• ११ मंसिर २०८१, मङ्गलबार

राजनीतिमा सुधारको आशा

blog

चुनावी परिणामले नयाँ र पुराना अनुहारलाई रोचक ढङ्गले संसद्भित्र समेट्दै छ । राजनीतिभित्र झ्याङ्गिएको दलीय वितृष्णाको विकल्पमा जन्मेको फरक युवा जनमतसँग रचनात्मक युगीन धारले छुट्टै कित्ता बनाएको प्रस्ट छ। आखिर नीतिमा शब्दजाल बुन्न हाम्रो मुलुक कमजोर देखिन्न। सबैजसो दलद्वारा घोषणापत्रभित्र समृद्धि र राष्ट्रनिर्माणका आश्वासन बाँडिए। जनताले घोषणापत्रभन्दा माथि विवेक प्रयोग गरेको कुशल अभ्यास पनि यस पटक देखियो। कतिपय अवस्थामा नराम्रैभित्रको राम्रो छान्नुपरेको गुनासोका बीचमा यो निर्वाचनमा उत्साहको अभाव पनि रहिरह्यो। 

२०६२/०६३ को आन्दोलनको पन्ध्र वर्ष बितिसक्दा पनि राजनीति उही परीक्षणकै शैलीमा चलिरहेको विडम्बनाभित्र हामी घुमिरहेका छौँ। घोषणापत्र र व्यवहारको कथनी र करणी नमिलेको वस्तुतामा लोकतन्त्रको झन्डै दुई दशक पनि बेरसिलो बनेरै बित्दै छ। जतिसुकै स्वीकार्न गाह्रो लागे पनि केही अभ्यास र केही विप्रयासको फेहरिस्त बोकेर हाम्रो मुलुक राजनीतिको अभ्यास गर्ने प्रयोगशाला बनिरहेको तीतो यथार्थ छ। उपलब्धि र जनचाहना के हो भन्ने दुई धारभित्र रहेर हेर्दा मुलुकमा युवाको श्रम र देश विकासलाई जोड्ने सूत्र चाहिएको छ। स्वदेशमा रोजगार प्रदान गर्ने र देश पनि बनाउने अभीष्ट बोक्ने हो भने अबको लडाइँ पहाडमा गोरेटो खन्नु मात्रै होइन। युवालाई काम र कामअनुसारको दाम चाहिएको हो। 

देशमा युवा रोजगारको महासङ्कट छ। स्वदेशमा बाँच्ने आधार नभई आदर्शताले पेट भरिँदैन, लाज ढाकिँदैन। अकासिएको महँगीसँग मुकाबिला गर्नु कम चुनौती हुँदै होइन। यद्यपि विकास गर्छु भन्नेमा कसरी र कुन स्रोतबाट कहिलेसम्ममा गरिसक्ने भन्ने तथ्यपरक समीक्षाको अभावमै चुनावी प्रचार गरिए। पुराना भनिएका दलका ती पात्रभित्र अनुसन्धानपरक विचारको अभाव देखिन्थ्यो। सीमा नाकाका दीर्घकालीन समस्या हल गर्ने विषय छायामा परे। निबन्धात्मक भाषामा लेखिएका लामा ठेलीसँग आजको जनताले के–कति विश्वास गर्ने भन्ने तर्कमा मुलुक हिजो जसरी नै केही केही त अन्योल नै बोकेर हिँड्न विवश छ। आखिर कुनै पार्टीद्वारा पनि एकल बहुमत पु-याउने स्थिति भएन। त्रिशङ्कु सरकार गठनको दोधारे परिवेशमा स्थिर सरकार निर्माणको अनुमान गर्नै सकिन्न। आखिर विगतको घोषणापत्र र अहिलेको घोषणापत्रबीचको तालमेलसहित जनविश्वासको ल्याकत खोज्ने जनचेतना पनि स्पष्टतः विश्लेषित भएन। अतः यो चुनावी परिणामले नेताहरूसँग पुनः विकास र समृद्धिको वस्तुगत आधार माग्नुपर्नेछ। अब बन्ने सरकारले दिने परिणाम फितलो भयो भने जनतामा बढेको विद्रोह र हालको चेतनास्तरका कारण वैकल्पिक नयाँ धारमा युवा जोस होमिने अनुमान गर्न सकिन्छ। यसर्थ अहिलेलाई नयाँ र पुरानाबीचको कक्टेल विचारको स्वच्छ क्रिम बन्ने अपेक्षा गर्नु बढी सान्दर्भिक हुन्छ। 

