• ४ जेठ २०८१, शुक्रबार

परासी क्षेत्रको विद्युत् आपूर्तिमा सुधार

blog

काठमाडौँ, पुस ४ गते । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ। 

परासीमा रहेका र भविष्यमा आउने उद्योग र स्थानीयवासीलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। परासी क्षेत्रका सिमन्ट, स्टिललगायतका ठूला उद्योग र गार्हस्थ्य उपभोक्तालाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड बन्ने प्राधिकरणको भनाइ छ। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यो सबस्टेसनले अब बुटवल सबस्टेसनको लोड कम गर्ने भएकाले त्यहाँको पनि विद्युत् व्यवस्थापन सहज हुनेछ।  

बुटवलबाट लामो र कम क्षमताको ३३ केभी लाइनमार्फत आपूर्ति दिँदा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताबाट पर्याप्त विद्युत् नपाएको, भोल्टेजको समस्या भएको, पटकपटक ट्रिपिङ हुनेजस्ता समस्या आउने गरेको थिए। अब यो समस्या समाधान हुने विश्वास लिइएको छ।

हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) छ। यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ। सबस्टेसनमा १३२/३३, ६३ एमभीएका दुईवटा र १३२/११ केभी, २२.५ एमभीएको एउटा पावर ट्रान्सफर्मर रहेका छन्। सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि निकालिने ३३ केभीका सातवटा फिडरमध्ये तीनवटा सञ्चालनमा ल्याइएको छ। 

३३ केभीका तीनवटा फिडरमध्ये एउटाबाट सर्वोत्तम सिमन्ट तथा परासी बजार क्षेत्र, अर्कोबाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शीतलनगर सबस्टेसन र लक्ष्मी स्टिलमा विद्युत् आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले उल्लेख गर्नुभयो। अहिले सुनवल सबस्टेसनबाट त्यस क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ। परासीतर्फ जाने बाँकी ३३ केभीका चारवटा र सबस्टेसनको वरिपरि विद्युत् आपूर्तिका लागि ११ केभीका चारवटा फिडर निर्माणाधीन छन्। 

औद्योगिक कोरिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपियाँमा सुनवल सबस्टेसन निर्माण गरिएको हो।