बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, पुस ४ गते । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा असहयोग गरेको भन्दै केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति महेश खरेललाई साधारणसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ।
शनिबारको बसेको पार्टीको बैठकले आचार्य, लामा र खरेललाई साधारण सदस्य नरहने गरी कारबाहीका लागि सिफारिस गरेको छ। प्रतिनिधि सभा २ प्रदेश सभा (ख)बाट विजयी प्रदेश सभा सदस्य एवं कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे र बनेपा नगर समितिका सभापति महेश कर्माचार्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
पार्टीको जिल्ला अनुशासन समितिमा पर्न आएको उजुरीउपर छानबिन गर्दा आचार्य, लामा र खरेलले पार्टीको आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेको प्रमाणका पर्याप्त आधारहरू प्राप्त भएको जिल्ला सभापति तीर्थ लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैठकले केन्द्रीय सदस्यद्वय आचार्य र लामा तथा प्रतिनिधि सभा २ का क्षेत्रीय सभापति खरेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कारबाहीको सिफारिससहित केन्द्रीय अनुशासन समितिमा पत्राचार गरेको हो।
बैठकले बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्य उम्मेदवार कञ्चनचन्द्र वादेलाई भन्दा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पार्टीका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई तीन हजार १५५ मत कम आउनुको कारणसहित प्रदेश सभा सदस्य वादे र नगर सभापति कर्माचार्यसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ।
बैठकले केन्द्रीय सदस्यद्वय आचार्य र लामा तथा क्षेत्रीय सभापति खरेललाई निर्वाचनको समयमा पार्टी र गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न नहिँडेको, आर्थिक प्रलोभनमा परी विपक्षी उम्मेदवारलाई मत माग्नुको साथै संस्थागत रूपमा नै पार्टीका उम्मेदवारलाई हराउन लागेको आरोप लगाइएको छ।
यसअघि पनि कांग्रेस जिल्ला समिति काभ्रेपलाञ्चोकले २०७० सालको संविधान सभा निर्वाचनमा शिवप्रसाद हुमागाईं साबिकको काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट पराजित भएपछि असहयोग गरेको भन्दै पूर्वजिल्ला सभापति मधु आचार्य, पूर्वउपसभापति तीर्थ पसखल, पूर्वसांसद कमला थापा, महाधिवेशन प्रतिनिधि उद्धव कोइराला र शङ्कर मिजारको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो।
यस्तै शङ्खुपाटीचौरका माधव थापा र दीपेन्द्र प्याकुरेल, साबिक पनौती–१३ का मोहन केसी, साबिक पनौती–४ का सुभाषचन्द्र थापा, साबिक पनौती–१२ की जानुका भट्टराई र साबिक मिल्चे–६ का गणेशबहादुर घ्यावाको क्रियाशील सदस्य नरहने गरी कारबाही गरिएको थियो।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                