गाेरखापत्र अनलाइन
भक्तपुर, पुस १८ गते । जिल्ला प्रशासन कार्यालय, भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई घरमै पुगेर नागरिकताकाे प्रमाणपत्र प्रदान गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ की सुप्रिना श्रेष्ठले घरमै आइपुग्नुभएकी कार्यालय प्रमुख रुद्रादेवी शर्माको हातबाट नागरिकता पाउनुभयाे । शर्मा आफैँ नागरिकता प्रमाणपत्र लिएर उहाँको निवास पुग्नुभएको थियो ।
कार्यालय आउन कठिनाइ हुने हुँदा जिल्ला प्रशासन कार्यालयले घरमै पुगी नागरिकता प्रमाणपत्र प्रदान गर्दै आएको जानकारी गराउँदै यसबाट परिवारजनमा राज्यप्रति सकारात्मक भाव पैदा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अपाङ्गता भएका नागरिकलाई कार्यालयमा ल्याउन समस्या भएको स्मरण गर्नुभयाे ।
उहाँसँग सहायक प्रजिअ माधवप्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडालगायत नागरिकता फाँटका कर्मचारी समेत सहभागी हुनुहुन्थ्यो । उहाँहरु कार्यालय समय सकिएपछि सेवामा खटिनुभएको थियो । यसअघि पनि सूर्यविनायक नगरपालिकाका २ जना अपाङ्गता भएका नागरिकले घरबाटै सेवा पाउनुभएको थियो ।
उक्त अवसरमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले वडाले आवश्यक समन्वय गरी अपाङ्गता भएका नागरिकलाई नागरिकता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
सुप्रिनाकी आमा सुशीला श्रेष्ठले घरमै आएर नागरिकता दिएकोप्रति प्रजिअ शर्मा नेतृत्वको टोलीलाई धन्यवाद व्यक्त गर्दै अन्य निकायले समेत अपाङ्गता भएकाहरुको समस्या बुझिदिएर सेवा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।