इमान सिं राना
रामपुर (पाल्पा), कात्तिक २ गते । नवौं मण्डली कपको उपाधि मणिमुकुन्द भलिबल क्लव रुपन्देहीले जितेको छ । मामा भान्जा युनाईटेड क्वल, रामपुरलाई ३–१ सेट अन्तरले पराजित गर्दै मणिमुकुन्दले उपाधि चुमेको हो ।
खुल्ला क्लव स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लवले पहिलो, तेस्रो र चौथो सेट २५–१९, २५–१६ र २५–२१ अंक सहितको जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको हो । दोस्रो सेट मामा भान्जा युनाईटेडले जितेको थियो । यससंगै मामाभान्जा युनाईटेडले द्वितीय स्थानमा चित्त बुझाएको छ । गत असोज २९ देखि भएको प्रतियोगितामा निस्दी खेलकुद विकास समिति तृतीय भएको छ ।
तृतीय स्थान छनोट खेलमा होराइजन स्पोर्टस् क्लव बुटवललाई ३–१ सेटले पराजित गरेको थियो । पहिलो सेट होराइजन स्पोट्स क्लवले २५–२३ अंक सहित आफ्नो पक्षमा पारेको थियो । दोस्रो, तेस्रो र चौथो सेट निस्दीले २५–२०, २५–२३ र २५–१७ अंक सहित जितेको हो । प्रतियोगितामा विजेता समूह मध्ये प्रथम, द्वितीय, तृतीय र सानत्वनाले क्रमशः नगद एक लाख ५१ हजार रुपियाँ, एक लाख एक हजार रुपियाँ, ७१ हजार रुपियाँ र ३६ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मणिमुकुन्द भलिबल क्लवका रेशम विक बन्नुभएको छ । त्यस्तै उत्कृष्ट सर्भर मिलन चन्द, उत्कृष्ट डिफेन्डर मामा भान्जा युनाईटेडका राजन दर्लामी, उत्कृष्ट सेटर मणिमुकुन्द भलिबल क्वलका दिपेश कुँवर, उत्कृष्ट स्पाईकर मामाभाज्जा युनाईटेडका सञ्जु विक्रम शाह, उत्कृष्ट ब्लकर मणिमुकुन्द भलिबलका चिरन खड्का बन्न सफल भएको मण्डली स्पोट्स क्लवका अध्यक्ष अन्त प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । विद्यागत तर्फ उत्कृष्ट खेलाडीले नगद पाँच हजार र अन्य विद्यामा जनही दुई÷दुई हजार प्रदान गरिएको हो ।
दसैँ तिहार लगायतका पर्वहरुको अवसरमा मण्डली स्पोर्टस् क्लवको आयोजना र पूर्वखोला गाउँपालिकाको सहआयोजनामा भएको मण्डली कप सञ्चालन हुँदै आएको छ । मण्डली स्पोर्टस क्लवको खेल मैदान पूर्वखोला–१ सिलुवामा गत असोज २९ देखि कात्तिक १ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ६ वटा क्लवको सहभागिता रहेको थियो । प्रतियोगिताको अवसरमा कौरानाच, पञ्चेबाजासहितका झाँकी प्रदर्शनसँगै बृहत् सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।