• १३ वैशाख २०८१, बिहिबार

गाउँपालिका राष्ट्रिय महासङ्घ महाधिवेशन

कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव

blog

नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । फाइल तस्बिर

गोरखापत्र अनलाइन 

काठमाडौं, मङ्सिर २५ गते । सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले  कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ । उहाँले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह  गर्नुभएको छ । 

आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको हो । 

उहाँले तीनवटै तहको सरकार मिलेर अघि बढे सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पार्नुभयो । 

उहाँले मुलुकमा कायापलट ल्याउन तीनवटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नुपर्दछ । एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन । गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । सङ्घीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यो स्पष्ट छ । संविधानले प्रदत्त गरेको अधिकारहरु जनताले उपयोग गर्न सकून् ।’’ 

‘‘सबै पालिकामा जनताले के के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी हुन्छ । महिला हिंसामुक्त पालिका होस् । छुवाछूतमुक्त पालिका हुन् । सबै जाति समुदायको माझमा सामाजिक सद्भाव कायम राखेको पालिका हाम्रो होस् । त्यस रुपमा प्रत्येक पालिकाले आफूलाई दर्ज गर्न सक्ने गरी काम गर्नुपर्दछ ।’’ अध्यक्ष नेपालले सम्बोधनका क्रममा भन्नुयो । 

अध्यक्ष नेपालले संविधान प्रदत्त  अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधि सबल ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।