हिन्दु वैदिक सनातन धर्म शास्त्रभित्र अनेकौँ आश्चर्यपूर्ण कथा छन् । जुन बुझ्न पनि कठिन छ र सत्य हुन् वा होइनन् भन्न पनि कठिन छ । ती आश्चर्य, अलौकिक, अनौठो र विश्वास नलाग्ने खालका पनि छन् । हुन त ईश्वरीय गुण, धर्म र व्यवस्था चामत्कारिक भएको पाइन्छ ।
सृष्टि नै अलौकिक भएको हुँदा पत्याउन पनि पर्छ । परम पुरुषका कथा पुराणमा धेरै छन् । त्यसलाई व्याख्या गर्न लाग्ने हो भने हजारौँ वर्ष लाग्न सक्छ । वेद र उपनिषद्का वचनमा आधारित ती कथा केही तथ्यपूर्ण भए पनि कुनै कुनै अपत्यारिला हुनु स्वभाविक छ । त्यस्तै अनौठा, पत्यार नलाग्ने, आश्चर्यपूर्ण र रहस्यमय कथाहरूमध्ये यहाँ सात आश्चर्यका तथ्यगत कुराको विश्लेषण यस प्रकार छ :
१. कल्पवृक्ष
वेद र पुराणहरूमा कल्पवृक्षको सम्बन्धमा अनेक आश्चर्यमय र रहस्यपूर्ण कथा उल्लेख भएका छन् । त्यो वृक्ष समुद्र मन्थन गर्दा निस्केको थियो । समुद्र मन्थनबाट प्राप्त भएको यो वृक्ष देवताका राजा देवराज इन्द्रलाई दिइयो र इन्द्रले यसको स्थापना स्वर्गको ‘सुरकानन वन’ मा गरेका थिए । पृथ्वीमा त्यो स्थानको परिकल्पना हिमालयको उत्तरी भूभाग कैलाश मानसरोवर सिद्ध क्षेत्रलाई मानिन्छ । कल्पवृक्ष स्वर्गको एक विशेष वृक्ष हो ।
पौराणिक धर्मग्रन्थहरू र हिन्दु मान्यताअनुसार यस वृक्षका मुनि बसेर जसले जे इच्छा गर्दछ, त्यो इच्छा पूर्ण हुन्छ । किनभने यो वृक्ष जे चितायो त्यो पूरा गर्ने वृक्षका रूपमा मानिएको छ । वृक्षमा अपार सकारात्मक शक्तिको भण्डार रहेको मानिन्छ । त्यसैले वृक्षमा आड लिने जोकोहीको पनि चिताएको कुरा कल्प–कल्पसम्म पूरा हुँदै जाने भएको हुँदा कल्पवृक्ष भनियो । यो वृक्ष अनेकौँ कल्पसम्म पनि बाँचिरहने भएकाले त्यसो भनिएको हो ।
कल्पवृक्षको अर्थ हुन्छ, जुन अनेक कल्पसम्म जीवित रहन्छ । अर्थात् अनेकौँ कल्पसम्म जीवित रहने वृक्ष । तर अब प्रश्न के उठ्छ भने के साँच्चै यस्तो कुनै वृक्ष थियो वा छ त ? यदि थियो भने आज पनि त्यो वृक्ष हुनुपर्ने हो, किन भएन ।
त्यो त अनेक कल्पसम्म जीवित रहने वृक्ष हो । कल्प भनेको धेरै लामो समय हो । यदि यस्तो कुनै वृक्ष छ भने त्यो कस्तो होला ? या यो एक कल्पना मात्र हो कि छ भने यसका के फाइदाहरू छन् ? यद्यपि केही मानिसले पारिजातको वृक्षलाई कल्पवृक्ष मानेका छन् । केही विद्वान्ले कल्पवृक्ष भनेको पीपलको रुख भनेका छन् तर अधिकतर मान्छे यो तथ्यसँग सहमत भएको देखिँदैन ।
