• १५ वैशाख २०८१, शनिबार

क्लब विश्वकप फुटबल

३२ टिम खेलाउने निर्णयको विरोध

blog

म्याड्रिड, पुस ४ गते। फिफाका अध्यक्ष जियानी इन्फाटिनोले अबदेखि क्लब विश्वकप फुटबलमा ३२ टिम सहभागी गराउने निर्णयको स्पेनी फुटबल लिगले कडा विरोध गरेको छ। फिफाको यस निर्णयबाट रिसाएको स्पेनी लिगले आइतबार यसले राम्रोभन्दा बढी हानि पु-याउने जनाएको छ।

विश्वकप फुटबलमा फिफाले क्लब र खेलाडीहरूको सानो समूहलाई मात्र सहभागी गराउँछ तर व्यावसायिक फुटबलको कुरा गर्ने हो भने त्यहाँ थुप्रै व्यावसायिक लिग छन्, हजारौँ क्लब र खेलाडी छन्, जसले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका हुँदैनन्। फिफाले ४८ टिम सहभागी गराएमा व्यावसायिक फुटबलमा पार्ने प्रतिकूल प्रभावलाई बेवास्ता गरेको हुनेछ– स्पेनी क्लबको भनाइ छ। 

फिफा अध्यक्ष इन्फान्टिनोले सन् २०२५ देखि ३२ टिमको क्लब विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने बताएको थियो। तर स्पेनी लिगले बिनासूचना यसरी नयाँ अन्तर्राष्ट्रिय प्रतियोगिता घोषणा गर्नुले विश्व फुटबलको संरचना नै बिगार्ने जनाएको छ। यद्यपि फिफा अध्यक्ष इन्फान्टिनो यस प्रतियोगितालाई विश्वकप फुटबलजस्तै लोकप्रिय बनाउन चाहनुहुन्छ। स्पेनी लिग ३२ टिमको क्लब विश्वकप कप फुटबललाई रोक्न कानुनी प्रक्रियामा जाँदै छ।

अहिले क्लब विश्वकप फुटबल महादेशीय च्याम्पियनहरूबीच हुने प्रतिष्ठित प्रतियोगिता हो। यसमा सात टिमको सहभागिता रहन्छ। सन् २०२१ मा युरोपेली च्याम्पियन चेल्सीले क्लब विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो।

फिफा अध्यक्ष इन्फान्टिनोले मार्चमा चार टिमको मैत्री अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने योजना रहेको पनि बताउनुभएको थियो। फिफाले यसअघि नै कतार विश्वकप ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुने बताइसकेको छ। अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहनेछ। सन् २०१७ मै फिफाले ४८ टिमको विश्वकप खेलाउने निर्णय गरेको हो। 

फिफाको यस निर्णयलाई अहिलेसम्म पनि शङ्काको दृष्टिले हरिँदै छ। ४८ टिम भएमा विश्वकपमा ठूलो मानिएका र तुलनात्मक रूपमा कमजोर भनिएका टिमबीच निराश खेल हुने सम्भावना पनि छ। यद्यपि कतार विश्वकपमा मोरक्को, साउदी अरब, जापान, दक्षिण कोरिया, क्यामरुन, ट्युनिसियाजस्ता टिमले ठूला टिमलाई स्तब्ध पारेपछि अहिलेका लागि ४८ टिमको विश्वकप आयोजनालाई आलोचना गर्नेहरू चुप लागेका छन्। फिफाले आफ्ना प्रतियोगिताहरूको दायरा फराकिलो गर्नुमा आर्थिक कारण पनि छ। एपी