• ११ वैशाख २०८१, मङ्गलबार

काभ्रेपलान्चोकको महाभारतका दुई वडामा रेबिजको त्रास

blog

घर्तीछापमा मरेर गाडिएको पशुमा रेविज परीक्षण गर्दै । तस्विर सौजन्यः होमेन्द्र रानामगर

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, मङ्सिर २० गते । पछिल्ला केही महिनादेखि काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानीय तहमा रेबिज रोगको आतङ्क सुरु भएको छ । गत साउन महिनाको दोस्रो साता जिल्लाको भुम्लु गाउँपालिका–१ सापिङ आरनटोलमा रेबिजको आतङ्क फैलिएको थियो । हाल जिल्लाको महाभारत गाउँपालिका–१ र ८ मा मरेको पशुमा रेबिज पुष्टि भएको छ । गाउँमा मरेर गाडिएको पशुमा रेबिज पुष्टि भएपछि स्थानीयहरू त्रसित बनेका छन् । 

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाको महाभारत गाउँपालिका–१ को गोकुले र वडा नम्बर–८ को घर्तीछापमा मरेर गाडिएको पशुमा रेबिज पुष्टि भएको जनाएको छ । मरेको पशुमा रेबिज प्रमाणित भएपछि स्थानीयवासी त्रसित बनेका हुन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंले जिल्लाको महाभारत गाउँपालिकाको–१ र ८ मा मरेर गाडिएको पशुमा रेबिज पुष्टि भएको बताउनुभयो ।

“हामीलाई शुक्रबार उक्त दुई वडामा केही पशुहरू मरेको खबर प्राप्त हुनासाथ हामीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको चिकित्सकको टोलीसहितको स्वास्थ्यकर्मीको टोली पठायौँ, गाडिएका पशुमा रेबिज जाँच गर्दा रेबिज पुष्टि भयो” उहाँले थप्नुभयो । 

उहाँले गाडिएका पशुमा रेबिज पुष्टि भएसँगै पशुको हेरचाह र स्याहार गर्ने व्यक्तिको पहिचान गरी रेबिज विरुद्धको खोप लगाउन सुरु गरिएको बताउनुभयो । डा. सेढाईंले रेबिजको जोखिम हेरेर स्थानीय नागरिकहरूलाई रेबिज विरुद्धको खोप लगाइने बताउनुभयो । उहाँले जिल्लामा रेबिज विरुद्धको खोपको अभाव नभएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा रेबिजबाट सात वर्षदेखि ७२ वर्ष उमेर समूहका छ जनाको ज्यान गएको बताउनुभयो ।

उहाँले ९९ प्रतिशत रेबिज कुकुरको टोकाईबाट सर्ने बताउँदै घरपालुवा र छाडा छोडिएका कुकुरलाई अनिवार्य रूपमा रेबिजको खोप लगाउनुपर्ने बताउनुभयो । वरिष्ठ स्वास्थ्य प्रशासक डा. सेढाई्ंले जिल्लाका विभिन्न स्थानीय तहमा ६४ जना विद्यालय नर्स रहेको बताउँदै उनीहरुमार्फत् विद्यालयका बालबालिकालाई रेबिज रोग र कुकुरको टोकाइबाट बच्ने जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकका निमित्त प्रमुख राजकुमार हुमागाईँले  शुक्रबार महाभारत गाउँपालिकाको दुई वटा वडामा दुई वटा गाई मरेको खबर प्राप्त भएपछि पशु चिकित्सकको टोली पठाएर रेबिज जाँच गर्दा मरेर गाडिएका पशुमा रेबिज पुष्टि भएको बताउनुभयो ।

उहाँले एउटा गाईलाई भदौको १४ गते र अर्को गाईलाई भदौको १७ गते कुकुरले टोकेको खबर प्राप्त भएको बताउनुभयो । उहाँले कुकुरले टोकेकामध्ये गोकुलेको गाई करिब एक महिनाअघि र अर्को दश दिन अघि मरेको बताउनुभयो । उहाँले मरेर गाडिएका दुवै गाईमा पानीसँग डराउने, जिब्रो सुनिने, र्‍याल निकाल्ने लक्षण पाइएको बताउनुभयो । 

महाभारत गाउँपालिका– १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कान्छामान जिम्वाले दुई वटा वडामा मरेका पशुमा रेबिज पुष्टि भएको बताउनुभयो । उहाँले वडा नम्बर १ मा कुकुरले टोकेको गाई मङ्सिर १३ र र वडा नम्बर ८ को मङ्सिर १६ गते मरेको बताउनुभयो । उहाँले करिब डेढ महिनाअघि गोकुलेमा एउटा गाई मरेको र स्थानीयवासीले मरेको गाईको मासु खाएको बताउनुभयो ।

उहाँले मर्ने बेलामा गाईको मुखबाट र्‍याल काँडे पनि रेबिजको अन्य कुनै लक्षण नपाइएको सूचना आएको बताउनुभयो । उहाँले वडा नम्बर १ मा पशुसँग नजिक रहेका २२ जना ८ नम्बरमा पशुको नजिक रहेका १९ जनालाई खोप लगाउने तयारी भएको बताउनुभयो ।