ऋषिमुनिहरूको वचन, पुराणका कथाले भनेअनुसार तथा सिद्ध गुरुहरूको भनाइलाई गहिराइमा गएर चिन्तन गर्ने हो भने कल्पवृक्ष भनेको पृथ्वी हो भन्न सक्छौँ । किनकि सृष्टिकर्ता ब्रह्मालाई मानिन्छ । ब्रह्माको आयु निर्धारण कल्पमा गरिएको छ । पृथ्वीलाई ब्रह्माको रूपमा लिने हो भने कल्पवृक्ष भनेकै पृथ्वी हो । यो पृथ्वी यस्तो छ यहाँ जसले जे चाहन्छ त्यो परिश्रमी व्यक्तिलाई प्राप्त हुन्छ । पृथ्वीको आयु पनि शास्त्रीय हिसाबले र वैज्ञानिक खोजलाई लिने हो भने धेरै लामो छ ।
२. कामधेनु गाई
कामधेनु गाईको उत्पत्ति पनि समुद्र मन्थनबाटै भएको थियो । यो एक चमत्कारी गाई थियो । जसको दर्शन मात्रैले पनि सबै प्रकारका दुःख–पीडा हट्ने भनिएको छ । कामधेनु गाईले अन्न चाहे अन्न, दूध चाहे दूध अर्थात् जे चाह्यो त्यो दिन्थिन् । दैवीय शक्तिहरूले सम्पन्न यो गाई जसको साथमा हुन्थ्यो, उसलाई चामत्कारिक लाभ मिल्दथ्यो । यो गाईको दूध अमृत समान हुन्थ्यो । यो गाई वशिष्ठमुनिसँग थियो । वशिष्ठ वनमा बसेका एक साधु फकिर थिए । उनको साथमा त्यो गाईबाहेक अरू कुनै वस्तु थिएन । उनको साथमा कामधेनु गाई भएका कारण उनले कैयौँ राजा, भक्तजन र राजाका सैनिकलाई पाहुना लाग्न आएको समयमा भोजनले तृप्त पार्न सकेका थिए । त्यही कामधेनु गाईको विषयलाई लिएर विश्वामित्र र वशिष्ठको झगडा भएको थियो । त्यही झगडाका कारण विश्वामित्र राजाबाट ब्रह्मर्षि भएका थिए ।
गाई हिन्दु धर्मावलम्बीहरूको सबभन्दा पवित्र जनावर मानिन्छ । गाईलाई माताका रूपमा पनि लिइन्छ । गाईको शरीरमा सम्पूर्ण देवताको बास रहेको मानिन्छ । यस संसारमा गाईको धेरै प्रकारका प्रजाति छन् । प्रारम्भिककालमा एकै प्रजातिका गाई भएको विश्वास गरिन्छ । जसमध्ये कामधेनुलाई विशेष शक्तिसम्पन्न गाईका रूपमा लिने गरिन्थ्यो ।
लगभग दस हजार वर्षपूर्व गुरु वशिष्ठले थुप्रै गाईको पालन गरेका थिए । उनले नै गाईका नयाँ नयाँ प्रजाति बनाएको मान्यता रहिआएको छ । तिनको नाम कामधेनु, कपिला, देवनी, नन्दनी, भौमा आदि थिए । वशिष्ठकहाँ कामधेनु भएका कारण उनी केही नभएर पनि सर्वसम्पन्न थिए ।
एक समय उनको कुटीमा विश्वामित्र राजा सयौँ सैनिकसहित पाहुना लाग्न गए । त्यतिबेला वशिष्ठले ती विश्वामित्र र सबै सैनिकलाई त्यही कामधेनुको कृपाले तृप्त पारेका थिए । विश्वामित्रले वशिष्ठसँग त्यो गाई मागे तर वशिष्ठले नदिएका कारण रिसाएर उनले कामधेनुका लागि गुरु वशिष्ठसँग युद्धसमेत गरे । त्यही कामधेनु लुट्नका लागि अन्य राजाले कैयौँ पटक वशिष्ठसँग युद्ध गरेका थिए तर उनले कामधेनु गाई कसैलाई पनि दिएनन् ।
