• ११ मंसिर २०८१, मङ्गलबार

सफलतामा अभिप्रेरणा र उत्प्रेरणा

blog

विश्वको जुनसुकै कुनामा रहेका मानिस हुन्, जुनसुकै, जात, धर्म र सम्प्रदायका हुन्, हरेकलाई सफल हुने चाहना हुन्छ। हरेकले जीवनमा आफूले चाहेजस्तो सफलता प्राप्तिका लागि कुनै न कुनै रूपमा अरूको प्रेरणा लिइएको हुन्छ र असल परामर्शकर्ता भेटिएमा उसले थप उत्प्रेरणा जगाएर सफल हुने बाटो र दृढतालाई अरू मजबुत बनाइदिन्छ। हरेक मानिसमा अरू सफल भएको देखेर उसमा पनि त्यसैगरी सफल हुने लोभ जाग्छ। त्यो चाहना र लोभले व्यक्तिलाई सकारात्मक रूपमा प्रेरित ग¥यो भने उसले निश्चय पनि सफलता पाउँछ तर त्यसलाई ईष्र्याका रूपमा लिएर आक्रोश मात्र व्यक्त गरिरह्यो भने उ झन्झन् पतनको बाटोमा लाग्छ। प्रेरणा दुई किसिमको हुन्छ। एक व्यक्ति स्वयंबाट प्रेरित हुन्छ। उसका राम्रा कामहरूका बारेमा अरूले गरेको सकारात्मक टिप्पणी उसका लागि ठूलो प्रेरणा हुन्छ। अर्को केही भ्रम, केही द्विविधा र केही अलमलमा परेका बेला अरूबाट प्रेरणा अथवा अभिप्रेरित हुने अझ भनौँ उत्प्रेरित हुने गर्छन्। यसमा महìवपूर्ण पक्ष के छ भने आफूबाटै प्रेरित भएको व्यक्ति अरूबाट प्रेरित भएको भन्दा सफल भएको पाइन्छ। जसमा आत्मविश्वास र आफूप्रति भरोसा छ र मेहनत गर्छ ऊ सफल हुन्छ नै।

एउटा सानो उदाहरण आफ्नो रूप, आफ्नो शारीरिक बनावट, आफूमा भएको प्रतिभा अनि आफ्नो रुचिलाई नै प्रेरणा लिएर अघि बढ्ने व्यक्ति मूलतः साहित्य, कला, सङ्गीतलगायतका क्षेत्रमा सफल भएका छन्। अनि आफूमा प्रतिभा रहेको तर रूपरङ नमिलेको छ भने पनि आफ्नो प्रतिभाबाटै प्रेरणा लिएकाहरू अभिनय क्षेत्रमा सफल भएका छन्। यसका उदाहरण नेपाली तथा हिन्दी चलचित्र र नाट्य जगत्का दिग्गज कलाकारलाई लिन सकिन्छ। तर कहिलेकाहीँ आफू आफैँबाट प्रेरित भएर अघि बढेको व्यक्ति पनि पछि हट्न बाध्य हुन्छ। त्यस्तो अवस्थामा उसलाई उत्प्रेरणा आवश्यक हुन्छ। नेपाली समाजमा प्रेरणा र उत्प्रेरणाका अनेक गाथाहरू बुनिएका छन्। संसारलाई नै उत्प्रेरित गर्ने भागवद्गीता सबैभन्दा शक्तिशाली ग्रन्थ हो। आफूले आफूलाई चिनेर युद्धमा अग्रसर भएका अर्जुन कुरुक्षेत्रबाट पलायन हुन खोजेपछि उनलाई उत्प्रेरित गर्न श्रीकृष्णले दिनुभएको उपदेश संसारकै सबभन्दा ठूलो उत्प्रेरणात्मक ग्रन्थ हो।

