• ११ मंसिर २०८१, मङ्गलबार

जल संरक्षणका चुनौती

blog

मानव जीवनका लागि पानी अपरिहार्य तरल पदार्थ हो। जन्मँदै प्रकृतिले पानीलाई यस्तो अद्भूत गुण दिएको छ, जो बिना कुनै प्राणी न त वनस्पति कसैको पनि कल्पना गर्न सकिँदैन। चराचर जगत्प्र/कृति स्वयं बाँच्न पनि पानी नै चाहिन्छ। 

पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशतभन्दा बढी समुद्र र सागरको नुनिलो पानीको वर्चस्व छ। पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई सास फेर्न सहज भएको छ। पिउन, सरसफाइ गर्न र खाना पकाउनेदेखि अरू धेरै काम सम्पन्न गर्न पानी भएन भने अधुरो र अपुरो हुन्छ। स्वस्थ्य मस्तिष्क स्फूर्त जीवनको प्रस्फुटन पनि पानीकै माध्यमबाट सम्भव भएको हो। जब व्यक्तिको स्वास्थ्य ठीक छैन भने उसको सोचविचारले विकासात्मक कार्यमा हातेमालो गर्न सक्दैन। यो धु्रव सत्य कुरा हो।  मानवलगायत जीवित जति छन्, सबैलाई पानी चाहिन्छ। अनिवार्य चाहिन्छ। भनिन्छ, नेपाल जलस्रोतमा धनी छ । यही देशका कति नागरिकले सफा पिउने पानीको सङ्कट झेल्नु परेको छ। हाम्रा गाउँबस्ती रित्तिँदै जानुको प्रमुख कारण पनि पानीकै अभाव हो। भनिन्छ, देश विकासको पूर्वाधार सडक हो। तर अन्नाधुन्न किसिमले ‘डोजर’ चलाउँदाको परिणाम भटाभट जरुवा सुकेपछि कहालीलाग्दो जलसङ्कट थेग्न नसकेर थातथलो, चल अचल सम्पूर्ण जायजेथा नै त्यागेर हिँड्नुपर्ने 

नागरिकको यो बाध्यतामा दर्द कति छ। जुन कुरा भोग्नेलाई जति कसलाई हेक्का होला ?

हो, विकास चाहिन्छ, गर्नुपर्छ। यहाँ त्यहीँ दख्खलले प्रकृतिको स्वरूप खण्डहर भइरहेको छ। जसको प्रत्यक्ष असर पानीका मूल सुक्दै छन्। जब पानी हुँदैन। उराठलाग्दो भूमिमा सजीवताका लागि के विकल्प हुनसक्छ ? त्यो माटोमा अनाज त फल्दैन फल्दैन एउटा रुख पनि जगाउन सकिँदैन। न त कुनै व्यापार व्यावसाय नै सञ्चालन गर्न सकिन्छ। जङ्गल बन्न/बढ्न पनि पानीकै जरुरत पर्छ। हरियो वन मौलाउनु त कता हो पानीबिना झार बुट्यान पनि पलाउन सक्दैन। रुखोपाखो जमिन जति नै भए पनि किनबेच गर्न त्यसको मूल्य हुँदैन। नेपाल सरकारका तर्फबाट जलसङ्कट हटाउन के–कस्ता काम भइरहेका छन् ? अथवा, हुनुपर्छ ? सरोकारवाला निकायसँगको भूमिका कुन तह र तप्काबाट कसरी अघि बढ्दा पानीको व्यवस्थापन गर्न सकिएला ? 

जलवायु परिवर्तनको असर विश्वव्यापी तापक्रम वृद्धिले गर्दा खानेपानीका मुहान सुस्ती हुँदै छन्। अटुट सिलसिलामा जति प्रवाह थियो, समय क्रम त्यो छैन। फेरि, हाम्रो परिवेशमा बगुवा पानी अथवा आकाशे वर्षा व्यवस्थापन गर्ने पद्धति पनि छैन। सहरीया हुने रहर कतिपय नागरिकको सोच सिँचाइ सुविधा भएको उर्वर आफ्नो जग्गाजमिन छोडेर नयाँ बासस्थान रुचाउने प्रवृत्ति वास्तवमै अचम्म लाग्दो छ। जब मान्छे आफ्नो गाउँबस्तीको दुःखबाट टाढिएर नयाँ सृष्टिको सँघारमा पुग्छ, बदलिँदो जीवन शैली घनाबस्तीमा मिसिँदा पिउने पानीको अभावदेखि फोहोरमैला व्यवस्थापन थप सङ्कट निम्तिन्छ नै। विडम्बनापूर्ण कार्य हो, कतै एक गाग्री पानी भर्नका लागि पूरै बिहान माया मार्नुपर्ने त कतै भने बस्तुभाउलाई खुवाउनै पनि अड्कलेर दिनुपर्ने। तमाम नागरिकका यी दुःखप्रति कसको सरोकार हुन्छ ? यस किसिमको प्रतिकूलतातर्फ सरकारले सोचविचार गर्नुपर्छ कि पर्दैन ? आफ्ना नागरिकलाई काकाकुल हुनबाट मुक्त गर्ने हेक्का नहुनु देशका कैयौँ गाउँ रित्तिँदै छन्। यता, राजधानीमा बागमती विष्णुमती हनुमन्ते तथा मनहराका किनारमा अर्बौं अर्ब बजेट निकासाको तमासा पानी बगेको होइन, पैसाको खोलो! देशका कतिपय बस्तीमा जलसङ्कट हुनुको अर्को कारण सरकारले जलसम्पदाको उचित व्यवस्थापन गर्न नसक्नु पनि हो। जङ्गल फडानी। हिमाल–पहाडको तुलनामा तराईमा पानीको समस्या छैन। जनसङ्ख्याको चाप यसरी नै तराईकेन्द्रित अथवा सहरकेन्द्रित हुँदै जाँदा भोलि भूमिगत पानीको तह घट्दैन भन्न सकिन्न। 

