको छ ।

मलाई सफल पार्नका लागि मेरो निकट रहेर दुई सहयोगी व्यक्तित्व प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जीवनमा बिर्सन नहुने गुन लगाउनुभएको छ । रावलजी पत्रकार मात्रै होइन, उहाँमा इमानदारी र मानिसलाई सहयोग गरूँ भन्ने भावना मात्रै छ । प्रमुख स्वकीय सचिव श्रेष्ठ अदालतको कर्मचारी हो । अदालतमा काम गर्ने प्रविधि र कानुनमा राम्रो ज्ञान भएको कानुनकै विद्यार्थी पनि हो । धेरै प्रधानन्यायाधीशको निजी सहायकका रूपमा काम गरेको व्यक्ति हो । म प्रधानन्यायाधीश हुँदा पनि निजी सहायक नै थियो । सचिवालयमा २०-२५ जनाले गर्ने काम यिनीहरूले गरे । यो उमेरमा मलाई सफल पार्न ७५ प्रतिशत आदर्शको हात छ । उसैको देनका कारण सम्भव भयो । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा पहिला ४०–५० जना कर्मचारी हुन्थे । म सबैलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।

अर्को, नेपाली सेनाका प्रमुख सेनानी बालमुकुन्द विष्ट र सेनानी सुरज ओझा अत्यन्तै विद्वान् हुनुहुन्छ । उहाँहरूले संसारभरिका विषयमा मलाई अपडेट गराउनुहुन्थ्यो । उपसेनानी गोमा बूढाथोकीले मलाई छोरीले जस्तै हेरचाह गर्नुभयो ।

सचिवालयका विषयलाई लिएर विवाद पनि आयो । त्यो खास के भएको थियो ?

मेरो घर भएको क्षेत्र नेवारी क्षेत्र हो । मेरो घरायसी व्यवस्थापनमा उहाँहरूबाटै सहयोग पाइरहेकी थिएँ । बालुवाटारको निवास र अन्य व्यक्तिगत सरसहयोगका निम्ति तिनै चिनेजानेका केही नेवार समुदायका मान्छे लिएर आएँ । उहाँहरूको काम कुनै राजकाजको सरकारी काम थिएन, विशुद्ध मलाई निजी कुरामा सहयोग गर्ने मात्र थियो । प्रमुख स्वकीय सचिव आदर्श पनि नेवार । पछि त सबै आदर्शका आफ्ना नातागोता भनेर ‘नेपोटिजम’ को कुरा ल्याइयो । ती आदर्शका मान्छे नभएर मेरा मान्छे थिए । त्यो आलोचना ठीक लागेन । अनि मैले खाना पकाउनेदेखि धेरैलाई हटाएँ । केही दिन आफैँले खाना पकाएँ । त्यसपछि सुरक्षाकर्मीले पनि सघाए । आलोचना त हुन्छ तर अचम्म चाहिँ यसअघिका प्रधानमन्त्रीहरूले सचिवालयमा ९० जनासम्म राख्दा नेपोटिजम केही भएन । म ७३ वर्षको उमेरमा आएर सबै काम आफैँ गर्नुपर्छ भनेर बाध्य बनाइयो । हटाउने अवस्थामा पुर्‍याइयो । मलाई सिधै आक्रमण गर्न नसकेपछि मेरो सचिवालयका कर्मचारीलाई आक्रमण गरेका थिए । तर, आजको दिनमा ती सबैलाई धन्यवाद नै दिन चाहन्छु ।

निर्वाचन गराउन सुरुमा राजनीतिक दलसँग संवाद गर्नुपर्ने मुख्य चुनौती थियो । त्यो चुनौतीको सामना कसरी गर्नुभयो ?

मुलुकमा १२५/१३० पार्टी थिए । विविध विचारका छन् । धेरैको मुखमा रामराम, बगलीमा छुरा । कोही एक्लै पार्टी चलाएका छन्, पैसा उठाएर हिँड्ने । हर प्रकृतिका मानिस छन् । कोही साम्यवादी, कोही प्रजातन्त्रवादी छन् । कोही पूर्वराजाकहाँ जानेछन् । प्रधानमन्त्री जोसुकै होस्, देश बनाऊँ न भन्ने कोही छैन । खाली कुर्सीको मोह मात्रै छ ।

