• १४ मंसिर २०८१, शुक्रबार

गठबन्धन कायमै रहनुपर्छ : ठाकुर

blog

काठमाडौँ, मङ्सिर २९ गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । भेटमा अध्यक्ष ठाकुरले लोसपालाई सत्ता गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री देउवालाई अनुरोध गर्नुभएको थियो । 

सरकारमा लोसपा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने आफ्नो पार्टीको भावना रहेको अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । सत्तामा सहभागी हुनु ठूलो कुरा नभएको, राजनीतिक अस्थिरताले विकासका काममा असर पार्ने भएकाले निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ भन्ने मान्यता पार्टीले राखेको जानकारी आफूले प्रधानमन्त्रीलाई गराएको अध्यक्ष ठाकुरले बताउनुभयाे । प्रधानमन्त्री देउवासँग समसामयिक राजनीतिक विषयसँगै चुनावी समीक्षा गरिएको उहाँले बताउनुभयो । भर्खरै सम्पन्न निर्वाचनमा गठबन्धनसँग तालमेल गरेका आफूहरू गठबन्धनमै रहेकाले नयाँ सरकारमा सहभागी  हुने विषयमा सकारात्मक रहेको ठाकुरले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताउँदै उहाँले चुनावी समीक्षा गरिएको दाबी गर्नुभयो ।

राजनीतिक स्थिरता र विकासका लागि निश्चित समयसम्म गठबन्धन रहनुपर्ने पक्षमा लोसपा रहेको उहाँले बताउनुभयो । सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको कार्यकारिणी बैठक पुसको पहिलो साता बस्ने भएको छ । प्रतिनिधि सभामा लोसपाका चार जना सांसद निर्वाचित भएका छन् ।