• ११ मंसिर २०८१, मङ्गलबार

बौद्धिक अपाङ्गताको अधिकार संरक्षण

blog

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७९ का अनुसार नेपाल सरकारले अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरेको छ। जसमध्ये बौद्धिक अपाङ्गता पनि एक हो। जन्मजात वा जन्मपश्चात् वा विभिन्न कारणले १८ वर्षको उमेरभन्दा पहिला बौद्धिक विकास नभएको वा उमेर तथा वातावरणअनुसार क्रियाकलाप गर्न कठिनाइ हुने अवस्था नै बौद्धिक अपाङ्गता हो। नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ का अनुसार मानिसको उमेर वृद्धिसँगै बौद्धिक चिन्तनको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्था नै बौद्धिक अपाङ्गता हो भनेर परिभाषित गरेको छ। 

बौद्धिक अपाङ्गतालाई गम्भीरताको आधारमा पूर्ण, अतिअशक्त, मध्यम र सामान्य गरी चार प्रकारमा वर्गीकरण गरिएको छ। त्यसैले बौद्धिक अपाङ्गता भएका व्यक्तिको क्षमता, रुचि, व्यवहार पनि छुट्टाछुट्टै हुने हुन्छ। हाम्रो समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिलाई हेरिने दृष्टिकोणमा पूर्ण रूपमा सकारात्मक परिवर्तन आउन सकेको छैन। त्यसमा पनि बौद्धिक अपाङ्गता भएका व्यक्ति त झनै पछाडि परेका छन्। जसले गर्दा व्यक्तिगत, पारिवारिक, सामाजिक तथा आर्थिक चुनौतीको सामना गर्नुका साथै उनीहरूको अवस्था दर्दनाक रहेको पाइन्छ। 

उमेरअनुसार उनीहरूको बौद्धिक विकास भएको हुँदैन भने कतिपय त्यस्ता व्यक्ति हेर्दा राम्रो देखिएता पनि बोल्न नसक्ने, कुनै पनि कुरा सम्झन नसक्ने, घरपरिवार तथा समाजमा घुलमिल हुन, आफ्ना मनका भावना र कुरा व्यक्त गर्न नसक्ने हुन्छन्। कतिपय बौद्धिक अपाङ्गता भएका व्यक्तिले भोक, तिर्खा लाग्यो, आज मलाई सञ्चो भएन, यहाँ दुख्योसमेत भन्न सक्दैनन्। जसका कारणले आज बौद्धिक अपाङ्गता भएका व्यक्ति शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका सेवा–सुविधा लिने अवसरबाट वञ्चित भएका छन्। 

कतिपय बौद्धिक अपाङ्गता भएका व्यक्तिले आफ्ना दैनिक क्रियाकलाप जस्तै– आफैँ खाना खान, लुगा लगाउन, दिसा–पिसाबको सही व्यवस्थापन गर्न, सरसफाइ गर्न सक्दैनन्। यस्ता व्यक्तिलाई परिवारको एक जना सदस्य तथा अभिभावकले २४ घण्टा नै सहयोग गर्नुपर्छ। जसले गर्दा रोजगारीमा जान तथा व्यवसाय सञ्चालन गर्न सक्दैनन् र दैनिक रूपमा आर्थिक अभावसँग जुधिरहनुपर्छ। यति मात्रै होइन, बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकलाई अझै हाम्रो समाजले सहज रूपमा स्वीकार गर्न सकेको छैन। पूर्वजन्मको पापका कारण आज यस्तो अपाङ्गता भएको सन्तान जन्मेको भनेर अनि यस्तो सन्तान जन्माएकी भनेर आमा र बच्चा दुवैलाई घृणा गर्ने, कतिपय घरपरिवारले आमा र सन्तान दुवै जनालाई घरबाट निकालिदिने, अर्को बिहे गर्ने, विभिन्न अवसरबाट वञ्चित गराउने, सामाजिक कार्यमा सहभागी नगराउने, यस्ता बालबालिकासँग आफ्ना छोराछोरीलाई खेल्न, घुलमिल हुन नदिने गरेको बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावक बताउँछन्। 

