अर्जुन कार्की
काठेखोला (बागलुङ), कात्तिक १ गते । ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोट नगरपालिकाले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा निसीखोला गाउँपालिकालाई २–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै गलकोटले उपाधि चुमेको हो ।
गल्कोटले पहिलो सेट २७–२५, तेस्रो सेट २५–२० र अन्तिम तथा पाचौ सेट २४–२२ ले जित्यो । निसीखोलाले दोस्रो सेट १५–२५ र चौथो सेट २६–२४ ले जितेको थियो ।
विजेता गलकोटले नगद दुई लाख रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता निसीखोलाले नगद एक लाख रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा काठेखोला गाउँपालिका तेस्रो भएको छ । शनिबार नै तेस्रो स्थानको लागि भएको खेलमा काठेखोलाले ढोरपाटन नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट १९–२५ ले गुमाएको काठेखोलाले दोस्रो सेट २५–१३, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२० ले जित्यो ।
तेस्रो भएको काठेखोलाले नगद ५० हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने चौथो भएको ढोरपाटनले २५ हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र गरेको छ ।
यस्तै, विधागत पुरस्कार तर्फपनि गलकोटले बाजी मारेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गलकोट नगरपालिकाका सुर्य विक घोषित हुनुभएको छ । उहाँले नगद १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
यस्तै, गलकोट नगरपालिकाका दिप्सन शाहि उत्कृष्ट ब्लकर, रेशम विक उत्कृष्ट सेटर र कृष्ण शेरचन उत्कृष्ट प्रशिक्षक, निसीखोला गाउँपालिकाका राजकुमार प्रतेल उत्कृष्ट सर्भर, मदन छन्त्याल उत्कृष्ट स्पाइकर, काठेखोला गाउँपालिकाका राजन भित्रिकोटी उत्कृष्ट लिब्रो र बरेङ गाउँपालिकाका दिप्सन श्रीस उदयमान खेलाडी घोषित हुनुभयो । उहाँहरुले नगद पाँच हजार रुपियाँ प्राप्त गर्नुभयो ।