• २ कात्तिक २०८२, आइतबार

पालिका स्तरीय भलिबल : उपाधिमा भीरकोट र पुतलीबजार भिड्ने

blog

अर्जुन काफ्ले 
स्याङ्जा, कात्तिक २ गते ।
पालिका स्तरीय पुरुष भलिबलमा पुतलीबजार र भीरकोट नगरपालिका उपाधिका लागि भिड्ने भएका छन् ।

भीरकोट नगरपालिका –१ सिसौघारी खेलमैदानमा बयरघरी पिस युथ क्लबले असोज २३ गतेदेखि आयोजना गरेको चौथो बयरघारी रमाइलो मेलामा मुख्य आकर्षण बनेको यस प्रतियोगिताका सेमिफाइनल खेलमा भीरकोटले वालिङलाई र पुतलीबजार नगरपालिकाले बिरुवालाई समान ३–२ सेटमा पराजित गर्दै उपाधिका लागि भिड्ने पक्का भएको हो ।

रमाइलो मेलाको अन्तिम दिन कात्तिक २ गते आइतबार तेस्रो स्थानको खेल बिहान १० बजे र उपाधिको भिड्न्त १२ बजे हुने क्लबका अध्यक्ष रोशन गुरुङले बताउनुभयो ।

प्रतियोगिताको विजेताले एक लाख १५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७० हजार, तेस्रोले ४० हजार र सान्त्वना टोलीले ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने छन् ।

खेलमा सर्वोत्कृष्ट खेलाडीसहित उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर, लिब्रो, क्वीकर र सर्वरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।