• १९ असोज २०८१, शनिबार

लुम्बिनीसँग पोखरा पराजित

blog

फाइल तस्बिर ।

काठमाडौं, पुस १२ गते । लुम्बिनी अल स्टारले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो ।

जितका लागि एक सय ३४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ रन बनाउनुभयो ।

शाड्ली भान शाल्कविकले ३१, उन्मुक्त चन्दले २२ र अनिल शाहले १९ र गुलसन झाले १० रन बनाउनुभयो । बलिङमा पोखराका विपिन खत्री र कुशल मल्लले दुई दुई तथा प्रतिश जिसी, अभिमन्यु मिथुन र जाहिर खानले एक एक विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले सर्वाधिक ६१ रन बनाउनुभयो । उस्तै उपुल थरंगाले ४२ रन जोड्दा अन्यले खेलाडीले दोहारो रन जोड्न सकेनन् ।

बलिङमा लुम्बिनीका शाड्ली भान शाल्कविकले तीन विकेट लिनुभयो । किशोर महतो र गुलसन झाले दुई दुई विकेट लिनुभयो । तेस्रो जितसँगै ६ अङ्क बनाएको लुम्बिनी शीर्षस्थानमा छ । तीनवटै खेलमा पराजित पोखरा अङ्कविहीन बन्दै अन्तिममा छ ।

पुस २७ गतेसम्म चल्ने प्रतियोगिताका ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।