वैदिक समाज, अभ्यास र संस्कारमा उत्प्रेरणालाई उच्च स्थानमा राखिएको छ र त्यस्तो उत्प्रेरणा केवल व्यक्तिको एकल हितका लागि नभएर सिङ्गो सृष्टि संरचनाको कल्याणका लागि स्थापित गरिएको छ। व्यक्तिको एकल हितको कुरा पूर्वीय शास्त्रले गर्दैन, समाजको अभ्यास पनि त्यस्तो थिएन। तर आजभोलि उत्प्रेरणालाई एकल सफलताको सूत्रका रूपमा लिएर उत्प्रेरणा दिने व्यक्तिहरूले लाभ उठाइरहेका छन्। महाभारतमा श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ– ‘कर्मण्यवाधिकारस्ते माः फलेषुकदाचन’ ! अर्थात् कर्म गर्नू तर फलको आशा नगर्नू। मानिसले आफ्नो कर्म र कर्तव्यबाट विमुख भयो भने वा उसले आफ्नो कर्मबाट लाभ मात्रै खोज्यो भने उसलाई स्वार्थी भनिन्छ र उसको जीवन सफल भएको मानिँदैन। त्यसैले श्रीकृष्णले अर्जुनलाई युद्धमैदानबाट पलान हुन लागेपछि तिम्रो काम युद्ध गर्ने हो, त्यसको नतिजाको जिम्मा वा चिन्ता तिमीले गर्ने होइन, त्यो सब मेरो जिम्मामा छाडिदिउँ भन्दै उत्प्रेरित गर्नुभयो।

नेपाली समाजको बनावट र अभ्यास हरदम प्रेरित र उत्प्रेरित गर्ने नै थियो। एकले अर्कोलाई साथ, सहयोग र प्रेरणा दिने संस्कार हामीले पुर्खाबाट सिक्दै आएका हौँ। हाम्रो घरघरका पाका उमेरका मानिसहरू प्रेरणा र उत्प्रेरणाको स्रोत हुन्। उनीहरूले दिएका उपदेश र आदर्शलाई पछ्याउनेहरूले जीवनमा कहिल्यै दुःख पाउँदैनन्। तर आजभोलि यस्तो संस्कार हराउँदै गएको छ। व्यक्तिको सफलताको पछाडि आफ्नो कर्म, धर्म, अभ्यास र पारिवारिक वा वंशाणुगत संस्कार नभएर पश्चिमा विद्वान्को उत्प्रेरणात्मक अभिव्यक्ति रहेको गौरवका साथ बताउने गरेका छन्। 

मानिसहरूमा आफूकेन्द्रित विचार र व्यवहारले प्राथमिकता पाइरहेको छ। व्यक्ति एकल हुँदै उसले आफ्नो वैभवलाई मात्र सफलता ठान्ने गरेको छ। पश्चिमा दर्शनका उत्प्रेरणा दिने व्यक्तिहरूले यसलाई प्राथमिकता दिइरहेका हुन्छन्। तर पूर्वीय दर्शनले यसलाई सफलता मान्दैन, समाज पतनको गोरेटोका रूपमा लिन्छ। एउटा सानो उदाहरण– आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ भनिन्छ। यो भनाइमा असहमत हुनुपर्ने कुनै कारण छैन। तर आर्थिक रूपमा सम्पन्न हुनुको अर्थ एक व्यक्ति आफू मात्रै सम्पन्न हुनु होइन कि परिवार नै सम्पन्न बनाउनु हो। पूर्वीय दर्शनबाट प्रेरित भएकाहरूले दिने उत्प्रेरणा सामूहिक कल्याणका लागि हुन्छ भने पश्चिमाहरूको व्यक्तिकेन्द्रित। यो भिन्नता छुट्याउन नसक्दा नेपाली समाज र परिवार खण्डित हुँदै गइरहेको छ। आधुनिक भनिएको यो समाज र यो समाजका अगुवादेखि युवावयका मानिसलाई कस्तो कुराले उत्प्रेरित गर्ने र उनीहरूलाई कस्तो संस्कार दिने भन्ने विषय अति महत्वपूर्ण छ। हामीले गहिरिएर सोच्यौँ भने हाम्रा बाबुआमा, हजुरबा हजुरआमाहरूले हरक्षण उत्प्रेरणा दिइरहेको पाउँछौँ। उहाँहरूसँग रहेको जीवन भोगाइको अथाह ज्ञानले हामीलाई सही बाटोमा हिँड्न प्रेरित गरिरहेको हुन्छ। तर, समस्या हामीले ती कुराहरू नबुझेर बूढाबूढीले किचकिच गरेको भन्दै झर्कन्छौँ।

