• ११ मंसिर २०८१, मङ्गलबार

पितृसत्तात्मक शासनको जरा

blog

उजेली दिदीका बाबुआमाका तीन जना छोरी थिए । छोरा जन्मिएन भन्ने चिन्ता उनका बाबुलाई भन्दा आमालाई र अझ चर्को गाउँघरका महिला दिदीबहिनीलाई नै थियो । उनीहरू भन्ने गर्थे– यो त छोरी जन्माउने सन्तानकी रहिछ, यसबाट छोरा त के होऊन् । गाउँघरका छोरा मान्छेहरू अर्को विवाह गरेमा छोरा जन्मिन्छ भन्ने सल्लाह दिन्थे । छोरा जन्माउने आशामा अर्को गर्भधारण गरेकी उनकी आमा बच्चा आग्लो (तेर्सो) परेकाले प्रश्रव पीडामा नै मृत्युको मुखमा पुगेकी थिइन् । त्यतिबेला आजभोलिजस्तो अस्पतालको सुविधा थिएन । पेटको बच्चा पनि रहेन, जुन छोरा रहेछ भन्ने मलामीबाट फर्केका आफन्तबाट थाहा भयो । 

त्यतिबेला उजेली दिदीकी आमा मरेको चिन्ताभन्दा छोरा जन्मिन नसकेको चिन्ता बढी हुन्थ्यो । बाबुलाई उनका बाबुआमा, नातागोता, काकाकाकी, दाइभाउजू, गाउँघरका जान्नेमान्ने भद्रभलाद्मी सबैले अर्को विवाह गर्नैपर्ने सल्लाह दिन थाले । उजेलीका दिदीहरूको सात वर्षको उमेरमै विवाह भइसकेको थियो तर घर पठाइएको थिएन । विवाह चाँडै भए पनि दुई/चार वर्ष माइतीमा नै राखेर कसरी घर, सासूससुरा, देवर–जेठाजुको सम्मान गर्ने, कसरी अनुशासनमा बस्ने, आफूभन्दा माथिका मान्छे विशेषगरी छोरा मान्छेका अगाडि निहुरिएर हिँड्ने, कसरी ढिकीजाँतो गर्नेे, कसरी टपरी बुन्ने, सिन्का बनाउने, पूजापाठका भाँडा तयार गर्ने भन्ने चिन्ता हुन्थ्यो । त्यतिबेलाको समाजलाई अहिलेजस्तो स्कुल जाने चटारो नै थिएन । छोराहरू लाहुर जाने, छोरीहरूको सानै उमेरमा विवाह अनि घरजाम गर्ने, छिटै छोरा जन्माएर घर पक्का गर्नु ठूलो उपलब्धि भएको मानिन्थ्यो । 

यसैबीचमा उजेलीका बुवाको विवाहको प्रसङ्ग चलिरहेको थियो भने अर्कोतर्फ उजेली दिदीलाई पनि औँसिया केटो भेटिएकाले उसको उमेर अलि कम भए पनि विवाह गरिदिने निर्णय भयो किनकि उनी पनि औँसिया थिइन् । उजेली नौ वर्ष लागेकी मात्र थिइन् हजुरबुवा हजुरआमाको जोडबलले उनी पनि विवाह बन्धनमा बाँधिइन् । गाउँलेहरू भन्ने गर्थे– यो त औँसिया छे, यसलाई त वर भेट्टाउन गाह्रो पर्छ । उनी त भाग्यमानी रे किनकि आफूजस्तै औँसिया वर पाएकोमा भलै वर उजेलीभन्दा १५ वर्ष मात्र जेठा रहेछन् । 

यता गाउँका पण्डित लमीले बाबुका लागि नौ वर्षकी कन्या पाएको खबर दिए । हजुरबुवा हजुरआमाको जोडबलले बाबु पनि विवाह गर्ने निर्णयमा पुगे, विवाह पनि भयो । उजेलीका दिदीहरू पनि घरमा पठाइए । उजेली र नयाँ आमाको बुहार्तन गर्ने सिकाइमा हजुरआमाको भूमिका मुख्य रह्यो । छोरीहरूको न्वारानसम्म गरिन्थ्यो तर न छैठी हुन्छ न त चिना बनाइन्छ । दिदीहरूको नाम मनकली र लुसी थियो । उजेली देख्नमा गोरो छालाकी हुनाले यति राम्रो नाम पाएकी हुन् । आमाको नाम माइती गाउँको नामबाट हुने हँुदा उनकी आमालाई प्युठाने भन्ने गरिन्थ्यो । यता नयाँ दुलहीबाट कहिले छोरो जन्मेला भन्ने सबैको चासोको विषय थियो । सानो उमेरकी नयाँ बुहारीको उमेरै नपुगी बच्चा जन्माउँदा खतरा हुने विषयमा कसैले सोच्ने पनि गर्दैनथे । 

