• ८ वैशाख २०८१, शनिबार

सुदूरपश्चिम च्याम्पियन

blog

खेलपछि सुदूरपश्चिम र लुम्बिनीका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, मंसिर १९ गते । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो ।

सुदूरपश्चिमले लिग चरणदेखि अपराजित रहँदै उपाधि जितेको हो । लुम्बिनीले दिएको ९३ रनको सामान्य विजयी लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । 

सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले अविजित ३९ रन बनाउनुभयो । दीपक बोहोराले २५ र अनुराग सिंहले २२ रन बनाउनुभयो । बलिङमा लुम्बिनीका रमेश कुर्मीले दुई दुई विकेट लिनुभयो । निर्मल गुरुङ र अभिषेक गौतमले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २९.१ ओभरमा सबै विकेटको क्षतिमा  ९२ रन बनाएको थियो । लुम्बिनीको लागि आकाश त्रिपाटीले सर्वाधिक ३८ रन बनाउनुभयो । नर सार्कीले ११ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका मिलन बोहोराले पाँच विकेट लिनुभयो । हेमन्त धामी  र नरेन साउदले दुई दुई विकेट झार्नुभयो । सदुरपश्चिमले गत वर्षको हारको बदला समेत लियो । गतबर्ष लुम्बिनीले सुदूरपश्चिमलाई हराएर उपाधि चुमेको थियो ।

उपाधिसँगै सुदूरपश्चिमले दुई लाख रुपियाँ पुरस्कार पायो । उपविजोत लुम्बिनीले एक लाख रुपियाँ पायो । मङ्सिर ७ गतेदेखि सञ्चालित प्रतियोगितामा सात प्रदेशको सहभागिता रहेको थियो । लिग चरणको समाप्ति पछि शीर्ष दुईमा रहेका टोलीबीच फाइनल भिडन्त हुनेछ ।