गाईको यस झगडामा गुरु वशिष्ठका सय पुत्र मारिएका थिए । कामधेनु गाई एक साङ्केतिक जनावर हो । वास्तवमा त्यस्तो गाई संसारमा हुन पनि सक्छ र नहुन पनि सक्छ । कामधेनु गाई यथार्थमा पृथ्वीलाई भनिएको हुनसक्छ । किनकि पृथ्वी वा उब्जाउ जमिन नै कामधेनु गाई हो ।
३. तेत्तिस कोटि देवता
हिन्दु धर्मभित्र ३३ कोटि देवताको वर्णन पाइन्छ । ३३ कोटि भन्नाले कसै कसैले तेत्तिस करोड भन्ने गरेको पनि सुनिन्छ । कोटिको अर्थ ‘करोड’ होइन ‘प्रकार’ हो । यसरी हाम्रा देवता ३३ प्रकारका रहेछन् । यो एक अनौठो कुरा हो ।
३३ प्रकारका देवताको वर्गीकरण यस प्रकार छ– १२ आदित्य (सूर्य, मित्र, खग, भाष्कर, रवि, भानु, पुष्य, आदित्य, सविता, मरिचि, अर्क, हिरण्यगर्भ), आठ वसु (पृथ्वी, वरुण, अग्नि, वायु, आकाश, सूर्य, चन्द्रमा र नक्षत्र), ११ रुद्र (कपाली, पिङ्गल, भीम, विरुपाक्ष, विलोहित, शस्त्र, अजपाद, अहिरवुध्य, शम्भु, भव र चन्द) र दुई अश्विनी कुमार (सूर्य र संज्ञाका दुई पुत्रः धर्म र विवस्वान मनु) ।
४. गाईको सूर्यकेतु नाडी
गाईको पिठ्युँमा रहेको ढाडको हाडमा अवस्थित सूर्यकेतु नाडीले हानिकारक विकिरणलाई रोकेर वातावरणलाई स्वच्छ बनाउँछ भन्ने मान्यता छ । यो पर्यावरण शुद्धिकरणका लागि पनि लाभदायक छ । त्यसैले गाईको वरपर भूतप्रेत र गलत विचार आउँदैन भनिन्छ । यही कारण पूर्वजहरूले गोठधूप गर्ने चलन पनि चलाएका थिए ।
अर्कोतिर सूर्यकेतु नाडी सूर्यको सम्पर्कमा आउँदा यसले स्वर्ण धातु उत्पादन गर्दछ भनिएको छ । गाईको शरीरबाट उत्पन्न यो सुन गाईको दूध, मूत्र तथा गोबरमा पाइने भएकाले गाईको दूध वा मूत्र खानाले शरीरमा स्वर्ण पुग्दछ । त्यस्तै गोबरको माध्यमबाट खेतमा पनि स्वर्ण पुगी अन्नमा सुनको मात्रा बढ्छ । हाम्रो शरीरलाई चाहिने अष्टधातुमध्ये स्वर्ण धातु सबैभन्दा महìवपूर्ण छ । त्यसैले आयुवेदाचार्यहरूले कतिपय रोगीलाई स्वर्ण भस्म दिने गर्दछन् ।
पञ्चगव्य गाईको दूध, दही, घिउ, मूत्र र गोबरबाट बनाइन्छ । पञ्चगव्य धेरैजसो रोग निवारणमा लाभदायक हुन्छ । गोमूत्रबाट अल्सर, क्यान्सरजस्ता कैयौँ जटिल रोग निको हुने मान्यता रहिआएको छ । पञ्चगव्यको सेवनले शरीरको रोग निरोधक क्षमता बढाउने गर्दछ तर गाई वनमा चरेको हुनुपर्छ । अचेल बनावटी खाद्यवस्तु खुवाएका गाईको गोमूत्र वा दूधमा त्यो औषधीय गुण ज्यादै कम हुन्छ ।
