• ५ कात्तिक २०८२, बुधबार

आश्रयस्थल बन्दै ‘मानवसेवा आश्रम’

blog

मानवसेवा आश्रम बागलुङमा हुर्किरहनुभएका बालबालिका । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, कात्तिक ५ गते । सदरमुकाम बागलुङ बजारस्थित मानव सेवा आश्रममा आठ जना बालबालिका आश्रित हुनुहुन्छ । आश्रममा ६६ जना आश्रितमध्ये अरु वयस्क हुनुहुन्छ । 

शारीरिक र मानसिक रूपमा स्वस्थ्य रहेकाले आश्रमले विभिन्न स्रोत खोजेर सबै बालबालिकालाई शिक्षा समेत दिँदै आएको छ । १५ वर्षकी बिनु ‘आश्रम’ को नेतृत्वमा बिहान ८ बजे सबै बालबालिकाले पढ्नुहुन्छ । उहाँहरूमध्ये अधिकांशका अभिभावकबारे अहिलेसम्म पत्तो लागेको छैन । 

त्यसैले उहाँहरूको नामको पछाडि थर नजोडी मानव राखिएको छ । ७ वर्षअघि निसीखोला गाउँपालिका वडा–२ को देवीस्थानबाट आइपुग्नुभएकी १५ वर्षीया बिनु, १३ वर्षीया बहिनी कोपिला र दृष्टीबिहिन बाबु नरबहादुर आश्रममा हुनुहुन्छ । 

काठेखोला गाउँपालिका-३ की १७ वर्षीया शोभा विक पनि आश्रममा हुर्कंदै हुनुहुन्छ । घरपरिवारको हिंसाबाट उहाँ आश्रम आइपुग्नुभएको हो । पारिवारिक समस्याले फालिएका, घरबार र परिवारविहीन भएकाहरू आश्रम आइपुग्नुभएको छ । 

दैनिक विद्यालय पठाउने काममा मानवसेवा आश्रम व्यवस्थापक बिपना तामाङ आँफै खटिनु हुन्छ । आश्रमको काम विशेषले बाहिर निस्कुनपर्दा तामाङले बालिका उमेरकै भए पनि बिनु र शोभालाई जिम्मेवार बनाउनुभएको छ । ‘‘उहाँहरूले सबै बालबालिका सम्हालेर विद्यालय पठाउने र आफू पनि पढ्ने काम गर्नुहुन्छ । उहाँहरूमध्ये अधिकांशको अभिभावक छैनन्’’ तामाङले भन्नुभयो ।

आश्रितमध्ये सबैभन्दा धेरैमा मानसिक समस्या, उच्च रक्तचाप र शरिरीक अपाङ्गता हुनुहुन्छ । हरेकलाई दैनिक प्रेसरको औषधी खुवाउनुपर्ने तामाङले बताउनुभयो । ‘‘आश्रितलाई दैनिक खाना र औषधी गर्दा ठुलो खर्च निस्कन्छ, मासिक १० लाख रुपियाँ खर्चेर आश्रम सञ्चालन भइरहेको छ’’ तामाङले भन्नुभयो । सामान्य स्याहार गरेर राख्दा पनि प्रतिव्यक्ति न्युनतम् मासिक १५ हजार खर्च हुनेगरेको छ । 

आश्रमले २०८२ सालभित्र नेपाललाई नै सडक मानवरहित बनाउने अभियान चलाएपछि दानमुठीको भरमा आश्रम सञ्चालित छ । अहिलेसम्म केन्द्रीय कार्यालय हेटौँडासहित २१ जिल्लाका २७ सेवा केन्द्रमार्फत २ हजारभन्दा बढीलाई मानवसेवा आश्रमले सेवा दिँदै आएको छ । 

बागलुङ नगरपालिका–१, निरयघाटमा २ सय जना राख्न सकिने गरी आश्रमको भवन निर्माणाधिन छन् । अहिलेसम्म ३ करोड खर्च भइसकेको भवन पूरा गर्न थप २ करोड चाहिने भएपछि महायज्ञमार्फत रकम सङ्कलनको लक्ष्य राखिएको छ । 

कात्तिक २१ देखि २८ गतेसम्म सञ्चालन गरिने महायज्ञमा १० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएको महायज्ञ आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले बताउनुभयो । आश्रमको अक्षयकोष बनाएर सहज रूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको भण्डारीले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाले २ वर्षको बजेटबाट १ करोड रुपियाँ उपलब्ध गराएको छ ।