सिद्धान्त कि व्यवहार 

पार्टीहरूले आ–आफ्ना सिद्धान्तले बोक्ने अर्थलाई यो चुनावी नतिजा र अब बन्ने सरकारबीचमा ताìिवक सार्थकता देखिन्न। चुनाव लड्दा मिल्नेहरू भोलि टुक्रिने वा पुनः जोडिने दुवै सम्भावना रह्यो। हालसम्मको नतिजामा सात दलले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाएको देखिनुले पनि संसद् किनबेचको भयमा अब बन्ने सरकारमा साँच्चै स्थिर रहला त भन्ने प्रश्न तेर्सिएको छ। 

समावेशी प्रतिनिधित्वमा पनि दलहरू कमजोर देखिए। हाल चलिरहेको महिला हिंसाविरुद्धको अभियानकै प्रसङ्ग जोड्दा पनि समानुपातिक मतबाटै यो आरोपबाट मुक्ति खोज्नुपर्ने हुँदो हो। सिद्धान्तगत रूपमा प्लेटोले आफ्नो न्यायको सिद्धान्तमा समाज सञ्चालन गर्न महिला र पुरुषबीचमा समान अधिकार आवश्यक ठानेका थिए। उनले व्यक्तिलाई सामाजिक सदस्य बनाउनुपर्छ भन्ने अभिप्रायबमोजिम व्यक्तिगत न्यायलाई सामाजिक न्यायले सम्बोधन गर्नुपर्छ भन्ने मान्यता राखे। यसर्थ उनको सिद्धान्तले सामाजिक सौन्दर्यको अपेक्षा गरेको देखिन्छ। अहिले माक्र्सवादी चिन्तन बोकेर साम्यवादको नारा घन्काइरहने नेपालका पार्टीभित्र पनि शक्ति (सत्ता) को दम्भ, पदको आडम्बर अनि मपाईंत्वकै भाष्यमा राजनीति कलुषित देखियो। व्यक्तिस्वार्थको लिसो हट्नै सकेन। आखिरमा वैकल्पिक चिन्तनको नयाँ धार ह्वात्तै माथि आयो अनि जनतामा केही खुसीयाली पनि छ। 

आज हामी राजनीतिक चरित्रका कारण विभेद र अन्यायका लामा फेहरिस्त बोकेर बाँचेका छौँ। समाजले भौतिक समुन्नतिको स्वप्नामा सामाजिक आस्था र विश्वासजन्य आदर्श अनि निःस्वार्थ समाजसेवालाई भुल्यो। राजनीतिलाई कमाइखाने भाँडो बनाइदिँदा देशप्रेम हराएर व्यक्तिवाद, परिवारवाद अनि गुटवाद मौलायो। अनि, बिस्तारै राजनीतिभित्र विकृतिको ठूलो सञ्जाल विकसित हुँदै गयो। दलीय दम्भले राष्ट्रिय स्वार्थलाई गलहत्यायो।  सिद्धान्ततः दार्शनिक फुकोले राजनीतिक दमनविरुद्ध लड्नलाई प्रेरित गरेका छन्। माक्र्सले वर्गद्वन्द्वको चर्चा गरेका छन्। अधिकार खोसेर लिने भन्नेसम्ममा माक्र्सवादी चिन्तनले जाति, वर्ग, पेसा, धर्म आदिमा द्वन्द्वात्मक भौतिकवादी कोणबाट समृद्धिको फेरो समातेको देखिन्छ। फुकोले चाहिँ राजनीतिक, जातिगत, वैचारिक वा यौनिक सबै दमनका विरुद्ध सङ्घर्ष गर्न सुझाएको देखिन्छ। अधिकार पाएर अधिकारको दुरुपयोग गर्नु पनि एक प्रकारको शक्ति (सत्ता) को दुरुपयोग नै हो। आफ्नो फाइदाका लागि अर्कोलाई सिध्याउनतिर तम्सनुमा हाम्रो राजनीतिका नेतृत्वको चरित्र र त्यसबाट विकसित सोच नै दोषी छ। युवा वर्ग बेरोजगार हुँदा तिनैबाट नेतृत्वको स्वार्थजडित भ्रममा साथ मिलिरहेको देखिन्छ। तिनले पाएको आडका कारण स्वार्थको रोग हस्तान्तरण भइरहेकै छ। फुकोले लेखनकै माध्यमबाट समाज परिवर्तनको अपेक्षा राखे तर यहाँ त कतिपय नामी लेखक र विचारक पनि स्वार्थको पोको बोकेर कसैलाई काँध थापेरै मपाईंत्वमा हाबी छन्। 

