• ८ वैशाख २०८१, शनिबार

नयाँ सरकार गठन

राष्ट्रपतिबाट आह्वानको तयारी

blog

काठमाडौँ, पुस २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । 

सत्ता साझेदार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू एक र बहुपक्षीय छलफलमा हुनुहुन्छ । 

प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले परामर्श तीव्र पार्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि विभिन्न दलका नेताहरूसँग भेट र परामर्श गरिरहनुभएको छ । 

राष्ट्रपतिको तयारी

निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उहाँ परामर्शमा हुनुहुन्छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भन्नुभयो, “निर्वाचन आयोगले राष्ट्रपतिज्यूसमक्ष बिहीबार प्रतिनिधि सभाको विवरण बुझाएपछि आवश्यक गृहकार्य सुरु भएको छ । उहाँ परामर्श गर्दै हुनुहुन्छ । शनिबार बिदा, त्यसैले कार्यालय खुलेको दिन राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान हुनसक्छ ।”

प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पु-याउन आह्वान गर्नुहुने सम्भावना रहेको बताउनुभयो । यसको तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ । 

राष्ट्रपतिले परामर्श गर्दै हुनुहुन्छ । शनिबार बिदा, त्यसैले कार्यालय खुलेको दिन राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान हुनसक्छ ।

सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकार गठनको तयारीमा जुटिरहेका छन् । कांग्रेस पार्टीभित्र छलफलको तयारी गरिएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति देउवाले नयाँ सरकार गठनसहितका विषयमा छलफल गर्न शनिबार सांसदसहितको बैठक बोलाउनुभएको छ । 

उहाँले भन्नुभयो, “आन्तरिक रूपमा छलफल भइरहेको छ । शनिबार सभापतिले सांसदहरूसहितको बैठक बोलाएर समसामयिक विषयमा छलफल गर्दै हुनुहुन्छ, बैठकमा सरकार गठनबारे पनि छलफल हुन्छ ।” प्रधानमन्त्रीसहितका महìवपूर्ण पदको विषयमा पनि छलफल भइरहेको बताउँदै उहाँले भन्नुभयो, “राष्ट्रपतिका सन्दर्भमा पनि छलफल भइरहेको छ । यो पद सबैभन्दा महìवपूर्ण छ । कांग्रेसले माओवादी समेतलाई विश्वासमा लिएर राष्ट्रपति को बन्नेभन्दा पनि कस्तो बन्ने भन्ने विषयमा गम्भीरतापूर्वक ध्यान दिएर निर्णय गर्छ ।”

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकार गठनका विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भइरहेको बताउनुभयो । उहाँका अनुसार समग्र विषयमा सहमति कायम गरेर अघि बढ्नेगरी दुई नेताबीच संवाद भइरहेको छ ।  एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले सत्ता गठबन्धनका दलहरूबीच गहन ढङ्गले छलफल हुने बताउनुभयो । उहाँले शीर्ष नेताहरूबीच एक चरण छलफल भइसकेको र अब निर्णायक चरणमा संवाद थालनी गरेर नयाँ सरकार गठन र नेतृत्वको विषयमा निर्णयमा पुग्ने बताउनुभयो । 

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी नेतृत्वसँग विभिन्न दलका नेताहरूको छलफल भइरहे पनि सरकार गठनमा आफूहरू इच्छुक नरहेको बताउनुभयो ।