• २३ वैशाख २०८१, आइतबार

विश्वकप

चम्कियो एसिया

blog

सोमराज पोखरेल

काठमाडौँ, पुस ३ गते  पहिलो पटक खाडी क्षेत्रमा आयोजना भएको २२औँ विश्वकप फुटबल अविस्मरणीय बन्न पुगेको छ । प्रायः विश्वकप फुटबल जुन जुलाई (असार–साउन)मा आयोजना हुने गरेकामा यसपालि नोभेम्बर–डिसेम्बरमा आयोजना गरेर निकै गर्मी हुने क्षेत्रमा पनि विश्वकप आयोजना गर्न सकिने उदाहरण कतारले प्रस्तुत गरेको छ । 

यो विश्वकप आयोजनाका लागि अमेरिका र अस्ट्रेलियाले पनि बोली लगाएका थिए । सन् २०१० मा बाजी कतारले मा-यो । त्यसपछिका १२ वर्ष कतारले तयारीमा निकै सङ्घर्ष ग-यो । समयमै रङ्गशाला तयार हुन्छन् कि हुन्नन् भन्ने चुनौती उत्तिकै थियो । हजारौँ कामदार लगाएर भए पनि कतार सरकारले विश्वकप आयोजनाका लागि दिनरात एक गरेको थियो । 

जेजस्ता घटनाक्रम भए पनि कतार विश्वकप सफल नै भएको छ र परम्परामा भन्दा बेग्लै खालका नतिजाले समेत यस विश्वकपलाई अविस्मरणीय बनाउनेछ । कमजोर आँकिएका टिमहरू साउदी अरब, मोरक्को, सेनेगल, क्यामरुन, जापान र दक्षिण कोरियाको प्रदर्शन बेजोड रह्यो । आयोजक कतारलाई ठूलो निराशा मिले पनि अन्य एसियाली टिमका लागि त यो विश्वकपले आफ्नो क्षमतामा विश्वास गर्न सिकाएको छ ।   

आयोजकको विजोग र एसियाली आशा

कतारले विश्वकपको आयोजना गरेर इतिहास रचेको भए पनि खेल प्रदर्शनलाई भने सशक्त बनाउन सकेन । कतार पहिलो चरणबाटै बाहिरियो । विश्वकप २२औँ संस्करणसम्म आइपुग्दा दुई आयोजक राष्ट्र मात्र पहिलो चरणबाटै बाहिरिएका छन् । सन् २०१० मा आयोजक दक्षिण अफ्रिका बाहिरिएको थियो र अहिले कतार त्यही बाटोमा लाग्यो । त्यति मात्र होइन विश्वकपको ९२ वर्षे इतिहासमा कतार पहिलो खेल हार्ने पहिलो आयोजक राष्ट्र बनेको छ ।

कतार उद्घाटन  खेलमा इक्वेडरसँग २–० ले, दोस्रो खेलमा सेनेगलसँग ३–१ ले तथा अन्तिम खेलमा नेदरल्यान्ड्ससँग २–० ले पराजित भएको थियो ।  

तर यो विश्वकपमा अन्य एसियाली राष्ट्रले भने अप्रत्याशित नतिजा समेत ल्याएका छन् । साउदी अरबले आफ्नो पहिलो खेलमै दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई २–१ ले हरायो । जसका कारण साउदी राजकुमारले आफ्ना प्रत्येक खेलाडीलाई पाँच लाख अमेरिकी डलर पर्ने रोल्स रोसल फ्यान्टम कार दिने घोषणा गरे । साउदी अरबमा एक दिन सार्वजनिक बिदासमेत दिइयो । 

जापानको प्रदर्शन अझ अद्वितीय रह्यो । जापानले जर्मनी र स्पेनलाई हरायो । जर्मनी पहिलो चरणबाट बिदा हुनुमा जापानसँग उसको पराजय प्रमुख कारण मान्न सकिन्छ । स्पेनले समेत जापानका अगाडि घुँडा टेक्नुपरेको थियो । जसका कारण जर्मनी र स्पेन जस्ता टिम रहेको समूहमा जापान पहिलो भयो । दोस्रो चरणमा समेत जापानले बेजोड खेल देखायो । क्रोएसियालाई टाइब्रेकरसम्म लगेर जापानी टिमले छाती फुलाउँदै कतारबाट बिदा लियो । 

त्यस्तै दक्षिण कोरियाले पोर्चुगललाई हरायो । एसियाली राष्ट्रहरूले विश्वकपमा प्रभाव जनाउन नसकेको अवस्थामा यसपालिको प्रदर्शन भने राम्रो रहन गयो । यही प्रदर्शनलाई निरन्तरता दिने हो भने आगामी संस्करणमा थप उत्कृष्ट प्रदर्शन हुने आशा गर्न सकिन्छ । सन् २००२ को जापान–कोरिया विश्वकपमा इटाली र स्पेनलाई हराएर सनसनी मच्याउँदै दक्षिण कोरियाले सेमिफाइनलसम्म पुगेर कीर्तिमान बनाएको थियो ।