• ८ वैशाख २०८१, शनिबार

कामले बनाएको नाम

blog

त्रिभुवनचन्द्र वाग्ले

नेपालमा रहेका विभिन्न जातिमध्ये कुशवाडिया पनि एक हो, जसलाई आदिवासी जनजातिमा सूचीकृत गरिएको छ तर यो जातका बारेमा गहन आनुवंशिक अध्ययन भएको छैन । यिनका पुर्खा, प्राचीन बसोबास, सामाजिक तथा सांस्कृतिक मौलिकताबारे खास अध्ययन भएको देखिँदैन । 

यिनीहरू आफ्ना पुर्खा दक्षिण भारतबाट उत्तर हुँदै नेपालको भैरहवा प्रवेश गरेको विश्वास गर्छन् । झट्ट हेर्दा थारू जातिसँग मिल्दाजुल्दा  यिनीहरू थारूचाहिँ होइनन् । शारीरिक बनोट, अनुहार आर्य–मङ्गोल मिश्रित देखिन्छ तर यिनीहरू आफूलाई हिन्दु÷आर्य मान्दछन् ।  

कुशवाडिया जातीय नाम नै कामबाट बनेको देखिन्छ । यिनीहरूलाई कुशबन्धिया पनि भनिन्छ । कुशबन्धियाबाट कुशवाडिया भएको भन्नेहरूका अनुसार कुश÷कुच (कुचो), बन्धिया (बाँध्ने) कुचो बाँध्ने जातिका रूपमा यिनीहरूलाई चिन्न सकिन्छ । यिनीहरूका केही मुख्य काममध्ये अम्रिसोको कुचो बनाएर बेच्नु पनि एक हो । काँसबाट ढकिया, डालो, थाँक्रो, नाङ्लो, गुन्द्री, कचटी (चट्टाई), दाम्लो डोरी, नाम्लोजस्ता घरायसी सामग्री तथा पछि आएर फूलदानी, मायाको चिनोजस्ता सजावटका सामान बनाउनु यिनीहरूको मुख्य काम भएको छ । यस्तै कुश÷काँसको जरा वा डाँठबाट काइँयो बनाउने भएकाले पनि यिनीहरू कुशवाडिया कहलाइएका हुन सक्छन् । 

यिनीहरूलाई पत्थरकट्टा पनि भनिन्छ । ओखल, जाँतो, सिलौटो, लोहोरो, खलबच्चा (औषधि पिन्ने) जस्ता ढुङ्गाका सामग्री बनाउने, ढुङ्गामा चित्र तथा अक्षर कुँद्ने, घरका गाह्रोका लागि ढुङ्गाको आकारप्रकार काँटछाँट गर्ने जस्ता कामका कारण यिनीहरू पत्थरकट्टा भएका हुन सक्छन् । यसैकारण यिनीहरूलाई शिल्कट पनि भनिएको हो, शिलाकट्टा अर्थात् ढुङ्गा काट्ने । 

यिनीहरूमध्येका केहीले आफूलाई ‘कुछबन्धिया’ पनि भन्छन्, जसअनुसार यिनीहरू लामो समय राजा, रजौटाको दलनमा परेका थिए । दलन सहन नसकेर जङ्गलतिर परेर काँस, कुश, बाँस तथा ढुङ्गाको काम गर्न थाले । यस्तो काममा कसैको रोकतोक हुँदैनथ्यो । यसर्थ उनीहरूले ‘कसैको बन्धन नभएका’ भनेर आफूलाई ‘कुछ बन्धिया’ जाति बनाए । 

स्वतन्त्र रूपमा सिकार खेल्न र जीवजन्तु मार्न सक्ने भएकाले यिनीहरूलाई मरैया पनि भनिने विश्वास गरिन्छ । समय क्रममा छुट्टाछुट्टै स्थानमा बस्न थालेकाले र अलग अलग अनि विविध पेसामा आबद्ध भएकाले यिनीहरूको पहिचानमा भिन्नता आएको देखिन्छ ।   

यिनीहरूमा करिब एक जाति थर प्रचलित छ । कतिपयले थरका आधारमा यिनीहरूको जातीय नामकरण गरेका पनि छन् भने कतिपयले थरलाई नै छुट्टै जात भन्ने गरेका छन् । उखार, कटवा, कोरी मरैया, सङ्कट, भैँसजस्ता केही प्रचलित थर रहेका यिनीहरू आफ्नो गोत्रका बारेमा स्पष्ट छैनन् । यिनीहरूलाई कुशवाडिया, कुच÷कुछ बन्धिया, कुछबन्धिया पत्थरकट्टा, मरैया जे भने पनि यी सबै कामले बनाएका जातीय नाम अर्थात् पहिचान हो भन्न सकिन्छ ।   

पर्याप्त आनुवंशिक अध्ययन नभएकाले यिनीहरूको जातीय पहिचानबारे अनुमान मात्र लगाउनुपर्ने अवस्था छ । यिनीहरू कामका सिलसिलामा अस्तित्वमा आएका हिन्दुकुश क्षेत्रका आर्य–मङ्गोल जाति हुन् भन्ने प्रारम्भिक निष्कर्षमा भने पुग्न सकिन्छ । नेपाली समाजमा कामको आधारमा जात निर्धारण गर्ने प्रचलनको अवशेष अहिले पनि पाइन्छ । 