५. कैलाश पर्वत, सिद्धाश्रम र देवात्मस्थान
मुण्डकोपनिषद्का अनुसार सूक्ष्म–शरीरधारी दिव्य आत्माहरूको एउटा आश्रम छ । तिनीहरूको केन्द्र हिमालयको उत्तराखण्डमा अवस्थित छ । यसलाई देवात्मा हिमालय भनिन्छ । बद्री विशाल पर्वतसँगका हिमालयलाई नै देवात्मास्थान भनिएको हो कि भन्ने चर्चा गरिन्छ । तर यसमा खोज अवश्य छ । ती हिमालयका दुर्गम क्षेत्रमा स्थुल–शरीरधारी व्यक्ति सामान्यतया जान सक्दैनन् । आफ्नो श्रेष्ठ तपस्या र कर्मका अनुसार सूक्ष्म–शरीरधारी आत्मा त्यहाँ प्रवेश गर्न सक्दछन् ।
जब–जब पृथ्वीमा धर्मसङ्कट पर्छ र अधर्म बढेर जान्छ, तब इमानदार र श्रेष्ठ व्यक्तिको सहायता गर्नका लागि तिनीहरू पृथ्वीमा अवतरित हुन्छन् । उच्चकोटिका देवता, यक्ष, गन्धर्व र सिद्ध पुरुषको निवास यसै क्षेत्रमा हुने गरेको पाइन्छ । प्राचीनकालमा हिमालयमै देवता बस्दथे । त्यहीँ ब्रह्मा, विष्णु र शिवको निवासस्थान थियो र त्यहाँ नै नन्दनकानन वनमा इन्द्रको राज्य थियो भनिन्छ । इन्द्रको राज्यसँगै गन्धर्वहरू र यक्षहरूको पनि राज्य थियो । स्वर्गको स्थिति दुई स्थानमा बताइएकोः पहिलो उत्तराखण्ड हिमालय जहाँ बद्री, केदार, गोसाइँकुण्ड, गङ्गोत्री, यमुनोत्री र अमरनाथको गुफा छ तथा अर्काे मानसरोवर र कैलाश पर्वतभन्दा पनि कैयौँ योजन माथि सिद्धाश्रम बताइएको छ ।
६. पाण्डव र कौरवहरूको जन्म रहस्य
महाभारतमा पाण्डव र कौरवको कथा बहुचर्चित छ । उनीहरूको जन्म, लीला र कथाको विषयवस्तु तथा पात्रहरू पनि रहस्यमय नै मान्नुपर्छ । कुन्तीले कुमारी हुँदै कर्ण, युधिष्ठिर, अर्जुन, भीम जन्माइसकेकी थिइन् । यिनले पाण्डुसँग विवाह गरिन् । पाण्डुका अर्की पत्नी माद्रीबाट नकुल र सहदेव जन्मे । यसरी पाण्डुका पाँच पुत्र भएका थिए । जसलाई पाँच पाण्डव भनियो ।
महाभारतमा उल्लेख भएअनुसार धृतराष्ट्र र गान्धारीका ९९ पुत्र र एक पुत्री थिइन् । कुरु वंशमा उत्पन्न भएका कारणले यी कौरव कहलिए । गान्धारी जब गर्भवती भएकी थिइन् तब धृतराष्ट्रले एक दासीसँग सहवास गरेका थिए । जसबाट युयुत्सु नामक पुत्रको जन्म भयो । ती युयुत्सुसहित धृतराष्ट्रका सय पुत्रलाई कौरव भनियो । यसरी कौरव सय जना भए । सबै कौरवमध्ये दुर्योधन
सबैभन्दा जेठा थिए । युयुत्सु ऐन मौकामा कौरवहरूका सैनिकलाई छोडेर पाण्डवहरूको सैनिकमा सम्मिलित भएका थिए ।
