• ४ जेठ २०८१, शुक्रबार

नयाँ गन्तव्यमा बढ्यो आकर्षण

blog

काठमाडौँ, मङ्सिर २७ गते  । नयाँनयाँ श्रम गन्तव्य देशमा जाने नेपालीको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो पटक नेपालीले पनि संस्थागत रूपमा नै श्रम स्वीकृति लिएर माल्टा, बु्रनाई, क्रोएसिया र साइप्रसलाई श्रम गन्तव्य देश बनाउन थालेका हुुन् । 

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा माल्टामा मात्रै आठ हजार ८३३ जना नेपाली रोजगारीका लागि पुगेका छन् । सो अवधिमा माल्टा छैटौँ प्रमुख श्रम गन्तव्य बनेको छ । 

सोही अवधिमा क्रोएसियामा छ हजार ४७७, साइप्रसमा तीन हजार ८८१ जना, रोमानियामा साढे तीन हजार र ब्रुनाईमा  दुई हजार ५८० जना नेपाली पुगेको विभागले जनाएको छ । विभागका अनुसार यो अवधिमा माल्दिभ्समा ८२६ जना, इजरायलमा ७२९, पोल्यान्डमा ४९६ जना नेपाली पुगेका छन् । 

वैदेशिक रोजगार (म्यानपावर) व्यवसायीका अनुसार माल्टा, साइप्रस, क्रोएसिया, ब्रुनाईलगायतका देशले विदेशी लगानी भित्र्याउन विभिन्न नीति लिएपछि त्यहाँ श्रमिकको माग बढेको हो । ती देशमा सस्तो श्रमिकको माग धेरै छ । 

पुराना श्रम गन्तव्यमा भने यो सङ्ख्या धेरै ठूलो छ । यो अवधिमा मलेसियामा ७८ हजार ८९१, कतारमा १४ हजार ५३९, संयुक्त अरब इमिरेट्स (यूएई)मा ११ हजार १८७, कुवेतमा नौ हजार ६८८ र साउदी अरबमा आठ हजार ६४२ जना नेपाली रोजगारीका लागि गएका छन् । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६६.२ प्रतिशतले बढेर ५७ हजार ८६१ पुगेको छ । 

विभागका अनुसार पछिल्लो समय मलेसिया र खाडीबाहेकका देशमा वैदेशिक रोजगारीमा जाने बढ्दै गएका छन् । कोरोना महामारीपछि म्यानपावर कम्पनीले अन्य गन्तव्यमा श्रमिक आपूर्ति गर्न थालेका थिए । वर्षमा एक सय जना श्रमिक नपठाए अनुमतिपत्र खारेज हुने व्यवस्थाका कारण म्यानपावर कम्पनीले नयाँ गन्तव्य खोज्ने कसरत बढाएका छन् । महामारीकै वर्ष पनि रोमानिया र साइप्रस जाने श्रमिकको सङ्ख्या बढेको थियो । रोमानिया, पोल्यान्ड, साइप्रसजस्ता देश पुग्ने नेपालीसँग म्यानपावर कम्पनीले ‘युरोपियन मुलुक भन्दै’ चर्को सेवा शुल्क असुल्ने गरेका छन् ।

नेपाल सरकारले माल्टा, बु्रनाई, क्रोएसिया र साइप्रस जानेका लागि ३५ हजारदेखि ८० हजार रुपियाँसम्म तोकेको छ तर यो शुल्कमा श्रमिक जान पाइरहेका छैनन् । गतिलो आम्दानी हुने प्रलोभनमा १० लाख रुपियाँसम्म बुझाएर नेपाली ती मुलुकमा पुगेका छन् । ती मुलुकमा विशेष गरी कृषि, पशुपालन, उद्योग, होटल र निर्माण क्षेत्रको कामका लागि जाने गरेका छन् । 

वैदशिक रोजगारविज्ञ डा. गणेश गुरुङले नेपाली श्रमिकले खाडी मलेसियाको विकल्पमा नयाँनयाँ सुरक्षित श्रम गन्तव्य जाने क्रम बढ्नु सकारात्मक भएको बताउनुभयो ।  

मलेसिया र खाडी देशको विकल्पका माल्टा, रोमानिया, क्रोएसिया, साइप्रसलगायतलाई प्रमुख श्रम गन्तव्य देश बनाउन ढिला गर्न नहुने उहाँको भनाइ छ । “श्रमिकलाई दक्ष बनाएर पठाउनुपर्छ । व्यावसायिक सीप दिन सके मात्रै श्रमिकको क्षमता बढ्ने भएकाले तिनको जीवनस्तर सुधारिन्छ,” डा. गुरुङ भन्नुभयो । 

नेपाली दूतावास भएका देशमा वैदेशिक रोजगारी प्राथमिकतामा नपरेको भन्दै उहाँले ती दूतावासले त्यहाँका श्रम बजार अध्ययन गरेर नेपाललाई फाइदा पुग्ने गरी श्रमिक पठाउने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै उहाँले ती देशमा जाने श्रमिक ठगीको बढी जोखिममा रहेकाले सरकारका नियमकारी निकायले ती देशका लागि न्यूनतम शुल्क तोकेर त्यसको कार्यान्वयनमा लैजानुपर्छ भन्नुभयो ।