कुर्सीमा बसेर सबैथोक हुँदैन । मुलुक बनाउने हो भने आ-आफ्नो क्षेत्रमा काम गरे पुग्छ । अरू केही नगरे पनि आफ्ना छोराछोरीलाई राम्रोसँग पढाए परिवार त बन्छ । तर कुर्सी मोह मात्रै देखिन्छ । कानुनी क्षेत्रबाट आएको मान्छे मलाई छ महिना कटाउनै पर्छ भन्ने पनि लागेको थिएन । गाली पनि खायौँ । कति नराम्रोसँग गाली गर्ने नेतासँग भेट्यौँ । राष्ट्रपति कार्यालयमा जेनजीका प्रतिनिधिसँग बस्दा अहिले नै ‘गेटआउट’ भनेको पनि सुन्यौँ । ‘तँलाई प्रधानमन्त्रीमा राख्दैनौँ’ भने । त्यो तँतँ र मम पनि सह्यौँ । ‘तैँले भनिस्, म निस्केर गएँ’ भनेर छाडेको भए देशको जिम्मा कसले लिन्थ्यो ? म पनि यही देशको जनता हुँ । यो देशप्रति माया मलाई छ । मैले छोड्न मिल्दैनथ्यो ।

राजनीतिक दलका मानिसलाई धेरै भेट्यौँ । प्रमुख राजनीतिक दलका नेताहरू नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासहित १२५ वटै पार्टीसँग पनि छलफल गर्‍यौँ । त्यत्रो आन्दोलन भयो, त्यो परिस्थितिबाट अहिलेको परिस्थितिमा मुलुकलाई त ल्यायौँ नि । एउटा आईजीपीले मलाई हप्काएको थियो बोल्दाबोल्दै, यो सबै सङ्घर्ष त थियो नि ।

पुराना कर्मचारी र पुराना सचिवले त पुरानै दल खोजिरहेका थिए । नयाँले नयाँ कुरा गर्छन् । त्यो सबै सहेर अहिले शान्तिपूर्ण अवस्थामा पुर्‍यायौँ । त्यसका लागि अथक प्रयास गरियो । एकैदिनमा १४ वटा बैठकसम्म गरेँ । धेरै पटक राति २–३ बजेसम्म पनि बसेका छौँ । वातावरण बनाउने प्रयासकै लागि थियो त्यो । फेरि संस्कार कस्तो भएको रहेछ भने हरेकले प्रधानमन्त्री भेट्नैपर्ने, फोटो खिच्नैपर्ने, त्यो पनि गरियो । किनभने, जसरी पनि चुनावी वातावरण बनाउनु थियो । मतदान हुँदाहुँदै हमला हुने हो कि भन्ने अवस्थालाई रोकियो । धार्मिक साम्प्रदायिक कुरालाई लिएर ठाउँ-ठाउँमा तनाव सिर्जना गरिए, ती पनि रोक्यौँ । राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राखेर निकम्मा बनाइएको रहेछ, अहिले त्यो गृह मन्त्रालय मातहत राखेर क्रियाशील गराइएको छ ।

विघटित प्रतिनिधिसभा पुनःस्थापनाका लागि तत्कालीन प्रमुख दल सर्वोच्च अदालतमा समेत गएका थिए नि ?

सरकारलाई जसरी पनि निर्वाचन गराउनु थियो । सबै दलहरूसँग पटकपटक संवाद, छलफल गरिरह्यौँ । मुलुकलाई पूरै निर्वाचनतर्फ डोहोर्‍याउने काम गरियो । अन्ततः सफल भयो ।

निर्वाचनमा नयाँ दलले झण्डै दुई तिहाइ हैसियतमा विजय हासिल गरेको छ, पुराना स्थापित दलहरू कमजोर देखिए । यो परिणामलाई कसरी लिनुभएको छ ?