जात समाजले बनाएको खुकुलो सङ्गठन हो । यो समयसापेक्ष परिवर्तन हुने सामाजिक अवधारण मानिएको छ तर प्रजाति लामो समय वातावरणसँगको अनुकूलनता, अन्तरघुलन, बाँच्नका लागि गरिएका सङ्घर्ष तथा प्राकृतिक चयनबाट विकसित र सहजै परिवर्तन नहुने वैज्ञानिक अवधारणा हो । कुशवाडियाहरूबारे यही धारणासहित थप अध्ययनको खाँचो छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा नेपालका आदिवासी जनजाति नामक पुस्तकमा यस जातिबारे एक अनुच्छेद परिचय दिइएको छ, जसले यस जातिबारे पर्याप्त जानकारी दिन सक्दैन । 

भैरहवाबाट बुटवल हुँदै बाँके बर्दियासम्मका तत्कालीन घनाजङ्गलमा यिनीहरू फैलिएको देखिन्छ, जतिखेर यी क्षेत्र जङ्गली स्रोत र वन्यजन्तुका लागि अनुकूल थिए । नेपालगञ्जको राँझा विमानस्थलको छेउछाउ, इन्द्रपुर, सोहनपुर बर्दियाको गुलरिया, मैनापोखरा, हरद्वार, मथुरा बुटवल र भैरहवाका केही क्षेत्रमा यिनीहरूको बसोबास रहेको लेखक शुक्रऋषि चौलागाईंले आफ्नो पुस्तक ‘पहिचान’ मा उल्लेख गरेका छन् । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार आदिवासी जनजातिमा सूचीकृत यो जातिलाई लोपोन्मुख समूहमा राखिएको छ । राष्ट्रिय जनगणना– २०५८ मा यस जातिलाई कुशवाडिया÷ पत्थरकट्टा भनी उल्लेख गरेको छ । त्यतिखेर यसको जनसङ्ख्या पाँच सय ५२ थियो तर २०६८ को जनसङ्ख्यामा भने तीन हजार १८२ देखाइएको छ । तराई र भित्री मधेशमा रहेका भनी विश्वास गरिएका यिनी हिमालमा पनि ११० जना छन् । 

यिनीहरूले अवधी भाषिका प्रयोग गर्छन् । हिन्दी र अवधी भाषिकाले गर्दा छुट्टै भाषा जस्तो देखिए पनि उच्चारणगत भिन्नताले हिन्दी र अवधीबाटै यिनीहरूका केही मौलिक शब्द बनेको देखिन्छ । आर्य–मङ्गोल अनुहारका यिनीहरूको सामाजिक तथा सांस्कृतिक जीवन हिन्दु परम्परामा आधारित छ । चाडबाड, रीतिरिवाज, पूजापाठ गर्ने विधिमा स्थानीय विधिगत भिन्नता भएता पनि मूलतः हिन्दु विधि र संस्कार मान्दछन् । 

देवीदेवताका लागि यिनीहरूले आफ्नै थान बनाएका हुन्छन् । मसौनियालाई कुलदेवता मान्ने यिनीहरू प्रकृति पूजक पनि छन् । सुँगुर काटेर देवपूजा गर्छन् । छोराको जन्मलाई विशेष महìव दिन्छन् । जन्मेको दुई वर्षपछि देवीदान वा कुलदेवताको थानमा लगेर छोराको पहिलो कपाल काट्ने चलन छ । टुप्पी राखेर मुन्डन गरिन्छ । यो सबै हिन्दु विधिअनुसार हुन्छ । यस अवसरमा गच्छेअनुसार आफन्त बोलाई भोज गरिन्छ । 

यिनीहरूका बालविवाह प्रचलित थियो तर अहिले हट्दैछ । सामान्य रूपमा मागी विवाह हुन्छ । केटी माग्न जाँदा केटा पक्षले गच्छेअनुसार केही नेग (नगद उपहार) दिनुपर्छ । त्यस्तो उपहारमा थप गरी केटी पक्षले केटा पक्षलाई फिर्ता गर्नुपर्छ । विवाहका तरिका, मण्डप, दिन÷साइत सबै हिन्दु विधिअनुसार हुन्छ । 

यिनीहरूले शव गाड्ने गर्छन् तर क्रमशः यस्तो परम्परामा स्थानअनुसार भिन्नता आएको छ । कसैले जलाउने पनि गरेका छन् । पुरुष  मरेमा १० र महिलाका लागि नौ दिन सुतक लाग्छ । किरिया बस्नेले जाँड, रक्सी तथा मासु नखाए पनि अरूले खान्छन् । मृतकका छोरा, भाइले केशमुण्डन गरी सेता कपडामा किरिया बस्छन् । कपाल र जुङ्गा दाह्री काट्ने सामाजिक विधि छ । बाबु हुने व्यक्तिले जुङ्गा काट्न हुँदैन । सुतक परेपछि धोबीद्वारा धार्मिक विधिअनुसार तयार गरिएको जल सेचन गरी घरलाई पवित्र बनाइन्छ । 

आर्थिक अवस्था कमजोर भएका यिनीहरूले पशुपालन (खासगरी सुँगुर, कुखुरा, हाँस), रक्सी बनाएर बेच्ने, खेती गर्ने गरेका छन् । विगतमा भारतको शङ्करगढतिर ढुङ्गाको परम्परागत काममा जाने यिनीहरू हाल अन्यत्र पनि रोजगारीका लागि जाने गरेका छन् । केहीले सरकारी र गैरसरकारी संस्थामा काम पाएको पनि देखिन्छ ।