मनसुन ढिलो सुरु हुँदा पनि पानीको अभाव हुन्छ। चाँडो सकिँदा पनि। जीवनमा आफ्ना आँखैअगाडि पानीको मुहान सुकेको देख्ने कति नेपाली नागरिक होलान् ? अझ, २०७२ सालको भूकम्पले पानीको प्राकृतिक मार्गलाई क्षतविक्षत् बनाएकाले पनि प्रभावित जिल्लामा धेरै मुहान सुकेका छन्। जुन कुरालाई बेलाबेला विभिन्न सञ्चार माध्यमले प्राथमिकताका साथ प्रसारण पनि गर्ने गरेका छन्।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार गाउँ रित्तिँदै र सहर भरिँदै गएका छन्। कुल जनसङ्ख्याको दुईतिहाइ जनसङ्ख्या सहरमा केन्द्रित भएका छन् भने एकतिहाइ मात्र गाउँमा छन्। राष्ट्रिय तथ्याङ्क विभागको जलवायु परिवर्तन प्रभाव सर्वेक्षण, २०७३ अनुसार खडेरी बढेको महसुस आमजनताले गरेका छन्। यो त प्राकृतिक विषय भयो। यसलाई कसैले टारेर टर्दैन। न कुनै छेकबार गर्न सकिन्छ। अतः सुक्नु, मासिनु, नासिनु, बदलिनु, भासिनु मानिसका हात बाहिरको कुरा भयो। जसलाई नियति पनि भनिन्छ। 

हाम्रो देशमा साना ठूला गरी आठ हजार नौ सयभन्दा बढी नदीनाला छन्। यहाँको कुल क्षेत्रफलको २.६ प्रतिशत भाग पानीले ओगटेको छ। त्यसमा बाह्रै महिना बहने नदीनाला कति छन् ? चारदेखि सात महिना निरन्तर उपभोग गर्न पाइने मुहान कति छन् ? कतिपय ठाउँमा कङ्क्रिटका संरचना र कालोपत्रे सडक तथा ढल निकासका कारण पनि पानी सिञ्चित हुन सक्दैन। 

त्यस्तै, चुनढुङ्गा उत्खनन र जङ्गलको विनाश पनि उत्तिकै डरलाग्दो छ। नाङ्गा डाँडाले त त्यसै पनि बढी पानी सोच्न सक्दैन। जब जमिनमा पानी सोसिँदैन तब सुख्खा र उजाड बन्छ, भूमि। सलल बगेको पानी कहाँ पुग्छ थाहा हुँदैन। अध्ययनका अनुसार पछिल्लो समय विकास गर्ने बहाना जथाभावी किसिमले सडक खन्दाको परिणाम धेरै पानीका स्रोत भूमिगत भएका छन्। कतै पहिरोले पनि तिनको नाम निसान मेटाइदिएको छ।  पानी नै जिन्दगानी भन्ने नारा संसारमा कसलाई था’ नहोला। तर पानीका मूल नसुकाउनका लागि के कस्ता गतिविधि सञ्चालन गर्दा महासङ्कटमा परिँदैन भन्ने कुरा चाहिँ सबै क्षेत्रका बासिन्दालाई थाहा नहुन सक्छ। जुन कुरा जान्न अति जरुरी छ। अतः पानी संरक्षणका लागि हरेक समुदाय सचेत हुन जरुरी छ। साथै, स्थानीय सरकारले पनि ठाउँठाउँमा साना–ठूला भण्डार बनाउने योजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ। 

तथापि पानी संरक्षणका लागि जे जति कार्य गरिन्छ, त्योभन्दा धेरै ठूलो कार्य प्राकृतिक मार्गलाई संरक्षण गर्नु जरुरी छ। त्यसका लागि वृक्षारोपण गरेर हुन्छ या त विनाश रोकेर। यद्यपि नागरिक हितका सबै कुरा सरकारले मात्रै गर्नुपर्छ/गर्ला भनेर बाटो हेर्नुको साटो भावी पुस्ताको समेत ख्याल गरेर स्वयं नागरिक पनि मार्गमा क्रियाशील हुन सकियो भने दशा बनेर आएको जल अनिकाल क्रमशः समाधान उन्मुख होला।