• १२ पुस २०८१, शुक्रबार

संस्कृतिविद्सँग य:मरी संवाद

सिङ्गो संस्कृतिलाई जीवन्त पार्ने य:मरी

blog

काठमाडौं, मंसिर २२ गते । नेवा: समुदायमा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाको दिनमा मनाइने विशेष पर्व हो, ‘य:मरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा। नेवा: समुदायमा वर्षमा विभिन्न १२ वटा पुन्ही मनाउने चलन छ। तीमध्ये मङ्सिर शुक्ल पूर्णिमाको रातलाई सबैभन्दा लामो रात र आकाशमा सबैभन्दा लामो समयसम्म चन्द्रमा देखिने रातको रूपमा लिइन्छ। 

आजको दिन विशेष गरेर नेवा: समुदायमा नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट य:मरी बनाएर खाने चलन छ। यसलाई खाद्य पदार्थको रसिलो पर्व पनि भन्ने गरिन्छ। यो पर्व विशेष गरेर अन्नको राजा धानसँग सम्बन्धित छ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार ‘यःमरी’को ‘यः’ भन्नाले नेपालभाषामा सबैलाई मनपर्ने र ‘मरी’ भन्नाले रोटी भन्ने बुझिन्छ। त्यसैले य:मरीलाई मनपर्ने रोटी पनि भन्ने चलन छ। 

धौभडेलका अनुसार य:मरीका आफ्नै आकार तथा प्रकार छन्। आकार अनुसार यसको अर्थ फरक हुन्छ। उहाँ भन्नुहुन्छ, “य:मरी लड्डु र त्रिकोणात्मक गरेर दुई प्रकारको हुन्छ। लड्डु आकारको य:मरी पहिलेदेखि प्रचलनमा रहेको छ। यसमा एकातिर चुच्चो परेको हुन्छ। माथिल्लो भागतिर डाँफे चराको सिंग देखिन्छ, जसलाई ‘मायो य:मरी’ भनिन्छ। अर्को त्रिकोणात्मक य:मरीलाई ‘बायो’ भनिन्छ।” 

अर्को अर्थमा ‘मायोबायो’ यमरीलाई स्त्रीलिङ्गी र पुलिङ्गको रुपासमेत लिन सकिने उहाँको भनाइ छ। शिव शक्तिबिना कुनै पनि अर्थ नहुने सन्दर्भमा यमरीभित्र पनि शिव शक्तिको अवधारणा पाइने उहाँ बताउनुहुन्छ। त्यसैले यमरी एक खानेवस्तु मात्रै नभएर यसभित्र जीवन्तता छ। जसको सङ्केत मायो र बायो हो।  

उहाँ भन्नुहुन्छ, “बौद्ध धर्मका कतिपय नेवारले चैत्य आकारको यमरी बनाउने गर्छन्। चैत्यमा भगवान् बुद्धको अस्तु राख्ने भएकाले उनीहरूले चैत्य आकारमा यमरी बनाउँछन्। तर खासमा त्यो चैत्य आकारको नभएर अण्डाकार हुनुपर्ने हो। अण्डाकार भन्नाले विश्व ब्रह्माण्ड भन्ने बुझिन्छ। आजको दिन नेवार समुदायमा नयाँ धानको चामलको पिठोबाट य:मरी बनाएर अन्नपूर्ण देवी वा लक्ष्मीको प्रतीक स्वरूप ढुकुटीमा राखेर पूजा गर्ने चलन रहेको छ। 

अर्को य:मरीको सम्बन्ध पनौती नगरसँग पनि जोडिएको छ। तर इतिहास हेर्ने हो भने य:मरी पुन्ही एक अमूर्त सम्पदा रहेको धौबडेल बताउनुहुन्छ। त्यसैले काठमाडौं उपत्यकामा नेवार जाति जहिलेदेखि बसोबास गर्न थाले सोही समयदेखि य:मरी पुन्हीको विकास भएको पाइन्छ। 

उहाँ भन्नुहुन्छ, “स्वास्थ्यको हिसाबले पनि यो एकदमै लाभदायी छ। चिसो मौसममा चाकुले तातो बनाउँछ। नेवार समुदायमा आजको दिन य:मरी सुरुमा भगवानलाई चढाएर पूजाआजा गर्दै मनाउने गरिन्छ। 

य:मरी पुन्हीको विषयमा संस्कृतिविद् ओम धौभडेलसँगको कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि सनम महर्जन, मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो कुराकानी :