अविनाश चौधरी
धनगढी, जेठ २५ गते । शैक्षिक गुणस्तर सुधारका लागि भन्दै विद्यालयलाई दुई बिघा जमिन दान गर्ने दाताको नाममा विद्यालयको नाम कायम गरिएको छ । कैलारी गाउँपालिका–७, बसन्तामा रहेको विद्यालयको नाम राष्ट्रिय चन्द्र आधारभूत विद्यालय कायम गरिएको हो ।
बसन्तामा जन्मेर हाल धनगढी बस्दै आउनुभएका समाजसेवी चन्द्रसिंह चौधरीले त्यहाँ रहेको आफ्नो सम्पूर्ण पैतृक सम्पत्ति (दुई बिघा जमिन) विद्यालयलाई दान गर्नुभएको थियो ।
चौधरीले २०७७ मा विद्यालयलाई जग्गा दान गरे पनि गएको वैशाखमा मात्रै विद्यालयको नाम परिवर्तन गरेर राष्ट्रिय चन्द्र आधारभूत विद्यालय कायम गरेको विद्यालयका प्रधानाध्यापक डम्मर शाहले बताउनुभयो ।
गत पुसमा कैलारी गाउँपालिकाको गाउँसभाले विद्यालयको नाम परिवर्तन गर्ने निर्णय गरेपछि दाताको सम्मानस्वरूप उहाँको नाममा विद्यालयको नाम कायम गरेको उहाँको भनाइ छ ।
नेपाल टेलिकममा कार्यरत चौधरीले ८० लाख रुपियाँ पर्ने आफ्नो जमिन विद्यालयलाई दिएको जनाइएको छ । दाता चौधरीको सुरुवाती अध्ययन पनि सोही विद्यालयमै भएको थियो ।
आफूले पहिलो पाइला टेकेको विद्यालयको शैक्षिक सुधारमा कसरी सहयोग गर्न सकिन्छ भन्ने हेतुले पैतृक सम्पत्ति विद्यालयलाई दान गरेको दाता चौधरीले बताउनुभयो । “गाउँघरको विद्यालयलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने सधैं लागिरहन्थ्यो” उहाँले भन्नुभयो, “मेरो आर्थिक हैसियतमा केही सुधार भएपछि विद्यालयको शैक्षिक सुधारका लागि जग्गा दान गरेँ ।”
यसैबिच, जग्गादाता चौधरीलाई आज दोसल्ला ओढाएर सम्मान गरिएको छ । विद्यालयमा आयोजित सम्मान कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले उहाँलाई सम्मान गर्नुभयो ।