जनार्जन खत्री
सर्लाही, जेठ १ गते । सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा बिहीबार किसानले ल्याएर बेचेको बोडीमा अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको छ ।
ईश्वरपुर नगरपालिकाको सागरनाथ क्षेत्रका किसानले उत्पादन गरेर लालबन्दीको डुमडुमेस्थित थोक तरकारी बजारमा ल्याएर व्यापारीलाई बिक्री गरिसकेको मिटर बोडीमा अत्यधिक विषादी प्रयोग भई उपभोग अयोग्य रहेको पाइएपछि नष्ट गरिएको हो ।
लालबन्दी तरकारी बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका नायब प्राविधिक सहायक दिलबहादुर राउतका अनुसार नष्ट गरिएका बोडीमा ६०.३०४ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको अवशेष पाइएको छ ।
तरकारीमा विषादीको मात्रा ४५ प्रतिशतभन्दा माथि भएमा खान अयोग्य हुने र त्यसलाई नष्ट नै गर्नुपर्ने प्राविधिकले बताएका छन् । तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राखेर पुनः ३५ प्रतिशतभन्दा कम आएमा उपभोगयोग्य हुने तर ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने प्रावधान छ ।
सोही प्रावधानअनुसार लालबन्दीमा बिहीबार नमूनाको रूपमा मिटर बोडीको परीक्षण गर्दा एक जना व्यापारीले किसानबाट खरिद गरेको बोडीमा ६० प्रतिशत विषादीको अवशेष भेटिएको हो । ६० प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएको ६७ केजी बोडी बजारनजिक डुमडुमे खोलामा पुुगेर नष्ट गरिएको नायब प्राविधिक सहायक राउतले बताउनुुभयो ।
दुुई दिनअघि काठमाडौँको कालिमाटीमा लालबन्दीबाट लगिएको बोडीमा यसैगरी अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको थियो । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका नायब प्राविधिक सहायक राउतले लालबन्दी तरकारी बजारमा दैनिक १०–१५ जना किसानबाट नमूना लिएर तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने गरिएको छ ।
किसानबाट किनिसकेको बोडीको नमूना लिएर अत्यधिक विषादी रहेको भन्दै नष्ट गरिँदा आफूहरू बर्बादीमा परेको व्यापारीले गुनासो गरेका छन् । उपभोक्ताले हेर्दा राम्रो देखिने तरकारी मात्र किन्ने गरेको र त्यस्तो तरकारी फलाउन धेरै विषादी प्रयोग गर्नुपरेको किसानले बताउँदै आएका छन् । लालबन्दी बजारमा अहिले सर्लाहीसहित आसपासका जिल्लाबाट किसानले ठुलो परिमाणमा मिटरबोडी ल्याएर बिक्री गरिरहेका छन् ।