उता जेठी छोरी मनकलीका श्रीमान् भारतमा जागिर गर्न गएका दुर्घटनामा परेर मरेछन् । अब उनी बालविधवाको जीवन बिताउन बाध्य भएकी छन् । लुसीले बच्चा जन्माउने क्रममा ज्यान नै गुमाउन परेको रहेछ । छोरी जन्मिएकी रहिछन्, स्याहार गर्ने मान्छे नहुँदा एक जना गुरुङनी दिदीलाई पाल्न दिएका रहेछन् किनकि उनलाई बच्चा नभएकाले ज्योतिषीले आमा नभएको बच्चा पाल्नु अनि बच्चा जन्मनेछ भनेका रहेछन् । 

यता उजेली दिदीका घरमा पनि सासूआमाको पहिला नै मृत्यु भएको रहेछ । उनका श्रीमान्का भाइहरूका छोराछोरी जन्मिसकेका थिए । उजेली दिदीका श्रीमान् औँसिया परेका हुँदा उनका लागि कन्याको खोजीमा विवाह ढिला हुन पुगेको रहेछ । विवाह गरेपछि उजेली दिदीलाई पनि उनका श्रीमान्ले भारतमा सँगै लिएर गएका थिए । त्यहाँ उनका दुई बच्चा खेर गएका रहेछन् । त्यसपछि एउटा बच्चा काखमा लिएर केही वर्षपछि उजेलीलाई नेपाल ल्याएर उनका श्रीमान् फेरि आफ्नो जागिरमा आसामतिर फर्केका रहेछन् । उनले कलिलै उमेरकी प्यारी श्रीमती र दूधेबालकलाई गाउँमा छाड्न बाध्य भएका होलान् । त्यतिबेला लाहुरेहरूको छिट्टै आउने जाने हुँदैनथ्यो । बढीमा दुई–तीन वर्षमा बल्ल दशैँको समयमा एक–दुई महिनाको बिदामा लाहुरेहरू घरमा आउँथे ।

यसबीचमा अरू कुनै सञ्चारका साधनबाट सम्पर्क गर्ने माध्यम थिएन, थियो त केवल चिठ्ठीपत्र मात्र । उताबाट चिठ्ठी आउन पनि करिब एक महिना लाग्दथ्यो भने यताबाट पुग्नलाई पनि बीस–पच्चीस दिन लाग्दथ्यो । श्रीमतीलाई मायाका शब्दले भरिएको चिठ्ठी लेखिपठाए पनि उनी आफूले पढ्न सक्दिनथिन् । श्रीमतीलाई चिठ्ठी लेख्नु पनि अपराधजस्तो मानिन्थ्यो । यता आफूले भोग्नुपरेका दुःखपीडाका शब्द पनि लेख्न उनको क्षमता नै थिएन ।

उजेलीका गाउँमा एक जना छोरी मान्छे जबरजस्त स्कुल जाने गर्दिरहिछन् । उनलाई गाउँलेहरू धेरै कुरा काट्दा रहेछन् । छोरी मान्छे भएर पनि स्कुल जाने, अब कुन दिन के सुन्नुपर्ने हो । कसैले नगरेको काम गर्ने भएकी अब माइतीको टाले घर बनाउँछे कि नाक काटिदिन्छे भनेर उनलाई सताएका थिए तर गाउँका धेरै लोग्नेमान्छे भारतमा जागिरमा गएकाले उनीहरूका श्रीमतीहरूका गोप्य चिठ्ठीहरू ल्ेखिदिने, पढिदिने काम तीनै बालिकाले गर्दिरहिछन् । त्यो पनि उनी नछुनी भएको बेला परे अरू पाँच दिन पर्खन पर्दथ्यो । पर सरेका बेला कागज छुनु पाप लाग्छ भन्ने डर थियो ।

