• १० मंसिर २०८१, सोमबार

चितवनमा मनाइयो तमु ल्होसार

blog

शान्ता अधिकारी 

चितवन, पुष १५ गते । चितवनका गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) वर्गलाई  बिदाइ र ‘हि ल्हो’ (बिरालो वर्ग) वर्गलाई स्वागत गर्दै शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । हरेक पुष १५ लाई गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । गुरुङ भाषामा तमू भनेको गुरुङ हो भने ल्होसार भनेको नयाँ वर्ष हो ।

तमु ल्होसारको अवसर पारेर तीन दिन अघिदेखि विविध कार्यक्रम गर्दै आएको तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदले भरतपुर २ मा रहेको तिनखोले गुम्बामा विशेष कार्यक्रम गरी कार्यक्रम समापन गरेको हो । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा अघिल्लो दिन आयोजित विभिन्न खेलकूदका विजयीहरुलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण गरिएको थियो । जातजाति र संस्कृति नेपाल र नेपालीको गहना भएको बताउँदै महानगर प्रमुख दाहालले संस्कृतिको संरक्षण गर्नु आम नेपालीको दायित्व भएको बताउनुभयो । उहाँले नेपालको फरक संस्कृति र संस्कार यहाँको फरक पहिचान हो, भन्नुभयो । गुरुङ ल्होसार आदिवासी जनजाति गुरुङले नयाँ वर्षको रुपमा मनाउँदै आएको पर्व हो । 

ल्होसारको अवसरमा सोही स्थानमा जयबुद्ध अस्पताल प्रालिको संयोजकत्वमा निःशुल्क स्वास्थ्य परीक्षण तथा खुला रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

गुरुङ समुदायले १२ वर्गलाई वर्षको रुपमा मनाउने र गणना गर्ने गर्दछन् । मुसा वर्र्ग बाट शुरु हुने गणना, गाई वर्र्ग, बाघ वर्र्ग, बिरालो वर्र्ग, गिद्द वर्ग, सर्प वर्ग, घोडा वर्ग, भेंडा वर्ग, बादर वर्ग, चरा वर्ग, कुकुर वर्ग र मृग वर्ग गरी १२ वर्गमा गणना गरिन्छ ।