• १५ वैशाख २०८१, शनिबार

साबिक विजेता फ्रान्सलाई पोल्यान्ड पन्छाउने चुनौती

blog

काठमाडौं, मंसिर १८ गते । कतारमा जारी फिफा विश्वकपमा आज राति प्रिक्वार्टरफाइनल खेलमा साबिक विजेता फ्रान्स र पोल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । अल थमामा रङ्गशालामा राति ८:४५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाउने अभियानमा छन् ।

पोल्यान्ड फ्रान्सका लागि बलियो प्रतिद्वन्द्वी हो । उपाधि रक्षा अभियानमा अगाडि बढ्न फ्रान्सलाई पोल्यान्ड पन्छाउनु ठूलो चुनौती हुनेछ । १९८२ पछि क्वार्टरफाइनलमा पुग्ने लक्ष्य राखेको पोल्यान्ड बलियो फ्रान्सलाई स्तब्ध बनाउँदै नयाँ इतिहास रच्न चाहन्छ । पोल्यान्डले समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । रोबर्ट लेवान्डोस्कीको कप्तानीमा रहको पोल्यान्डले औसत प्रदर्शन गरिरहेकोले फ्रान्सलाई आज टाउको दुखाई बन्न सक्नेछ । 

यता फ्रान्सले समूह ‘डी’ को विजेताको रूपमा नकआउट चरणमा स्थान बनाएको हो । फ्रान्सले समूहको अन्तिम खेलमा ट्युनिसियालाई १–० गोलको नतिजा सुम्पिएपनि तुलनात्मक रूपमा बलियो छ । फ्रान्सका स्टार केलियन एमबाप्पे यस विश्वकपमा लयमा हुनुहुन्छ । उहाँले तीन खेलमा तीन गोल गरिसक्नुभएको छ ।

फ्रान्स र पोल्यान्डबीच अहिलेसम्म सबै खाले खेलमा १६ पटक भिडन्त भएको छ । जसमा फ्रान्सले आठ जित र पोल्यान्डले तीन जित निकालेको छ । पाँच खेल बराबरीमा सकिएको छ । विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक भिडन्त हुन लागेको हो ।

यसअघि सन् १९८२ को विश्वकपमा भिडन्त भएको थियो । त्यतिबेला फ्रान्स पोल्यान्डसँग ३–२ गोलले पराजित भएको थियो । साबिक विजेता भएकोले उपाधि रक्षा गर्नका लागि फ्रान्सलाई सबै चुनौतीको सामना गर्नुपर्ने छ । त्यसैले आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । एजेन्सी