उजेली बिहान ४ बजे उठेर जाँतो, ढिकी गर्दथिन् । पँधेराबाट पानी ल्याउने, बिहान घाँस काट्ने, दिउँसो गाई चराउने यस्तो थियो उनको दिनचर्या । गाईबस्तु चराउन जङ्गल जाने क्रम जारी थियो । घरमा देउरानीले खाना बनाउने र घरधन्दा गर्ने गर्थिन् । वृद्ध ससुरा आँखा देख्दैनथे । देवरहरू आफ्ना श्रीमतीको मात्र ख्याल राख्दथे । उनलाई कसैले त्यति वास्ता गर्ने चलन थिएन । अब छोराले पनि बिस्तारै दूध चुस्न छाड्न थालेको थियो । श्रीमान् नआएको पनि दुई वर्ष पुग्न थालेको थियो । 

श्रीमान् आउने आसमा बसेकी उनलाई गाउँकै एक जना गोठालोले जङ्गलमा आँखा लगाउन थालेको रहेछ । उजेली दिदी सोझी र लाटीजस्ती थिइन् । गोठालोले उनलाई जबरजस्ती करणी गर्न थालेको रहेछ । उसले दिनमा जङ्गलमा, रातमा कोठामा आएर बलात्कार गर्ने गरेको रहेछ । अब उनलाई यो पीडा कोसँग भन्ने, के गर्ने, कसो गर्ने उनी आहाल काहाल परेपछि केही उपाय नलागेर माइतीमा गइछन्् । 

माइतीमा न आमा न बुवा, यो कथाबेथा कसलाई भन्नु डरैडरमा उनी केही महिना त्यहीँ बसिछन् । अब उनको महिनावारी रोकिएको पनि पाँच महिना पुगेछ । उनलाई माइतीमा धेरै बस्ने अवसर पनि थिएन । अताल्लिएर उनी फेरि घरमा फर्किंदा दुब्लो, पातलो अनुहारमा पोतो लागेको पेट बढेको अवस्था देखेर गाउँलेहरू शङ्काको दृष्टिले हेर्न थाले । गाउँका महिला यस्तोमा सहयोगभन्दा पनि आगो लगाउने काम गर्दथे । उजेलीको न दिनको भोक न रातको निद्रा भएको धेरै महिना भइसकेको थियो । उनको स्वास्थ्य यति कमजोर भएको थियो कि उनी पागलजस्तै भएकी थिइन् । उनीसँग अब आत्महत्या गर्नेबाहेक कुनै विकल्प थिएन । आत्महत्याको प्रयास गर्न खोज्थिन् तर फेरि सानो काखको छोरा, मायालु श्रीमान्को सम्झनाले उनलाई रोकिराखेको थियो ।

यसैबीचमा उनी गाउँकी कुनै पाकी महिलाकोमा समस्या बताउन गइछन् । तिनले उजेलीलाई दुई–तीन महिनाको भए तातो झिरले यौनाङ्गबाट रोपेर भ्रूणहत्या गर्न सकिने थियो अब त यो पनि सम्भव छैन भनेपछि उनी कुनै विषालु जरीबुटीको खोजीमा लाग्दै थिइन् । यत्तिकैमा गाउँमा भित्रभित्रै आगो सल्केजसरी हल्ला फैलियो । सबले उनका कुरा काट्न थाले । रातमा गाउँका भद्रभलाद्मी, देवरहरूको गोप्य मिटिङ बस्यो । देउरानीका साथमा उनलाई ल्याएर केरकार गरियो । उनले सबै कुरा बताउन बाध्य भइन् । सबै गल्ती उजेलीको भएको ठहर भयो । उता बलत्कारी गोठालो नाताले देवर पर्ने भएकाले हाडनाताको ठहर भयो । उसलाई जोगाउन भारततिर भगाइयो । उजेलीलाई केही दिन थुनेर राखियो । त्यो दिनदेखि उनले आफ्नो बच्चालाई पनि कहिल्यै देख्न पाइनन् । 

यसबीचमा कुनै यस्तो मानिसको खोजी गरियो, जसका छोरा जन्मिएका थिएनन्, श्रीमती लाटी थिइन् । उनी अलि गरिब पनि थिए । उनलाई केही धनपैसाको र छोरा जन्मिने प्रलोभन देखाएर उजेलीको गर्भ मेरो हो, उनलाई श्रीमती मान्न धेरै टाढाको मानिस तयार गरियो । त्यसपछि उजेलीलाई गाउँका जेठाजु पर्ने र आफ्ना देवरले बेलुका खानपिन गराएर पछि तिमीले नगर्ने काम ग¥यौ अब यहाँ बस्न पाइँदैन, धैरै ठूलो पाप भयो । हाडनाता प¥यो पुलिसले पाता कसेर लैजान सक्छ, त्यसैलै तिम्रो राम्रो व्यवस्था हामीले गरेका छौँ, लौ हिँड भनेर रातारात हिँडेर अपरिचित गाउँमा पु¥याएर छाडियो । उनीहरू उनै लाटीका लोग्नेका घरमा पु¥याएर सदाका लागि उनको मुख नदेख्ने गरी फर्किए ।