बौद्धिक अपाङ्गता भएका व्यक्तिमा बौद्धिक क्षमता अर्थात् सम्झन सक्ने क्षमता कम हुने, हिँडडुल गर्न नसक्ने, बोल्न नसक्ने र पूर्ण तथा अति अशक्त व्यक्तिहरू; जसलाई सधैँ सहयोगीको आवश्यकता हुन्छ। उनीहरूलाई अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ल्याउनुभन्दा पहिला मनोसामाजिक अपाङ्गताभित्र राखिएको थियो तर मनोसामाजिक र बौद्धिक अपाङ्गतामा फरक छ। 

बौद्धिक अपाङ्गता भएका व्यक्तिमा उमेरअनुसार सामान्य रूपमा सिक्दै जानुपर्ने कुरा सिक्न नसक्ने, सिके पनि ज्यादै ढिलो सिक्ने, छिट्टै बिर्सने, उमेरअनुसारको व्यवहार गर्न नसक्ने, अन्य बालबालिकाको तुलनामा हिँडडुल गर्न, सञ्चार गर्न नसक्ने, कोही कोही धेरै रिसाउने, चकचक गर्ने, कोही कुनै पनि प्रतिक्रिया नजनाउने, किशोर अवस्थामा पुग्दा पनि दुई वर्षको बच्चाको जस्तो व्यवहार गर्ने, खाना खान, लुगा लगाउन, सरसफाइ गर्न, दिसा–पिसाब व्यवस्थापन गर्न नसक्ने हुन्छन्। यस्तो अवस्थामा उनीहरूको क्षमता पहिचान गरी व्यावहारिक ज्ञान, सीप सिकाउन जरुरी हुन्छ। बौद्धिक अपाङ्गताभित्र डाउन सिन्ड्रोम अपाङ्गता पनि पर्छ। यसअन्तर्गतको डाउन सिन्ड्रोम अपाङ्गतामा शरीरका हरेक कोषमा आवश्यकताभन्दा एउटा बढी क्रोमोजोम हुने हुन्छ अर्थात् सामान्य व्यक्तिमा ४६ वटा क्रोमोजोम हुन्छ भने डाउन सिन्ड्रोममा ४७ वटा क्रमोजोम हुने हुन्छ। यो पनि बौद्धिक अपाङ्गताभित्रको अपाङ्गता हो। 

हाम्रो देशमा सहरी क्षेत्रमा बाहेक ग्रामीण भेगमा पूर्ण रूपमा बौद्धिक अपाङ्गता भएका व्यक्तिको पहिचान हुन सकेको छैन। जसका कारण अन्य नागरिकको तुलनामा उनीहरू पछाडि परेका छन् भने विभिन्न कठिनाइको सामना गर्न परेको छ। कतिपय घरपरिवारमा दुई वा तीन जना सन्तान पनि बौद्धिक अपाङ्गता भएको पाइएको छ। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ निवासी सपना बाडेका आफूसहित दुई जना बहिनी र एक जना भाइ गरी चार जना दाजुभाइ दिदीबहिनीमध्ये ३१ वर्षकी बहिनी र २८ वर्षका भाइ तथा बहिनी दुवै जना पूर्ण बौद्धिक अपाङ्गता छन्। १५ वर्षपहिला आमाको मृत्यु भएको, बुवा ७४ वर्षको वृद्ध र माहिली बहिनीको बिहे भइसकेका कारण उनीहरूको हेरचाह दिदी सपना बाडेले नै गर्दै आउनुभएको छ। 

उहाँ भन्नुहुन्छ, “दुवै जना पूर्ण बौद्धिक अपाङ्गता भएका भाइ र बहिनीलाई छोडेर काम गर्न जाऊँ भने उनीहरूलाई कसले हेर्छ किनकि उनीहरू सहयोगीबिना केही पनि गर्न सक्दैनन्, काममा नजाऊँ भने बिहान–बेलुकाको छाक कसरी टार्ने, उनीहरू धेरैजसो बिरामी हुन्छन्, स्वास्थ्य उपचार गर्नुपयो।” यो त एक वास्तविक उदाहरण मात्रै हो। यस्ता पीडा भोग्ने नेपालमा धेरै अभिभावक र अपाङ्गता भएका व्यक्ति छन्।