एउटी छोरीले आमाबाट प्रेरणा लिएकै हुँदैन आजकल। छोराले बाबु वा हजुरबुबाबाट प्रेरणा लिएको हुँदैन। उनीहरू व्यावसायिक रूपमा चलेका उत्प्रेरणा दिने व्यक्तिलाई पैसा तिरेर भाषण सुन्छन् र व्यक्तिवादी भएर फर्कन्छन्। जस्तो– श्रीमान्सँग झगडा गरेर माइत आएकी छोरीलाई आमाले घर छाड्नु हुँदैन, आफूसँगै आफ्नो श्रीमान्, सासूससुराको ख्याल राखेर उनीहरूको मन जितेर बस्नुपर्छ। जब उनीहरूका मन जितिन्छ तब तिमी त्यो घरमा सर्वप्रिय हुन्छौँ भन्दै दिने उत्प्रेरणाले अन्ततः छोरीको घरबार सप्रन्छ। यो पूर्वीय दर्शनको उत्प्रेरणा हो। तर, आजभोलि घर छाडेर आएकी छोरीलाई आमाले त्यस्ता घरमा नगए पनि हुन्छ, हामी पाल्छौँ, तँ आफैँ आत्मनिर्भर भएर बस, उनीहरूलाई देखाउनुपर्छ भन्दै छोरीको बुद्धि भ्रष्ट पारिदिन्छन्। जागिर छाडेको छोरालाई बाबुले कामको महìव बुझाएर बिस्तारै काम गर्दै जाउँ, सबै राम्रो हुन्छ भनेर सम्झाउनुको साटो तिनीहरूको भनाइ खाएर जागिर गर्नु पर्दैन, खान नपुगेको छ र भन्दै छोराको कमजोरीलाई अरू कमजोर बनाउँछन्।

पूर्वीय दर्शनका ग्रन्थहरूको पानैपिच्छे र घटनाक्रमपिच्छे प्रेरणा र उत्प्रेरणाका सन्दर्भहरू छन्। चाणक्यबाट प्रेरणा लिने प्रयास शासनसत्तामा बसेकाहरूले किन गरेनन्। लोकतन्त्रको अभ्यास महाभारत र रामायणकालमै उत्कर्षमा थियो भने त्यसको अनुसरण किन भएन। आफूलाई भुलेर अरूको अनुसरण गर्दा यस्तो भएको हो। रामायणकालीन होस् वा महाभारतकालीन शासन व्यवस्था लोकसम्मतिमा आधारित थियो र ती सबै सम्पूर्ण मानव कल्याणमा निहित थियो। आफ्नै मात्र स्वार्थपूर्तिमा लागेर जनतालाई शोषण गर्ने राजाहरूको विनाश भएको सन्दर्भ हाम्रा लागि पश्चिमा ‘वाद’भन्दा कैयौँ गुणा ठूलो उत्प्रेरणाको स्रोत हो। व्यक्तिको एकल स्वार्थमा मात्र लाग्नेहरूको पतन भएका कथाहरू पुराणहरूमा सुनेकै छौँ, धन–दौलतले उनीहरूको रक्षा गर्न नसकेको सन्दर्भहरू पनि पढेकै छौँ भने हामीले लिनुपर्ने प्रेरणा के र कस्तो विषय वा सन्दर्भमा अरूबाट उत्प्रेरित हुने भन्ने सबाल गहन छ। यसका लागि व्यक्ति स्वयंको चरित्रले पनि महत्वपूर्ण भूमिका निर्धारण गर्छ। टेलिभिजनका पर्दामा उत्प्रेरणा दिनेहरूको ज्ञानको स्रोत के हो ? उनीहरूले कस्तो समाज निर्माणका लागि उत्प्रेरित गरिरहेका छन्। उनीहरूले दिने उत्प्रेरणाले व्यक्ति, परिवार र समाजलाई कति लाभ दिन्छ भन्ने सन्दर्भ महत्वपूर्ण छ। 

प्रेरणा र क्षमताले ओतप्रोत भएको व्यक्तिलाई कतै कुनै सङ्कोच लागेमा उसलाई सही मार्ग देखाउने सूत्र हो उत्प्रेरणा। उत्प्रेरणाले मानिसलाई सफल बनाउन मद्दत गर्छ भन्नेमा विमति राख्नुपर्ने कारण छैन तर त्यस्तो सफलता भूगोल र माटो सुहाउँदो अनि संस्कारजन्य विकृतिहरू भित्रिने किसिमको हुनुहुँदैन भन्ने मूल पक्ष छ। यसका लागि हामीले पश्चिमा उत्प्रेरकहरूको मात्र होइन कि पूर्वीय सभ्यताका उत्प्रेरक र प्रेरक व्यक्तिहरूको सन्दर्भलाई सूक्ष्म ढङ्गले केलाउँदै आत्मसात् गर्न सके नेपाली समाज वास्तवमै अनुकरणीय र अन्यका लागि प्रेरणादायी बन्नेछ।