• ५ कात्तिक २०८२, बुधबार

गायक निर्मोहीको उपचार सहयोगार्थ सांस्कृतिक कार्यक्रम

blog

उपचार सहयोगार्थ आयोजित सांस्कृतिक कार्यक्रममा पुग्नुभएका गायक निर्मोही । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक ५ गते । दुबै मिर्गौला फेल भएर थला पर्नुभएका वरिष्ठ लोक गायक एवं कलाकार कमल विके निर्माेहीको उपचार सहयोगार्थ नेपालगन्जमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

गायक निर्मोहीको उपचारका लागि सहयोग सङ्कलन गर्न वास नेपालले “तिहारका रङहरू” नाम दिएर आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सामूहिक देउसी, भैलो, सांस्कृतिक प्रस्तुति, नृत्य, नाटक लगायतका प्रस्तुतिहरू गरिएका छन् । 

सो कार्यक्रममा केहीबेरका लागि ह्विल चेयरमा पुग्नुभएका वरिष्ठ गायक निर्मोहीले भावकु भई आफूलाई सहयोगका लागि सहयोगी हातहरू अघि बढेको देख्दा खुसी लागेको बताउनुभयो । 

कार्यक्रममा गायक सुनिलसिंह ठकुरी, पूर्ण थापा, महेन्द्र सेढाइ, वरिष्ठ कलाकार श्यामानन्द सिंह, जितबहादुर थापा, सन्तोष सोती मगर, सुजन डिसी, मेरो डान्स युनिभर्सका थर्ड रनर अप सुरज सिञ्जाली मगर, डान्सर रुबिना अधिकारी, मौसमी राना मगर, आरुसी मगर र एक्टिङ स्टार नबिना रानाभाट लगायतको प्रस्तुति रहेको थियो ।

उद्घोषक शकुन्तला शाहले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वास नेपालका अध्यक्ष शिवकुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाहलगायतले निर्मोहीको योगदानको चर्चा गर्नुभयो । कार्यक्रमबाट करिब एक लाख रुपियाँ सङ्कलन भएको र छिट्टै हस्तान्तरण गरिने वासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो । 

गायक निर्माेही अहिले अस्वस्थ हुनुहुन्छ । तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा सक्रिय रहनु भएका उहाँ बिगत डेढ वर्षदेखि अस्वस्थ हुनुहुन्छ ।  

दुबै मिर्गौला फेल भएपछि केही समय यता उहाँ नेपालगन्जस्थित आफ्नै घरमा रहनुभएको छ । उहाँको सातामा दुई पटक डायलासिस भइरहेको छ । निरन्तर उपचारका लागि आर्थिक अभाव हुन थालेपछि अहिले वास नेपालको अगुवाईमा आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको हो ।