• ७ वैशाख २०८१, शुक्रबार

उपत्यकामा खुम्चँदै ‘कम्युनिस्ट’ प्रभाव

blog

काठमाडौँ, मङ्सिर १६ गते । जनआन्दोलन २०४६ पछिका निर्वाचनमा काठमाडौँ उपत्यकामा कम्युनिस्ट पार्टीले आफ्नो प्रभाव बढाए पनि आम निर्वाचन २०७९ को अन्तिम मत परिणामले कमजोर देखाएको छ । २०४८, २०५१, २०५६, २०६४, २०७४ को निर्वाचनमा कुनै न कुनै कम्युनिस्ट पार्टीले निर्वाचनमा बलियो प्रभाव देखाए पनि यो निर्वाचनमा कुनै पनि कम्युनिस्ट पार्टीले काठमाडौँ उपत्यकामा प्रभाव देखाउन सकेनन् । 

२०६४ सालको संविधान सभा निर्वाचनमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा नेकपा (एमाले) स्थानविहीन बने पनि माओवादी केन्द्र पहिलो दल बन्यो । २०७० सालमा एमालेले आफूलाई सुधा-यो । २०६४ सालको संविधान सभा निर्वाचनमा पहिलो दल बनेको नेकपा (माओवादी केन्द्र) २०७० मा आइपुग्दा उपत्यकामा आफ्नो अस्तित्व जोगाउन सकेन । पहिलो संविधान सभा निर्वाचनमा देशभर प्रत्यक्षमै १२० स्थान जितेको माओवादीले उपत्यकाका १५ क्षेत्रमध्ये सात क्षेत्रमा विजयी हासिल गरेको थियो । 

२०६४ को १० वर्षपछि २०७४ सालमा भएको निर्वाचनमा एमालेले उपत्यकामा मात्रै आठ क्षेत्रमा विजय हासिल ग-यो तर २०७९ को निर्वाचनमा एमाले उपत्यकामा दुई स्थानमा खुम्चँदा माओवादी शून्यको अवस्थामा पुग्यो । त्यति मात्रै होइन, एमालेबाट विभाजन भएपछिको पहिलो आम निर्वाचनमा होमिएको एकीकृत समाजवादी पनि उपत्यकामा स्थानविहीन बन्यो । अर्थात् उपत्यकामा कम्युनिस्ट प्रभाव निरन्तर ओरालो लाग्ने क्रममा गयो ।

राजनीतिक विश्लेषक मुमाराम खनाल काठमाडौँका मतदाता आत्मनिर्भर हुनु र परिवर्तनको पक्षमा देखिने भएकाले उपत्यकामा को बलियो र कमजोर भन्न नसकिने बताउनुभयो । काठमाडौँको मतदाता निकै खुकुलो रहेकाले छिटो परिवर्तनको पक्षमा आकर्षित हुने दाबी गर्नुभयो । काठमाडौँमा शिक्षित र आफ्नो आयस्रोतमा बाँच्ने भएकाले परिवर्तनको पक्षमा देखिने गरेको खनालको ठम्याइँ छ । 

२०४६ को जनआन्दोलनपछि नेपाली कांग्रेस, त्यसपछि नेकपा (एमाले), फेरि माओवादी केन्द्र र स्थानीय तहको निर्वाचनमा नयाँ उम्मेदवारलाई विश्वास गरेकाले काठमाडौँले जहिले पनि नयाँ दललाई रोज्ने क्रमलाई निरन्तरता दिएको खनालले बताउनुभयो । काठमाडौँमा नयाँ पार्टीको पक्षमा तत्कालै विश्वास गर्ने र सम्बन्ध पनि चाँडो भङ्ग गरिहाल्ने मानसिकताको विकास भएको बताउँदै उहाँले आत्मनिर्भर मतदाताले नयाँपन खोज्ने बताउनुभयो । 

नयाँ र युवा मतदातालाई आकर्षित गर्न नसक्नु नै कम्युनिस्टको प्रभाव क्रमशः उपत्यकाबाट कमजोर बन्दै गएको उहाँले दाबी गर्नुभयो । कम्युनिस्ट पार्टीले नयाँ र युवा मतदातालाई आकर्षण गर्न नसक्नुले कम्युनिस्टलाई क्रमशः उपत्यकाबाट कमजोर बनाउँदै लगेको खनालले बताउनुभयो । आम निर्वाचन २०४८ मा उपत्यकामा कम्युनिस्टको दबदबा थियो । त्यसबखत काठमाडौँका पाँच निर्वाचन क्षेत्रमध्ये चारमा एमाले विजयी भएको थियो । मदन भण्डारी काठमाडौँ क्षेत्र नं. १ र ५ मा विजयी हुँदा एउटा क्षेत्रमा मात्रै नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभयो । भण्डारीले एक क्षेत्र छोडेपछि भएको उपनिर्वाचनमा समेत एमालेकै उम्मेदवारले विजयी हासिल गर्नुभयो ।

