कोकिला ढकाल
इलाम, कात्तिक १५ गते । बिहीबारदेखि परेको पानीले सडक अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्काल सञ्चालन गर्न नेपाली सेनाको टोली मर्मतमा जुटेको छ ।
आज इलाममा लोकसेवा आयोगको परीक्षा पनि परेकाले परीक्षार्थीलाई सहज गराउन विहानैदेखि सडक डिभिजन कार्यालयसहित नेपाली सेना पनि सडक मर्मतमा खटिएको हो ।
ठूला सवारीलाई सञ्चालन गराउने अवस्था नभए पनि आज दिनभरिका लागि साना सवारी सञ्चालन गराउन मर्मतको काम भइरहेको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो ।
यो खण्डमा मर्मतपछि हिजो साँझसम्म साना यातायातलाई जिल्ला प्रशासन कार्यालय इलामले सञ्चालनको अनुमति दिएको थियो । राति बन्द गरिएको सडक रातिको पानीपछि पुनः भासिएको र धाँजा फाटेको कारण आज विहानैदेखि फेरि मर्मत थालिएको हो ।
मेची राजमार्गको यो खण्ड अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुुङ जिल्ला प्रत्यक्ष प्रभावित हुने गरेको छ । यता यो सडकको विकल्पमा रहेको सिमल गोलाइ तिल्केनी सडक पनि बन्द छ ।
यो मार्गबिचमा पर्ने जोगमाई खोलामा हालिएको ह्युुमपाइपको बाटो पनि बाढीले बगाएपछि यो सडक बन्द भएको हो । खोलामा बाढी आइरहेकाले यो सडकलाई पुनः सुुचारु गर्न समय लाग्ने डिभिजन प्रमुख भट्टराईले जानकारी दिनुुभयो ।