फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक २ गते । नेपालीको दोस्रो ठुलो पर्व तिहार शनिबारबाट सुरु भएको छ । पर्यटन नगरी पोखरामा तिहारको रमझम देखिएको छ । दशकअघिसम्म ८० प्रतिशतसम्म फूल आयात गर्ने पोखरेलीको माग यसपालि स्थानीय फूलले नै धान्ने देखिएको छ ।
फूल खेतीमा स्थानीय आकर्षणसँगै स्थानीय सरकारको साथले पोखरा तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलमा आत्मनिर्भर हुने अवस्थामा आइपुगेको छ । पोखरा महानगरमा तीन सयभन्दा बढी कृषकले फूल खेती गरिरहेका छन् । महानगरमा तीन सय रोपनीमा फूल खेती रहेको महानगरको आर्थिक प्रशासन महाशाखाले जनाएको छ ।
फ्लोरिकल्चर एसोसियसन अफ नेपाल कास्की अध्यक्ष श्रीराम सुवेदी अहिलेको उत्पादनले यसपालिको तिहार स्थानीय फूलले नै धान्ने बताउनुहुन्छ । “यो वर्ष तिहारका लागि आवश्यक सयपत्री, मखमली फूल पोखराकै उत्पादनले धान्छ,” सुवेदीले भन्नुभयो, “व्यवसायीको उत्पादन राम्रो देखिएको छ, हामी उत्साहित छौँ ।”
यो वर्ष कास्कीमा करिब चार करोडको फूलको कारोबार हुने अध्यक्ष सुवेदीको अनुमान छ । व्यवसायीलाई उत्साहित बनाउन पोखरा महानगरले पनि बिउ र प्रविधिमा साथ दिएको छ । महानगरले दिएको अनुदानबाट फूल खेती गर्ने किसानको बारीमै पुगेर उत्पादनको अवस्थाबारे जानकारी र अनुगमन गर्न थालिएको छ ।
सँगसँगै, पोखरा बाहिरबाट आयात हुने र प्लास्टिकका फूलमा प्रतिबन्ध महानगरले प्रतिबन्ध लगाएको छ । महानगरले फूलको बजारीकरणका लागि पनि योजनाबद्ध प्रयास गरेको छ । आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया पोखरालाई फूलमा आत्मनिर्भर बनाउन बिउ, प्रविधिदेखि बजारीकरणसम्म सहयोग गरिरहेको बताउनुहुन्छ ।
महानगरले असारमै किसानलाई ५० प्रतिशत अनुदानमा बिउ र मल्चिङ प्लास्टिक सहयोग गरेको थियो । “व्यवसायीले अनुदान बिना पनि फूल खेती गरेका छन् । समग्रमा तीन लाख जति माला तयार यहीका फूलबाट तयार हुने अनुमान छ ।”
महानगरमा सामूहिक र व्यक्तिगत गरी तीन सयभन्दा बढी कृषक पुष्प व्यवसायमा आबद्ध छन् । उत्पादन राम्रो भए पनि बिक्री नभएर किसान निराश नहुन् भनी महागनरले समर्थन मूल्य तोकेर बिक्री नभएमा सो रकम दिने गरेको छ ।
यसपालि फूलको थुँगाको तौलका आधारमा मूल्य निर्धारण गरिएको छ । कडरिया भन्नुहुन्छ, “थुँगाको तौलका आधारमा १५ देखि २० ग्राममा प्रतिथुँगा पाँच रुपियाँ, १० देखि १५ ग्रामका लागि चार रुपियाँ र पाँचदेखि १० ग्रामसम्मलाई दुई रुपियाँ तोकिएको छ ।” ठुला थुँगाबाट बनेको माला एक सय ५०, मध्यमबाट बनेकालाई एक सय ३० र सानोबाट बनेकोलाई एक सय रुपियाँ तोकिएको छ । किलोमा तीन सयदेखि चार सय रुपियाँसम्ममा फूल बेच्ने तय भएको छ ।
महानगरले पोखरा २५ भन्दाबढी सयपत्री फूलका बिक्री स्थल तोकेको छ । पोखराको बगर, सङ्गमचोक, नदीपुर, काहुँ जाने चौतारी, बैदाम, सभागृह, बेगनास ताल, बिरौटा, हेमजा मिलनचोक, बुढीबजार, तालचोक लगायत ठाउँका किसान बजार र वडा कार्यालयमा महानगरले तोकेको मूल्यमा फूल बेचिने छ । कात्तिक ३ देखि ५ गते यी स्थानमा फूल कारोबार हुने तय छ ।