ललितपुरमा रहेको तीनवटा निर्वाचन क्षेत्रमध्ये दुईवटामा एमाले र एउटामा जनमोर्चाले विजयी हासिल गरेको थियो । भक्तपुरमा भने एक क्षेत्रमा नेमकिपा र एउटा क्षेत्रमा कांग्रेस उम्मेदवारले विजयी हासिल गर्नुभयो । 

सो निर्वाचनमा देशभर कांग्रेसले ११० र एमालेले ६९ स्थानमा विजय हासिल गरेको थियो । २०५१ सालको निर्वाचनमा एमाले पहिलो दल बन्यो । एमालेले ८८, कांग्रेसले ८३ र राप्रपाले २० सिटमा विजयी भएको थियो । २०६४ मा काठमाडौँका १० क्षेत्रमध्ये २, ६, ७ र १० नम्बर माओवादीका उम्मेदवार निर्वाचित भएका थिए । एमाले त्यसबेला उपत्यकामा सिटविहीन भएको थियो । मङ्गलादेवी र कृष्णप्रसाद भट्टराईजस्ता नेतालाई हराएर काठमाडौँ उपत्यकामा आफ्नो प्रभाव बढाएको एमाले आम निर्वाचन २०७९ मा आइपुग्दा पुनः कमजोर देखियो ।  

२०७४ को निर्वाचनमा एमाले र माओवादी वाम गठबन्धनमार्फत चुनावमा होमिए । त्यसमा उपत्यकामा सबैभन्दा धेरै फाइदा एमालेले पायो । त्यो निर्वाचनमा माओवादीले काठमाडौँ १, ४, ६ र १० नम्बर क्षेत्रमा उम्मेदवार उठाएको थियो । ती क्षेत्रमा माओवादीले जित निकाल्न सकेन । ती सबै क्षेत्रमा कांग्रेसका उम्मेदवार निर्वाचित भए तर एमालेले पाएको २, ३, ७, ८ र ९ क्षेत्रमा विजयी भयो ।  

माओवादीका उम्मेदवार भएका काठमाडौँका पाँचै क्षेत्रमा कांग्रेसका उम्मेदवार निर्वाचित भए । भक्तपुरको दुई क्षेत्रमध्ये एमाले र नेमकिपाले एक÷एक क्षेत्रमा जित निकाले । ललितपुरका दुई क्षेत्रमध्ये एमाले र माओवादी एक/एक क्षेत्रमा निर्वाचित भएको थियो । २०७४ को निर्वाचनमा कांग्रेस ललितपुर र भक्तपुरमा सिटविहीन भएको थियो । त्यतिबेला कम्युनिस्टलाई उपत्यकाका मतदाताले रुचाएका थिए । 

आम निर्वाचन २०७९ मा सत्ता गठबन्धनको सबैभन्दा फाइदा कांग्रेसले काठमाडौँ उपत्यकामा उठायो । उता एमाले उपत्यकामा एक्लै चुनावमा सामेल भयो । माओवादीले गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ७ र ९ मा गठबन्धनका साझा उम्मेदवार पाएको थियो । काठमाडौँ १० मा भने गठबन्धन भएन । माओवादीले काठमाडौँ १० मा उम्मेदवार उठाए पनि तीनवटै क्षेत्रमा माओवादी पराजित भयो । यो निर्वाचनमा एमालेलेसमेत आफ्नो विरासत जोगाउन सकेन । एमालेले काठमाडौँमा एक सिट मात्रै जित्यो । 

काठमाडौँमा नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी सशक्त रूपमा उदायो । स्थानीय तहको निर्वाचन २०७९ मा ठूला राजनीतिक दलका उम्मेदवारलाई हराउँदै काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गर्नुभयो । आम निर्वाचन २०७९ मा काठमाडौँ क्षेत्र नम्बर २, ६, ७, ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित हुनुभयो । राजनीतिक विश्लेषक रामप्रसाद अधिकारीले कम्युनिस्टले देखाएका सपना पूरा गर्न नसकेपछि उपत्यकाका मतदाताले नयाँ विकल्प खोज्ने गरेको बताउनुभयो । उहाँले २०४६ को परिवर्तनपछि त वामपन्थीहरूको निकै राम्रो नै भए पनि सपना पूरा गराउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले २०७९ को निर्वाचनको नतिजा हेर्दा कम्युनिस्ट दलहरू सङ्गठन भएर पनि कमजोर देखिएको बताउनुभयो ।