अहिलेको मतपरिणाम युवाको हो । जेनजी आन्दोलनको असर हो । परिवर्तनको चाहना पनि हो । तर पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन । हामीले पनि नसोचेको भयो । मैले त ओलीजी हार्नुहोला भन्ने सोचेकी पनि थिइनँ । जनताले दिएको मतलाई सम्मान गर्नुपर्छ । रास्वपाले पाएको मतको सम्मान गर्नुपर्छ । विपक्षीले थोरै मत पाएको भए पनि रास्वपाले त्यसलाई सम्मान गर्नुपर्छ । राजनीतिमा निर्वाचन नभएसम्म यो पार्टी र त्यो पार्टी हुन्छ, निर्वाचनपछि अल्पमतलाई पनि जित्नेले बेवास्ता गर्नुहुँदैन । राजनीति भनेको सामाजिक सेवा हो । भारतमा इन्दिरा गान्धीले त्यसैगरी हार्नुभएको थियो, पछि जित्नुभयो । नेपालका परिपक्व भएका नेतालाई जनताले बिर्सिँदैनन् । आज एउटा लहर आएको हो, भोलि अर्को आउन पनि सक्छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको भावनाबमोजिम अहिलेको सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि के-के काम गर्न सक्यो ?

सुशासन र भ्रष्टाचार नियन्त्रणमा हामीले सक्दो प्रयास गर्‍यौँ । विगतका सरकारले गर्नेजस्तो ह्वारह्वार खर्च गरेनौँ । मैले तलब लिइनँ । म बालुवाटारमा बस्छु, त्यति मात्रै हो । अनावश्यक खर्च कटौती गर्‍यौँ । निर्वाचनमा पनि जम्मा रु ३२ अर्ब खर्चको हिसाब छ, तर त्यो सुरक्षा सामग्रीमा समेत गएको हो । म लगायत केही मन्त्रीले त रातो पासपोर्ट नै बनाएनौँ । विदेश भ्रमणमा गएर राज्यकोषमा भार थपेनौँ ।

कर्मचारीतन्त्र र सुरक्षा सङ्गठनमा नियुक्ति र बढुवा गर्दा कतै चलखेलको ठाउँ नराखी ज्येष्ठता र कार्यक्षमतालाई आधार मान्यौँ । विश्वविद्यालयजस्ता प्राज्ञिक थलोहरूलाई हामीले उचित सम्मान दियौँ । सुरक्षा सङ्गठनका प्रमुखहरू कार्की थरका भनेर पनि टिप्पणी गरिए, तर उहाँहरू मेरो नाताका कार्की होइन, गोत्र पनि मिल्दैन क्यारे । मुख्यसचिव बनाउँदा पनि ज्येष्ठतालाई ध्यान दियौँ । सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभागजस्ता संस्थालाई प्रधानमन्त्रीको मातहतबाट सम्बन्धित मन्त्रालयमा पठाइदिएँ ।

भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन सार्वजनिक र कार्यान्वयनको माग उठिरहेको छ । यसमा सरकारले के गरिरहेको छ ?

आयोगले प्रतिवेदन बुझाएको छ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । त्यहाँ छलफल गरेर आवश्यक निर्णय लिन्छौँ । अब हामीसँग धेरै समय पनि छैन । नयाँ जनादेश आइसकेको छ, नयाँ सरकारले बाँकी प्रक्रिया अवश्य अघि बढाउनेछ ।

केही दिनमा नयाँ सरकार बन्दैछ । नयाँ सरकारलाई यहाँको सन्देश के हुन्छ ?

नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका तीन वटा माग पूरा गर्नुपर्छ– सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था । सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने मैले देखेकी छु । त्यहाँ काम गर्ने कर्मचारीहरू राजनीतिकरण हुने गरेको देखियो । ठूलो क्रान्तिकारी कदम नै अब कर्मचारीतन्त्र सुधारका लागि चाल्नु आवश्यक देख्दछु ।

पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचिसक्नुभएको छ । अब जिम्मेवारीबाट बाहिरिएपछि के गर्नुहुन्छ ?

मैले विषम परिस्थितिमा प्रधानमन्त्री भएर जुन काम गर्नुपर्ने हो, त्यो पूरा गरेँ । अब म पुरानै निजी दैनिकीमा फर्किन्छु ।

राष्ट्रपति हुने भन्ने पनि चर्चा छ नि ?

अब अरू कुनै मोह छैन । मभन्दा लायक र अवसर नपाएका मान्छे अरू पनि धेरै हुनुहुन्छ ।

अन्त्यमा, आफ्नो प्रधानमन्त्री कार्यकालको भन्नैपर्ने केही कुरा छन् ?

सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो, त्यो पूरा भयो । नयाँ सरकारले देशका युवालाई रोजगारी दिनुपर्छ, देशमा बस्ने वातावरण बनाउनुपर्छ । बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेकी छु । मलाई बालेनप्रति विश्वास पनि छ, केही होला भन्ने आशा छ ।