जनचेतनाको गुञ्जाइस 

मानिसभित्र भावनात्मक आधारमा प्रकट हुने गुणात्मक हृदयानुभवलाई वर्तमान अव्यवस्थित सोचसँग मात्रै अड्काएर हेरिनु न्यायोचित नहुन सक्छ। कतिपय सन्दर्भमा कानुनीराज भन्दा बढी चेतनराजको एक तहमा मानिसले अघोषित सामाजिक न्याय स्थापित गरेकै हो तर पछि कुसंस्कृति घुस्न थाले। भावनामा खेलबाड गरेर स्वार्थ साट्ने सोचकै कारण आदर्श भाइचारामा विभेदको चस्मा लगाइयो। निःस्वार्थ सेवामूलक राजनीतिको धर्म नै अरू केही काम नपाउनेले अपनाउने अनि कमाइखाने पेसा बन्यो। कालोधन जोगाउने प्रबल सूत्र बन्यो। ‘शक्ति’ को आडमा सत्ताको दुरुपयोग गर्नुको परिणाम स्वरूप स्वार्थका फरक खाले कुप्रथाहरू स्थापित हुन पुगे अनि ‘संस्कृति’ भित्रै ‘अपसंस्कृति’ ले डेरा जमाउन पुग्यो। शासक र शासितको दुई धार सिर्जना भयो। त्यो एक प्रकारको रामराज्य बिस्तारै रावणराज्यमा पुग्दा ‘जसको शक्ति उसको भक्ति’ को शैलीमा सत्ताको दुरुपयोग भयो।  हिजोका कतिपय लोकसाहित्य र ग्रन्थादिमा वर्णित लौकिक, पारलौकिक जीवनशैलीलाई नियाल्दा उक्त समाजको स्थापित सिद्धान्तमा धब्बा लागेपछि त्यो सभ्य र भव्य चिन्तनभित्र प्रथागत अन्धपरम्पारले जरो गाडेको हो। हाम्रो राजनीति पनि सुसंस्कारको भाषण, घोषणापत्र र सिद्धान्त बोकेर पार्टीवादी स्वार्थभित्र व्यक्ति र परिवारवादमा निर्लिप्त हुन पुग्यो। यसर्थ अब सरकारमा पुग्नेले यो कुसंस्कार भत्काएर विकास र समृद्धिको मार्गमा युवा रोजगारको पक्षलाई केन्द्रमा राख्नु अत्यावश्यक देखिन्छ।

स्थानीय तहको निर्वाचनबाट प्राप्त अभ्यासलाई हेर्दा धेरै हदमा पार्टीबाट टिकट पाएर जितेकाहरूले स्वतन्त्रबाट जितेर आएका नेतृत्वले जसरी निष्पक्ष र निःस्वार्थ रूपले कार्यसम्पादन गर्न सक्दैनन्। सिद्धान्त र व्यवहारको उपलब्धिलाई नेपाली माटोमा जोड्ने हो भने दलीय स्वार्थभित्र झ्याँगिएको पार्टीवादले सोचे जसरी विकासमा गति दिन सकेन। स्थिर सरकार नहुनु अर्को ठूलो समस्या बन्यो। परिणामतः केही व्यक्ति तथा दलीय अराजकताका कारण राजनीतिप्रति वितृष्णाको बादल मडारिरह्यो।