शान्ता अधिकारी
चितवन, कात्तिक ५ गते । चितवनको भरतपुर महानगरपालिका–१, बागेश्वरीमा रहेको बागिश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रममा बुधबार बिहानदेखि सामुहिक गाई पूजा गर्नेहरूको भिड लागेको छ ।
बुधबार तिहार अर्थात यमपञ्चकको पाँचौँ दिन हो । तिथि घटबढको कारणले गाई पूजा, गोवर्धन पूजा एकै दिन परेकोले बिहान सबेरैदेखि पूजा गर्नेहरूको भिड लागेको हो । आश्रमले सोमबारदेखि तीन दिवसीय गौ–पूजा एवं अखण्ड हरिनाम कीर्तन आयोजना गरेको थियो ।
बागीश्वरी आध्यात्मिक परिषद, योगी नरहरी नाथ आश्रम सञ्चालक समितिका महासचिव दुर्गादत्त भण्डारीका अनुसार पूजाका लागि आउने भक्तजनहरूको लागि क्रमबद्ध पालो लगाएर पूजा गर्ने व्यवस्था मिलाइएको छ । सोमबारदेखि सुरु भएको पूजामा प्रत्येक दिन बिहानको समयमा मानिसको भिड लाग्ने गरेको हो ।
उहाँका अनुसार सबैभन्दा बढी बुधबार भिड लागेको छ । उहाँले भन्नुभयो, “आज बिहान त सडकमा ट्राफिक जाम नै भयो । पूजाका लागि आउनेहरूले धेरै समय पालो कुर्नुपर्ने अवस्था सिर्जना भयो । अहिले सहज छ ।”
गौपूजाको लागि प्रसस्त ठाउँ भए पनि गोबरबाट बनाइएको सुमेरु पर्वतको आकृतिमा चढ्ने र पूजा गर्नका लागि भने लामो लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन यस पटक गाई पूजा, गोवर्धन पूजा, म्हपूजा, नेपाल सम्बत एकै दिन परेको हो ।
हिन्दु धर्मावलम्बीहरूकाे महान चाड दीपावली अर्थात तिहार गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको सांस्कृतिक परम्परा मानिन्छ । हिन्दु धर्ममा गाईलाई आमालाईजस्तै गौमाता भनि सम्मान गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दुध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने मान्यता राख्ने गरिन्छ । गाईको दुधको अलावा गाईको मलमुत्र सबै पवित्र हुने धार्मिक विश्वास छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय स्थानीय जातको गाईहरू लोप हुँदै गरेको अवस्थाको कारण पूजा गर्नेहरूको सङ्ख्या अत्यधिक बढेको परिषदका सल्लाहकार शान्ता पोखरेलेले बताउनुभयो ।
गाईको महत्त्व वैज्ञानिक रूपमा पुष्टि भएकै कारण नेपालले सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको दाबी सल्लाहकार पोखरेलको छ । उहाँले भन्नुभयो, “आजैका दिन जनैपूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहेको छ ।”
परिषदका अध्यक्ष अशोक पोखरेलका अनुसार योगी नरहरिनाथले चितवनको माडीमा गरिएको एक यज्ञमा दानबाट प्राप्त गाईलाई ल्याएर उक्त संरक्षण केन्द्रको सुरुवात गर्नुभएको थियो । २०३९ सालमा सात वटा गाईबाट संरक्षण कार्य सुरु गरिएको केन्द्रमा हाल स्थानीय जातका दुई सयभन्दा बढी गाई छन् ।
उन्नत जातका गाईको अघ्र्य (दुध), गहुँँत (पिसाबं) र गोबर प्रयोग गर्न नहुने तर्क उहाँको छ । उहाँले भन्नुभयोे, ‘अपवित्र भइसकेपछि त्यो पवित्र कार्यमा प्रयोग गर्दा कुनै फल प्राप्त हुँदैन ।’
गाई संरक्षणको लागि केन्द्रले स्थानीय जातका गाईको दीर्घकालीन संरक्षणका लागि अक्षयकोषको समेत स्थापना गरेको छ । कोषमा एक करोड रुपिंयाँभन्दा बढी जम्मा भइसकेको छ । सुरुका दिनहरूमा गाईलाई कसरी पाल्ने भन्ने समस्या झेल्दैआएको गौसंरक्षण केन्द्रमा यतिवेला दुई सयभन्दा बढी गाई भए पनि दाताको निरन्तर सहयोगले पालनपोषणमा समस्या नरहेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका–१, देवघाटधाममा अवस्थित यो परिषद २०५२ सालमा विधिवत दर्ता गरी सञ्चालनमा ल्याइएको हो । ऐतिहासिक, धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिले सम्पन्न पर्यटकीय क्षेत्र बागीश्वरीमा वशिष्ठ ऋषिको आश्रम, भगवान रामले गुरूकुलीय शिक्षा लिएको स्थानको रूपमा मानिने यो आश्रम क्षेत्रे ऐतिहासिक, पुरातात्विक महत्त्व रहेको क्षेत्रमा मानिन्छ ।
परिषद अन्तरगत प्राकृतिक उपचार केन्द्र, स्थानिय जातका गाईको संरक्षण केन्द्र गुरूकुलीय शिक्षा सञ्चालनमा छन् । परिषदले गाईको गहुँतबाट गौ अर्क बनाएर बिक्री वितरण पनि गर्दैआएको छ । ५०० एमएलको बोटलमा सिल प्याक गरिएको गौअर्क प्रतिबोटल दुई सय रुपियाँमा बिक्री गर्दैआएको छ ।
प्राकृतिक चिकित्सा क्षेत्रमा महत्त्वपूर्ण मानिएको गौ अर्क भिटामिन, सल्फर, फोस्पोरस, आइरन, पोटासिएम, क्याल्सियम, युरिक एसिड, गन्धक, तामा र लवणसहित प्राप्त हुने दाबी गरिएको छ ।