• १२ पुस २०८१, शुक्रबार

एसिडको दागलाई शक्ति बनाएँ : मुस्कान खातुन

blog

काठमाडौं, पुस १६ गते । अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्ड पाउने मुस्कान खातुन अहिलेसम्मकै कान्छीमध्ये एक र नेपालबाट पहिलो महिला हुनुहुन्छ । 

सानै उमेरमा देशको कानुन परिवर्तन गराउने क्षमता राख्ने व्यक्तिको रूपमा उहाँलाई अन्तर्राष्ट्रिय साहसी महिलाबाट सम्मान गरिएको हो । यस अवार्डले आफूलाई थप ऊर्जा र काम गर्ने हौसला प्रदान गरेको मुस्कान बताउनुहुन्छ । कानुन विषय लिएर काठमाडौं मोडेल कलेजमा कक्षा ११ मा अध्ययनरत खातुन महिलासँग सम्बन्धित सबै हिंसा अन्त्य गर्ने साहस लिँदै अगाडि बढ्दै हुनुहुन्छ ।   

खातुन भन्नुहुन्छ, “त्यसबेला मसँगै भएको साथीलाई बुबाको सम्पर्क नम्बर दिएर म बेहोस भएँछु । मैले आफ्नो आँखा खोल्दा आफूलाई अस्पतालको बेडमा पाएँ । त्यसपछि बल्ल म एसिड आक्रमणमा परेको मैले थाहा पाएँ ।”   

सानैदेखि डाक्टर बन्ने सपनालाई त्यागेर कानुन विषयतिर आकर्षित हुनुमा खातुनको छुट्टै विशेष स्वार्थ छ । आफूले भोगेको दर्दनाक घटनापछि महिला हिंसाविरुद्ध आवाज उठाउँदै आउनुभएका खातुनलाई नेपालमा न्याय पाउने व्यक्ति कमै रहेको महसुस गर्नुहुन्छ । जसकारण आफू एक अब्बल न्यायाधीश वा वकिल बनेर देशमा जघन्य अपराध गर्ने अपराधीलाई कठोर सजाय दिलाएर दिदीबहिनीलाई न्याय दिलाउनतिर अग्रसर रहने बताउनुहुन्छ । 

त्यो दर्दनाक घटना सम्झिँदा 

चार वर्षअघि बिहान ६ बजे विद्यालय जाने क्रममा खातुनमाथि एसिड प्रहार गरियो । कक्षा ९ मा पढ्दै गरेकी १४ वर्षीय खातुनलाई दुई व्यक्ति मिलेर एसिड खुवाउन असफल भएपछि मुखमा प्रहार गरेका थिए ।

घरबाट २० मिनेटको टाढा मुस्कानको विद्यालय छ । खातुनलाई विद्यालयका केही पुरुष समूहले जिस्काउने गर्थे र यही विषयमा खातुनका बुवाले तिनीहरूलाई गाली गर्नुभयो । त्यसपछिका ६ महिना भने खातुनको दिन समस्या र भन्झटबिनै बित्यो । तर त्यसपछिका दिनमा उहाँले भोग्नु परेको डरलाग्दो समस्याका लागि कसैले सोचेकै थिएनन् । 

मुस्कान भन्नुहुन्छ, “ती पुरुषले जिस्काउने गर्थे तर मलाई मन पर्दैनथ्यो । मैले बुवासँग भने, बुवाले सबै साथीभाइको अगाडि गाली गरेकोमा तीनको इगो हर्ट भएको हो । जसकारण मैले आफ्नो रुपको घमण्ड गरेको भन्ने भ्रम उनीहरूमा पर्न गयो । यसको सुन्दरतालाई कुरुप बनाउने उद्देश्यले ममाथि एसिड प्रहार गरेको हो । मलाई एसिड खुवाएर मार्ने योजना सफल नभएपछि मुखमा एसिड पोखिएको हो ।” 

आक्रमणपछिको पल सम्झिँदा मुस्कानलाई आज पनि डर लाग्छ । उहाँ भन्नुहुन्छ,“एसिड आक्रमणमा परिसकेपछि म आफैंलाई थाहा थिएन के भयो । एसिडको पोलाई र पीडा एकदमै बढी भयो । मेरो छाला पूरै कालो भइसकेको थियो जसलाई मैले हटाउने प्रयास गर्दा मासु टुक्राटुक्रा भएर झरिरहेको थियो ।”


खातुन भन्नुहुन्छ, “त्यसबेला मसँगै भएको साथीलाई बुबाको सम्पर्क नम्बर दिएर म बेहोस भएँछु । मैले आफ्नो आँखा खोल्दा आफूलाई अस्पतालको बेडमा पाएँ । त्यसपछि बल्ल म एसिड आक्रमणमा परेको मैले थाहा पाएँ ।” 

यसअघि मलाई एसिडको बारेमा केही ज्ञान थिएन । एसिड के होसम्म थाहा नभएको मलाई एसिड प्रहार भयो । वीरगञ्जमा एसिड आक्रमणको उपचार सम्भव नभएपछि मलाई कीर्तिपुर अस्पताल सारिएको हो । त्यहीँ आजसम्म पनि मेरो उपचार भइरहेको छ । 