गान्धारीले वेदव्यासलाई सेवा गरेर धेरै खुसी पारेकी थिइन् । जसले महर्षिबाट पुत्रवती हुने वरदान उनलाई प्राप्त भयो । गान्धारीले गर्भधारण गरिसकेपश्चात् दुई वर्ष व्यतित हुँदासम्म पनि सन्तान जन्म भएको थिएन । यसबाट विक्षिप्त भएकी गान्धारीले क्रोधवश आफ्नो पेटमा जोडले मुक्का प्रहार गरिन् जसबाट उनको गर्भ तुहियो ।
दूरदर्शी वेदव्यासले यस घटनाका बारेमा तुरन्तै थाहा पाएर र उनले गान्धारी भएको ठाउँमा आएर भने– “गान्धारी ! तिमीले धेरै गलत काम ग¥यौ । मैले दिएको वर कहिल्यै मिथ्या जाँदैन । अब तिमी शीघ्र सयवटा कुण्ड तयार गराउ र तिनलाई घृतले भरिदेउ ।”
वेदव्यासले गान्धारीको गर्भबाट खसेको मांसपिण्डमा अभिमन्त्रित गरेको जल छर्के । महर्षिको मन्त्रको प्रभावले त्यो खसेको पिण्ड बूढीऔँलाको माथिल्लो भाग बराबरका सयवटा टुक्रा हुन गयो । वेदव्यासले ती टुक्रालाई गान्धारीले बनाएका सयवटा धृतकुण्डमा राखिदिए र ती कुण्डलाई दुई वर्षपश्चात् मात्र खोल्ने आदेश दिएर आफ्नो आश्रमतिर फर्किए ।
दुई वर्षपछि सबभन्दा पहिलो कुण्डबाट दुर्योधनको उत्पत्ति भयो । अनि बाँकीका कुण्डबाट धृतराष्ट्रका अन्य शेष ९९ पुत्रको जन्म भयो । गान्धारीबाट दुशला नामक कन्याको जन्म पनि भएको थियो ।
अब प्रश्न उठ्छ तुहिएको त्यो मांसपिण्डबाट सय पुत्र कसरी जन्मिए ? के त्यस्तो घटना साँच्चै भएको थियो होला त ? कल्पना पनि गर्न नसकिने कार्य कसरी सम्भव भयो होला त ? अचेल टेस्ट ट्युबबाट बच्चाको जन्म भएको घटना सुनिन्छ, क्लोन विधिका कुरा सुनिन्छ तर एकैपटक ९९ पुत्र र त्यसमा थप एक कन्याको जन्म कसरी भयो होला ? साँच्चै यसलाई एक रहस्यमय घटना मान्नु पर्छ ।
७. अमृत कलश
प्राचीनकालमा देवता र दानवबीच समुद्र मन्थन भएको थियो । त्यो मन्थन क्रिया हुँदा अनेकौँ आश्चर्यपूर्ण वस्तु निस्केका थिए । तीमध्ये मन्थनको क्रममा अमृत कलश पनि निस्केको थियो । जसलाई पिएर देवताहरूले अमरत्व प्राप्त गरेका थिए ।
यदि समुद्रबाट त्यस्तो कुनै रस त्यतिबेला निस्केको थियो भने त्यो अचेल किन निस्किँदैन ? त्यो समुद्रबाट नै निक्लेको होला वा अरू कुनै स्थानबाट होला ? अर्थात् समुद्र भन्नाले अर्को कुनै स्थान वा वस्तु पनि हुन सक्छ । मन्थन हुँदा अमृत कलश निस्कियो । त्यो कसले लिने वा त्यसभित्रको रस क–कसले खाने भन्ने विषयमा देव र दैत्यहरूका बीच भयङ्कर युद्ध भएको थियो ।
वास्तवमा अमृत रस निस्कनु एक रहस्यपूर्ण कथा नै हो । समुद्र मन्थनपछि धेरै आयुर्वेदाचार्यले यसको खोज गर्दै आएका छन् । तर पनि यकिन रूपमा त्यो अमृततŒव पाउन सकेका छैनन् ।