हुन त नेपाल सरकारले अन्य बालबालिकाका साथै बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि पनि शिक्षाका कार्यक्रम सञ्चालन गरेको छ तर उनीहरूका लागि ती शिक्षाका कार्यक्रम प्रभावकारी भएको पाइँदैन। जुनसुकै समयमा पनि सहयोगीको आवश्यकता हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि सहयोगीको व्यवस्था गर्नुपर्ने भनेर सरकारसँग छलफल त हुने गरेको छ तर त्यो कार्यान्वयन हुन सकेको छैन। सहरी क्षेत्रमा केही बौद्धिक अपाङ्गताको पहिचान हुन थालेको भएता पनि दूरदराजमा रहेका, विकट तथा ग्रामीण क्षेत्रमा बौद्धिक अपाङ्गताको पहिचान हुन सकेको छैन।

बौद्धिक अपाङ्गता भएका व्यक्तिको रुचि, इच्छा बुझेर उनीहरूको क्षमता पहिचान गरी व्यावहारिक ज्ञान तथा सीप दिन सकेमा उनीहरू आफैँ खाना खाने, लुगा लगाउने, सरसफाइलगायत आफ्ना दैनिक क्रियाकलाप आफैँ गर्न सक्ने हुन्छन् तर उनीहरूलाई जति बेला पनि सिकाउने कार्यलाई दोहो-याउनु पर्छ। कतिपय व्यक्तिलाई नियमित रूपमा सीप सिकायो भने सोहीअनुसारको काम पनि गर्न सक्छन्। राज्यस्तरबाट बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा अभिभावकलाई सीपमूलक तालिम, दीर्घकालीन कार्यक्रम सञ्चालन गरी जीवनयापनमा सहजता हुने वातावरण सिर्जना गर्नुपर्ने जरुरी देखिन्छ। कतिपय बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई सिकाउँदा सिकाउँदै उनीहरू राम्रोसँग नाच्न पनि सक्छन्। मनोरञ्जन क्षेत्रमा उनीहरूको यो क्षमतालाई उपयोग गर्न सकिन्छ। 

पछिल्लो चरणमा राज्यस्तरबाट पनि अपाङ्गता भएका व्यक्तिका लागि केही काम त भएका छन्। जस्तै– नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिको सवाल समावेश गरिएको छ। क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ। शिक्षाका कार्यक्रम सञ्चालन गरिएको छ। साथै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ल्याइएको छ। विभिन्न ऐन कानुन बनेका छन्। अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि ल्याएर सो महासन्धिमा उल्लेख गरिएका व्यवस्थाअनुसार कामको थालनी त भएको छ तर यस्ता कार्य तथा ऐन कानुनले बौद्धिक अपाङ्गता भएका व्यक्तिको जीवनमा प्रभावकारी रूपमा काम गर्न सकेको छैन।

अपाङ्गता भएका व्यक्तिको पहिचान भनेको अपाङ्गता परिचयपत्र हो तर अझै पनि अधिकांश सरकारी निकायका कर्मचारीलाई बौद्धिक अपाङ्गताको विषयमा जानकारी नहुँदा उनीहरूले अपाङ्गता परिचयपत्र प्राप्त गर्न सकेका छैनन्। यस्ता विविध समस्याले गर्दा बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकलाई आफ्नो देहान्तपछि उनीहरूको अवस्था के होला भन्ने चिन्ताले सताइरहन्छ। त्यसैले अब राज्य तथा सरोकारवालाले अन्य नागरिकजस्तै बौद्धिक अपाङ्गता भएका व्यक्तिको मानव अधिकारका लागि, उनीहरूको पनि बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि गम्भीर हुने हो कि ?