“एसिड आक्रमण भएपछि निरन्तर रुपमा पानी हालेको भए अनुहार धेरै जल्ने थिएन”, उहाँ भन्नुहुन्छ, “वीरगञ्जदेखि काठमाडौंसम्म आइपुग्दा ममाथि एक थोपा पनि पानीको प्रयोग भएन जसले गर्दा एसिड मेरो भित्री हड्डीसम्म पुग्यो । पानी वा सफा दूधको प्रयोग गर्दा एसिडले छालाको भित्री भागसम्म पुग्न दिँदैन ।”

उपचारभन्दा औषधिको मूल्य बढी

आजको दिनसम्म पनि मुस्कानको उपचार चलिरहेको छ । “मेरो अनुहार पहिलेजस्तो हुन सक्दैन अब । सय प्रतिशतमा १४ प्रतिशतसम्म उपचार गरेर राम्रो बनाउन सकिन्छ । बाँकी एसिडको दाग जिन्दगीभरि नै रहिरहन्छ । एसिड आक्रमणको उपचार कसरी र कहिलेसम्म चलिरहन्छ भन्ने भन्न सकिन्न”, खातुनले भन्नुभयो ।

उहाँको औषधिको खर्च उहाँका बुवाले नै गर्नुहुन्छ र शल्यक्रिया खर्च भने राज्यले व्यहोरेको छ । 

एसिड पीडितको उपचार र शल्यक्रिया हरेक तीन तीन महिना र ६ महिनामा हुने गर्छ तर हरेक दिन प्रयोग गर्नुपर्ने औषधि निकै महँगो हुने खातुनको भनाइ छ । 

नेपालको कानुन फितलो

उहाँ भन्नुहुन्छ, “एउटा घटनामा न्याय पाउन नै दुई वर्ष लाग्छ त्यतिन्जेल त अर्को घटना पनि भइसक्छ । पीडामा परेको व्यक्ति बारम्बार अदालतमा जानुपर्ने, न्यायको लागि आवाज उठाइरहन पर्ने अवस्था छ ।

“१४ वर्षको उमेरमा अस्पतालको बेडमा तड्पिरहँदा म सोच्थेँ, नराम्रो घटना जुनसुकै समयमा जसलाई पनि हुनसक्छ, मानिसहरुले भन्ने गर्छन् हामी अर्को जन्म पनि लिन्छौं तर त्यो मलाई थाहा छैन । मेरो जे सपना छ, मलाई यही जन्ममा पूरा गर्नुछ ।” मुस्कान भन्नुहुन्छ ।

आफूसँग भएको घटनाले भन्दा बढी पीडा खातुनलाई नेपालको कानुनले दियो । उहाँ भन्नुहुन्छ, “म न्यायको अपेक्षा गर्थेँ । नेपालको कानुन यति धेरै फितलो छ कि म जस्ता हजारौं दिदीबहिनी, बालबालिका पीडित छन् । मसँग भएको घटना ममा नै अन्त्य होस् भन्ने मेरो चाहना थियो जुन पूरा गर्न मैले धेरै सङ्घर्ष गर्नुपरेको छ ।” 

अस्पतालको बेडबाट आवाज उठाउन सुरु गर्नुभएकी मुस्कानले बेडबाटै प्रधानमन्त्री केपी ओलीलाई चिट्ठी लेख्नुभयो । आफ्नो घटना र नेपालको कानुन परिवर्तन माग गर्नुभयो । जसको १५ दिनभित्र एसिड आक्रमणको कानुन कडा बनाउन पारित भयो । 

“पहिले एसिड आक्रमणमा परेका व्यक्तिको घाउचोट अनुसार अपराधीले सजाय पाउने व्यवस्था थियो, तर त्यतिले अपराधीको अपराध कम हुन सक्दैन”, उहाँ भन्नुहुन्छ, “हाम्रो अनुहार कुरुप बनाएर बन्द कोठामा जीवन बिताउन बाध्य बनाउन खोजेका हुन्, त्यसैले ती अपराधीलाई २० वर्ष जेल सजाय र सम्पत्ति रोक्का हुने व्यवस्थाको कानुन बनाउन सफल भएँ ।”

एसिडको दाग 

आफ्नो दागकै कारण समाजका अगाडि असुरक्षित महसुस गर्ने मानव अधिकारकर्मी खातुनले त्यही दागलाई शक्तिको रूपमा प्रयोग गर्नुभएको छ । 

“मैले त्यो घटनाको सकारात्मक पक्षलाई सोच्नुपर्छ भन्ने बुझेँ । यो घटनाकै कारण म आज विश्वभर चिनिएको छु,” खातुन भन्नुहुन्छ, “मैले यो दाग स्वीकारेर जीवनमा अघि बढ्ने प्रतिबद्धता जनाएँ र यसलाई आफ्नो शक्तिको रूपमा प्रयोग गरेँ ।”

मुस्कानका लागि जीवनमा हरेस नखानु, आफ्नो कमजोरीलाई शक्ति बनाएर अगाडि बढ्ने र जीवन अझैं रङ्गीन बनाउने उद्देश्य लिएर अघि बढिरहनु भएको छ । मुस्कान खातुनसँग गोरखापत्र अनलाइनका लागि सनम महर्जन, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो कुराकानी :