ती नयाँ श्रीमान्ले उजेलीलाई केही तल बेँसीको गोठमा लगेर तँ यहाँ बस्नु, माथि गाउँमा कहिल्यै नआउनू भनेर केही अन्नपात दिएर फर्किए । आफ्नो सानो काखको छोरा र उनलाई माया गर्ने श्रीमान्लाई गुमाउँदाको पीडा र आफ्नो शरीरको अवस्थाबाट विक्षिप्त भएकी उजेलीलाई बल्ल अब चिच्चाएर रुन मिल्ने ठाउँ मिल्यो । त्यहाँ तलपट्टि वरिपरि घना जङ्गल थियो, ठूलोफाँटमा धान पाकेको बीचबीचमा गोठ थिए । केही गोठबाट धुवाँ निस्किएको देखेर उनलाई केही डर कम हुन्थ्यो । पछिपछि त्यस ठाउँका मानिसले उनलाई हेलाको दृष्टिले हेर्ने गरे । 

महिना पुग्यो बच्चा जन्मियो, अस्पतालको मुख पनि उनले देखिनन् । उनी जसलाई देखे पनि रुने गर्थिन् । बच्चा गोठमा नै हुर्कियो । त्यही खेतीपाती गर्ने खाने जोहो मिलाउने गर्थिन् । सौताले उनलाई केही दुःख दिँदैनथिन्, किनभने उजेली लगेपछि उनले पनि छोरा जन्माउन सफल भएकी थिइन् । वर्षमा एकजोर कपडा दिन्थे उनलाई नयाँ श्रीमान्ले । छोरा ठूलो हुँदै गयो बुहारी ल्यायो । बुहारीले पनि उनको कथा थाहा पाइन् । अब बुहारीले उनलाई झन् हेला गर्न थालिन् । उजेली बीचबीचमा बिरामी पर्दथिन्, कसैले उनको व्यथा सुन्दैनथे र बुझदैनथे । उनलाई माइतीमा पनि जाने अनुमति छैन । किनकि उनले गलत गरेको भन्ने सबैतिर साबित भएको भयो ।

उनी अहिले बूढी हुँदै गएकी छन्, छोराबुहारी र समाजबाट पनि अपहेलित छन् । हाल डिप्रेसनको सिकार बनेकी उनी काल चाँडै आओस् भन्ने पर्खाइमा छन् । उनको जीवन पशुकोजस्तो भयो, कसैसँग आफ्नो वेदनाका कुरा भन्न नपाएरै बित्यो । यता उनको जीवन डामाडोल पार्ने गोठालो देवरकी पहिलेकी श्रीमती पनि सासू र श्रीमान्को हिंसाका कारण घरबाट लखेटिएकी थिइन् । गोठालो देवर  एक–दुई वर्ष भारतमा बसी निर्धक्कका साथ घर फर्किए र बाजा बजाएर अर्को विवाह गरे । गाउँलेले भोज खाए, रमाइलो गरे । त्यसै गाउँमा उनी रमाएर बसेका छन्, कसैले उजेलीको घरबार बिगारेको बारेमा चुँइक्कसम्म गर्दैनन् । यो वेदना, पीडा एउटा मानवमाथि मात्र गुम्सिएर जीवन समाप्त हुँदासम्म समाज र कसैले पनि उनको वास्ता गर्दैन बरु मरणोपरान्त पनि यो त यस्तो बात लगाइएकी आइमाई हो भन्न कसैले बाँकी राख्दैनन् ।

हाम्रो पितृसत्तामक समाजमा उजेलीका जस्ता सत्य घटना भएका धेरै महिला छन् । उनीहरूलाई न संविधानमा लेखिएका अक्षरले फरक पार्छन् न त वर्षैपिच्छेका फरक–फरक नाराका साथ आउने महिला हिंसाविरुद्धका सोह्रदिने अभियान र राष्ट्रिय महिला अधिकार दिवसले नै । कसले र कहिले उखेल्छ यो पितृसत्तात्मक शासनको जरा ?