• १६ चैत २०८०, शुक्रबार

यू–१८ अन्तर्राष्ट्रिय रग्बीको तयारी पूरा

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, मंसिर २२ गते । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा दशरथ रङ्गशालामा शनिबारदेखि सुरु हुने यू–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी सङ्घका महासचिव चेतनराज गिरीले जानकारी दिनुभयो । पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएई, बङ्गलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा नेपाल, भारत, युएई, मलेसिया र थाइल्यान्डले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविनको शीर्ष दुई स्थानमा रहने टोलीले पुनः उपाधिका लागि भिड्ने छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं एसिया रग्बीका सदस्य टङ्कलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीले एक्पोजर पाउनुका साथै राष्ट्रको पर्यटन प्रवर्द्धन र अर्थतन्त्र वृद्धिमा टेवा पुर्याउन प्रतियोगिता महत्त्वपूर्ण हुनेब तनाउनुभयो । 

रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न एक करोड रुपियाँभन्दा बढी  खर्च हुने र त्यसमा ५७ लाख रुपियाँ नेपाल रग्बी सङ्घले व्यवस्थापन गर्ने जानकारी दिनुभयो । बाँकी रकम एसिया रग्बीले व्यहोर्ने बताइएको छ । नेपाली टोलीको सम्पूर्ण खेल पोसाक गोक्यो वेयरले प्रायोजन गरेको छ ।

नेपाल रग्बी संघले प्रतियोगिताका लागि पुरुष र महिला दुवै टोलीको घोषणा समेत गरिसकेको छ । पुरुषमा रोहन डङ्गोल (कप्तान), मनीष हिङमांग (उपकप्तान), विकास कार्की, मोशेष सुनार, चन्द्रदेव जोशी, गणेश बानियाँ, नवीनबहादुर मगर, विरास रेग्मी, सन्दिपकुमार राई, एएमपी चौधरी, अवी राई र प्रवेश पनेरु हुनुहुन्छ । 

महिलामा मनीषा घिसिङ  (कप्तान), सुजा राई (उपकप्तान), विदिशा राई, ज्योति बोम्जन, श्रीषा लोप्चन, मिनाक्षी अधिकारी, पुष्पा खड्का, आरजु शेर्पाली सुनार, पूजा बालमपाखी, सम्झौता तुम्बापो, सिर्जना छन्त्याल र सुमा योञ्जन हुनुहुन्छ ।