• ५ वैशाख २०८१, बुधबार

गोल्डेन बुट होइन उपाधिमा चासो : एमबाप्पे

blog

पोल्यान्डविरुद्ध गोल गरेपछि केलियन एमबाप्पे । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १९ गते । फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेले कतारमा जारी फिफा विश्वकप फुटबलमा आफ्नो ध्यान व्यक्तिगत पुरस्कारमा भन्दा विश्वकप उपाधिमा केन्द्रित भएको बताउनुभएको छ ।

फ्रान्सले प्रिक्वार्टरफाइनलमा आइतबार राति पोल्यान्डलाई ३–१ गोलले हराएर क्वार्टरफाइनलमा स्थान बनाएपछि आयोजित पत्रकार सम्मेलनमा एमबाप्पेले आफ्नो एउटै लक्ष्य फ्रान्सलाई उपाधि दिलाउनु भएको बताउनुभयो । साबिक विजेता फ्रान्स अहिले कतारमा आफ्नो अब्बल प्रदर्शन गरिरहेको छ ।

प्रिक्वार्टरफाइनलमा फ्रान्सले पोल्यान्डलाई हराउँदा एमबाप्पेले दुई गोल गर्नुभएको थियो । अर्को गोल ओलिभर गिरोडले गर्नुभएको थियो । ओलिभरको गोलमा पनि एमबाप्पेले पास दिनुभएको थियो । जारी विश्वकपमा पाँच गोल गरिसक्नुभएका एमबाप्पेले गोलका लागि दुई ‘एसिस्ट’ समेत दिनुभएको छ ।

उच्च लयमा रहनुभएका २३ वर्षीय एमबाप्पे यस विश्वकपमा गोल्डेन बुटको दाबेदार हुनुहुन्छ । तर, उहाँले आफू गोल्डेल बल र बुट लिन कतार नआएको दोहोर्‍याउनु भयो । उहाँले भन्नुभयो, ‘‘हामीलाई अगाडि बढ्न क्वार्टरफाइनल झनै महत्त्वपूर्ण छ । म त्यसैमा केन्द्रित हुनेछु । मैले व्यक्तिगत उपाधि जित्ने भन्दा विश्वकप उपाधि रक्षा गर्ने सपना देखेको छु ।’’

उहाँले फ्रान्स उपाधिभन्दा धेरै टाढा रहेकोले अझै मिहेनत गर्नुपर्ने पनि बताउनुभयो । सन् १९९८ र २०१८ को विश्वकप उपाधि चुमेको फ्रान्सले क्वार्टरफाइनलमा शुक्रबार राति सन् १९६६ को विजेता इङ्ग्ल्यान्डको सामना गर्नेछ । इङ्ग्ल्यान्डले प्रिक्वार्टरफाइनलमा सेनेगललाई ३-० गोलले हराउँदै फ्रान्ससँगको भेट पक्का गरेको हो । एजेन्सी